मधेस बुझ्न प्रदेश २ झर्यो विवेकशील साझा
सिरहा : विवेकशील साझा पार्टीले मधेसका समस्या र गुनासो बुझ्न आइतबार सिरहाको लहानमा ‘मधेस मन्थन श्रृंखला’ आयोजना गरेको छ। कार्यक्रममा स्थानीय वुद्धिजीवी तथा मधेस मामिलामा चासो राख्ने व्यक्तिहरू उपस्थित थिए।
‘अबको यात्रा विकास, समृद्धि, सुशासनको समाज निर्माण हो। त्यसको लागि मधेस बुझनुपर्छ,’ कार्यक्रममा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले भने, ‘मधेसको सही भावना बुझ्न हामी यो यात्रामा आएका छौँ।’
हुलाकी सडकको काम देख्दा आफूलाई ग्लानी भएको उनले सुनाए। ‘सबै नेताले भाषणमा हुलाकी सडकको कुरा गर्छन् तर काममा गति देखिएन। सडकमा २ वटा मेसिन र ३/४ जना कामदारले काम गर्दैछन्,’ उनले भने, ‘देशमा हामीले वर्षेनी सिभिल इन्जिनियर उत्पादन गर्छौँ तर उनीहरु यहाँ काम पाउँदैन। विदेश पलायन बढेको छ।'
विवेकशील साझा पार्टीले आयोजना गरेको कार्यक्रमका सहभागी। फोटोः अन्नपूर्ण
मधेसका युवाहरूमा रहेको आक्रोशलाई उर्जामा बदल्न चाहेको डा. आचार्यले बताए। नेपाल समृद्ध हुन पहिले मधेस समृद्ध हुनुपर्ने उनको भनाई छ। ‘मधेश समृद्ध नभई नेपाल समृद्ध हुँदैन। यो सबैले बुझनुपर्छ किनभने उद्योग धन्दा लगाउने जग्गा मधेसमा मात्रै छ,’ उनले भने, ‘उद्योग, सिँचाईको आयोजना लगाउँदा यही उपयुक्त हुन्छ।’ साझा पार्टीले मधेशलाई समस्या नभएर अवसरको रुपमा हेरेको उनले सुनाए।
मधेशका नाममा राजनीति गर्नेहरूले सधैं मुद्दा भजाएर सत्तामा पुग्ने र मुद्दा छाड्ने गरेको कार्यक्रममा सहभागी आरडी आजादले बताए। ‘मधेशको समावेशी समानुपातिक, नागरिकता र राज्यको शासन सत्तामा बराबरी हिस्सेदारी नभएसम्म मुद्दा सकिँदैन,’ उनले भने, ‘एउटा पार्टी वा व्यक्तिले आफ्नो स्वार्थमा मुद्दा छाड्छ तर ती मुद्दा जिवितै हुनछन्। फेरि कुनै न कुनै बेला संघर्ष हुन्छ।’
नेताहरूले मधेसमा आर्थिक र समाजिक विषय छाडेर राजनीतिक मुद्दा मात्रै उठाउने गरेको डा. विजयप्रसाद मिश्रको भनाई थियो। साझा पार्टीलाई तथ्यमा आधारित भएर कार्यक्रममा सञ्चालन गर्न उनले सुझाव दिए।
‘यहाँ केही भ्रम छरिएका छन्, नेताहरूले भुलभुलैयामा राख्ने गरेका छन्,’ उनले भने,‘यहाँको वास्तविक समस्या बुझेर समाधानको लागि पहल गर्नुपर्छ।’