पहिलो सन्तान किसान

पहिलो सन्तान किसान

सुर्खेत : बिहेको पहिलो रात सुहागरात। पतिले पत्नीलाई सपना बाँड्छ। पालुवाको पनि बिहेकै पहिलो रात पति संघर्षले भविष्यको योजना बताउँछ। हात सुमसुम्याउँदै भन्छ, ‘हेर पालुवा, हिजोसम्म तिमी अर्काकी छोरी र म अर्कैको छोरा थियौं, तर आज एक भएका छौं। अब हाम्रो गन्तव्यमा सपना पनि एक हुनेछ।’

दुलहीको पोसाकमा सजिएकी पालुवा टाउको हल्लाउँछे। फेरि संघर्ष भन्छ, ‘मेरो सपना भनेको तिम्रो कोखबाट जन्मिने हाम्रो सन्तान यो देशको मन्त्री हुनुपर्छ।’ संघर्षले एकपछि अर्को गर्दै देशका ठूला पद र ओहोदामा पुग्ने सन्तान जन्माउनुपर्ने विचार राख्छ। तर पालुवालाई चित्त बुझ्दैन।

अन्त्यमा पत्नीलाई तिम्रो चाहना के हो भन्दै प्रश्न राख्छ। पालुवा आफूले कृषि विषय अध्ययन गरेको र देशको कृषि अवस्था बुझेकाले पहिलो सन्तान किसान जन्माउने बताउँछिन्। यी माथिका विवादित वार्तालाप वीरेन्द्रनगरमा सञ्चालन भइरहेको राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भइरहेको नाटक ‘म पहिलो सन्तान किसान जन्माउँछु’को हो। पढेलेखेकाले खेती किसानी गर्नु हुँदैन भन्ने मान्यता तोड्न नाटक मञ्चन गरिएको हो। मानव अधिकार मञ्च इलामका सुरेश पोर्तेलले निर्देशन गरेको नाटक डा. देवी क्षेत्री दुलालले लेखेका हुन्। नाटकमा इलाम नाट्य समूहका कलाकारले प्रस्तुति दिएका थिए।

नाटकमा संघर्ष र पालुवाबीच विचार नमिल्दा बिहेकै रात सम्बन्धविच्छेद सम्मको विवाद हुन्छ। अंग्रेजीमा स्नातकोत्तर पढ्दै गरेको संघर्ष आफ्ना सन्तान हलो जोत्ने किसान भएमा कुलघरानको इज्जत जाने भन्दै आफ्नो विचारमा अडिग हुन्छ। यता पालुवा पदमा पुग्नेले किसान मजदुरको हितमा काम नगरेकाले पहिलो सन्तानलाई किसान नै बनाउने कुरामा अडान राख्छिन्।

सन्तानलाई आडम्बरी इज्जतको पगरी भिराउने सपना नत्यागेसम्म सम्बन्ध अगाडि बढाउन नसकिने पालुवाले पति संघर्षलाई बताउँछिन्। जति बल गर्न खोजे पनि भर्खरै भित्र्याएकी पत्नीले एकै रातमा सम्बन्ध तोड्ने कुरा गरेपछि अन्त्यमा संघर्ष आफ्नो अडानबाट पछि हट्दै भन्छ, ‘हो पालुवा तिमीले भनेको कुरा ठीक हो, आजसम्म जति पढेलेखेकाले पनि किसानको विषयमा सोच्न सकेनन्, हामी हाम्रो सन्तानलाई एक शिक्षित किसान बनाउनेछौं। आखिर अन्न नभई कोही बाँच्न पनि त सक्दैन।’ उनीहरूको यो सहमतिले सम्बन्ध प्रगाढ हुन्छ र बाबुआमा पनि खुसी हुन्छन्।

नाटक समापनपछि कलाकारलाई बधाई दिँदै कृषिमन्त्री विमला केसीले युवा वर्गमा कृषिप्रतिको विकर्षण र पढेलेखेकाले सम्भावना दर्शाउन खेल्नुपर्ने भूमिका स्पष्ट रूपमा देखाएको भन्दै प्रशंसा गरिन्। पर्यटनमन्त्री नन्दसिंह बुढाले विगतमा कृषिलाई प्राथमिकतामा राख्न नसकिएकाले युवा बिदेसिनु परेको बताए। कलाकार सुशान्त चापागाईंले नाटकको माहोल नै नभएको ठाउँमा हलभरि दर्शक देख्दा उत्साहित भएको बताए।

बिहीबारदेखि सुरु भएको रारा राष्ट्रिय नाटक महोत्सव फागुन २९ सम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.