त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिफ्युलर थपिँदै
काठमाडौं : नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने भएको छ। रिफ्युलर कम हुँदा जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो बस्नुपर्ने अवस्था अन्त्य गर्न रिफ्युलर थप्न लागिएको हो। रिफ्युलर खरिद कार्यसमेत निगमले अघि बढाइसकेको छ।
निगमका अनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान संख्या र चाप थपिँदै गएको अवस्थामा रिफ्युलरको संख्या नथपिँदा एउटा जहाजले इन्धन भर्न कम्तीमा ३० मिनेटदेखि ४५ मिनेटसम्म पालो कुर्नुपर्छ। निगमका इन्जिनियरिङ विभाग प्रमुख राजिवराज शर्माका अनुसार देशभरकै विमानस्थलमा जहाजमा इन्धन भर्ने रिफ्युलराको कमी छ। त्रिभुवन विमानस्थलमा मात्रै विभिन्न क्षमताका १० थान रिफ्युलरको माग छ।
निगमले पहिलोचरणमा २७ किलोलिटर क्षमताका चारवटा रिफ्युलर खरिद गर्न ग्लोबल टेन्डर आह्वान गरिसकेको छ। ‘त्रिभुवन विमानस्थलको समस्या समाधान गर्न चारवटा रिफ्युलर खरिद गर्न टेन्डर आह्वान भइसकेको छ’, प्रमुख शर्माले भने, ‘प्रस्ताव आउन थालेका छन्। यो रिफ्युलर आएपछि धेरै हदसम्म त्रिभुवन विमानस्थलको समस्या समाधान हुन्छ।’ टेन्डरबाट खरिद गर्न लागिएको चार थान रिफ्युलर सबै प्रक्रिया पूरा गरी नेपालमा आउन झण्डै आठ महिनादेखि १० महिना लाग्नेछ। रिफ्युलर गाडी एक प्रकारको बारुण यन्त्रजस्तै देखिने इन्धन बोक्ने सवारीसाधन हो। यसले हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्ने काम गर्छ।
उनका अनुसार अहिले रिफ्युलरको सबैभन्दा बढी अभाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ। निगमले २०६९ देखि नयाँ रिफ्युलर खरिद गरेको छैन। २७ किलोलिटर एक थान रिफ्युलरलाई करिब चार करोड रुपैयाँ पर्छ। भारतीय कम्पनीले अमेरिका र फ्रान्सबाट सम्पूर्ण पार्टपूर्जा आयात गरी रिफ्युलर निर्माण गर्दै आएको छ। ‘जीर्ण अवस्थाको रिफ्युलर मर्मत सम्भार गर्न कठिन छ’, निगम स्रोतले भन्यो, ‘एउटा पार्टलाई पाँच लाख रुपैयाँसम्म पर्छ। त्यो पार्टपूर्जा पनि झण्झटिलो प्रक्रिया पूरा गरी अमेरिका र फ्रान्सबाट झिकाउनुपर्छ। पार्टपूर्जा निर्माण गर्ने अमेरिका र फ्रान्सका कम्पनीले मूल्य तिरेर पनि हामीलाई उपलब्ध गराउन तयार हुँदैनन्।’
त्रिभुवन विमानस्थलमा अहिले २७ किलोलिटरका तीन, १६ किलोलिटरका चार र ११ किलोलिटरका एउटा गरी आठवटा रिफ्युलर सञ्चालनमा छन्। २७ किलोलिटरका तीनमध्ये एक थान इन्डियन आयल कर्पोरेसनले उपलब्ध गराएको हो। यस्तै आईओसीले नै उपलब्ध गराएको १६ किलोलिटर क्षमताका दुई रिफ्युलर परीक्षण कालमा छन्।
त्रिभुवन विमानस्थलमा सञ्चालनमा रहेका अधिकांश रिफ्युलर जीर्ण भइसकेको र मर्मत सम्भार गर्न पनि महँगो पर्ने भएकाले त्यसलाई विस्थापन गर्न कम्तीमा १६ किलोलिटर क्षमताका ६ वटा नयाँ रिफ्युलरको माग छ।
केही महिनाअघि भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत मन्त्रीस्तरीय वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसँग विभिन्न क्षमताका १५ थान रिफ्युलर माग गरेका थिए। यसमध्ये २७ र १६ किलोलिटरका तीन थानरिफ्युलर पछि फिर्ता हुने गरी आईओसीले निगमलाई उपलब्ध गराएको थियो।
जहाज र हेलिकप्टर उडान चापअनुसार त्रिभुवन विमानस्थलबाहेक देशभरका सात विमानस्थलमा तत्कालै विभिन्न क्षमताका १५ वटा रिफ्युलर आवश्यक भइसकेको छ। यसअनुसार विराटनगर विमानस्थलमा १६ किलोलिटरको एक, पोखरामा १६ किलोलिटरको एक, भैरहवामा १६ किलोलिटरका दुई र अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत पश्चात् १६ किलोलिटरकै थप दुई र २७ किलोलिटरका तीन रिफ्युलर आवश्यक छ। यस्तै नेपालगन्जमा १६ किलोलिटरका दुई, सुर्खेतमा ११ किलोलिटरका एक र १६ किलोलिटरको एक, धनगढीमा १६ किलोलिटर र मन्थलीमा १६ किलोलिटरकै एक गरी १५ वटा रिफ्युलर माग छ।
अहिले चन्द्रगढी विमानस्थलमा ११ किलोलिटरका दुई, विराटनगरमा ११ किलोलिटरको एक र १२ किलोलिटरको एक, पोखरामा ११ किलोलिटरका दुई, भैरहवामा १२ किलोलिटरका दुई, नेपालगन्जमा १२ किलोलिटरका दुई, सुर्खेत र धनगढीमा ११ किलोलिटरका दुई–दुई र मन्थलीमा ११ किलोलिटरको एउटा रिफ्युलर सञ्चालनमा छन्।