मेलामा सबैको ध्यान हट एयर बेलुनमा
स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकामा जारी तेस्रो बयरघारी रमाइलो मेलामा हट एयर बेलुन सबैको आकर्षणको रुपमा रहेको छ। पोखराबाट ल्याइएको बेलुन आधीखोला किनारमा भरिएको थियो। सोही ठूलो बेलुनभित्र केही यात्रु बसेर उड्दै वरपरका दृश्यावलोकन गरेर मनोरञ्जन लिएका थिए।
आकाशमुनी उडेर वरपरको दृश्य अवलोकन गर्ने हट बेलुनको यात्रा स्याङ्जावासीका लागि नौलो बनेको छ। जिल्लामा पहिलो पटक ल्याइएको बेलुन सफरले सबैको ध्यान तानेको छ। प्याराग्लाइडिङ्बाट परिचित भीरकोट अर्को शाहसीक हवाइ खेल हट एयर बेलुनका लागि पनि उपयुक्त हुनसक्ने यो अनुमान गरिएको छ।
पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको रमाइलो मेलामा हट एयर बेलुन मार्फत यसको सम्भावना र चुनौतीको अध्ययन गरिएको आधीखोला पिस युथ क्लबका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए। मेला अवधिमा ३ हजारमा उडान भर्ने व्यवस्था मिलाइएको छ। एकै पटकमा ८ जना बसेर उड्न सकिने भएपनि हाल ५ जनालाई उडाइएको छ।
आँधीखोला पिस क्लबद्वारा आयोजित रमाइलो मेलामा दुई सय स्टल रहेका छन्। मेलामा औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री, कृषि उपजको प्रदर्शनी तथा विक्री, हस्तकला प्रर्दशनी, रत्यौली गीत, विद्यालयस्तरीय नृत्य र भलिबल प्रतियोगिता मेलाको आकर्षण बनेका छन्।
१० दिने मेलामा १ करोडको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ। ८० लाख खर्च गरेर २० लाख बचत गर्ने र बचत रकम सामाजिक क्षेत्रमा खर्च गरिने आयोजकको भनाई छ।