चक्रपथमा बीआरटी सञ्चालन गर्ने तयारी
काठमाडौं : सरकारले बस र्यापिट ट्रान्जिट (बीआरटी) सञ्चालन गर्ने तयारी गरेको छ। चैत दोस्रो साता आयोजना गर्न लागिएको लगानी सम्मेलनमा बीआरटी सञ्चालनका लागि प्रस्ताव गर्न लागिएको हो।
काठमाडौं उपत्यकाको चक्रपथमा बीआरटी सञ्चालनका लागि प्रस्ताव गर्ने तयारी गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी जानकारी दिए। ‘सार्वजनिक यातायात सुधार गर्न मास ट्रान्सपोर्टको आवश्यकता छ। समयमै गन्तव्यमा नपुग्ने भएकाले आममानिसमा सार्वजनिक यातायात प्रति रुचि घट्दो छ’, अधिकारीले भने, ‘अहिले नै सार्वजनिक यातायालाई व्यवस्थित गर्न सकेन भने आगामी दिनमा अवस्था अझै विकराल बन्छ। सार्वजनिक यातायातप्रति रुचि जगाउन पनि व्यवस्थित यातायात प्रणालीको आवश्यकता छ।’ यातायात व्यवस्था विभागको तथ्यांकअनुसार नेपालमा ३२ लाखभन्दा धेरै सवारीसाधन सञ्चालनमा छन्। त्यसमा दुई पांग्रे सवारीको संख्या अधिक छ।
नेपालमा सञ्चालन हुने सवारीमध्ये मोटरसाइकलले मात्र ७८ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा २५ लाख ३० हजारभन्दा धेरै मोटरसाइकल प्रयोगमा छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाका अनुसार, व्यवस्थित सार्वजनिक यातायात सञ्चालन नभएका मुलुकमा दुई पांग्रे सवारीको प्रयोग बढी हुने बताउँछन्।
युरोपियन तथा अमेरिकन मुलुकको तुलनामा दक्षिण एसिया दुई पांग्रे सवारीको प्रयोग धेरै छ। सार्वजनिक यातायातको निजी सवारी सञ्चालन महँगो पर्छ। तर समय बचतको हिसाबले यो किफायती छ। सार्वजनिक यातायातको प्रयोग गर्नुभन्दा निजी सवारीको प्रयोगबाट सहज रूपमा गन्तव्यमा पुगिने भएकाले निजी सवारीको प्रयोग धेरै गरिएको हो।
बीआरटी प्रणाली भने यात्रुका लागि नयाँ विकल्प हुने सिटौलाले बताए। बीआरटी प्रणालीमा सञ्चालन हुने सवारीले अन्य सवारीको जस्तो जामको समस्या भोग्नु पर्दैन। बीआरटीका लागि निश्चित लेन हुन्छ। अन्य सवारी जाममा पर्दा पनि बीआरटी बिनाअवरोध सञ्चालन हुन्छ। ‘बीआरटीको लेनमा अन्य सवारीलाई प्रवेश गर्न बन्देज हुन्छ। बीआरटी जाममा नपर्ने भएकाले अन्यका तुलनामा छिटो हुन्छ’, सिटौलाले भने, ‘सार्वजनिक यातायातबाटै गन्तव्यमा छिटो पुगिन्छ।’ लगानी बोर्डले चक्रपथको साढे २७ किलोमिटरमा बीआरटी सञ्चालनका लागि प्रस्ताव गर्दैछ। यो निर्माण सञ्चालन तथा हस्तान्तरण (बीओटी) मोडालिटीमा सञ्चालन गर्न खोजिएको हो।
चक्रपथमा बीआरटी सञ्चालन गर्ने विषयमा बोर्डले प्रारम्भिक पूर्वसम्भाव्यता अध्ययन गरेको छ। त्यही अध्ययनका आधारमा परियोजना लगानी सम्मेलनमा पेस हुनेछ। यो प्रस्ताव स्वीकार गर्ने लगानीकर्ताले बीआरटीको विस्तृत सम्भाव्यता अध्ययन गरेर बीआरटी सञ्चालन गर्न सक्नेछन्। बीआरटी मोडलमा सञ्चालन गर्न खोजिएकाले निश्चित अवधिपछि यो परियोजना लगानीकर्ताले सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। यसको सम्झौता अवधि ३० वर्षको हुनेछ। यस अवधिमा लगानीकर्ताले लगानी उठाएर नाफा कमाउन पाउनेछन्। चक्रथपमा बीआरटी सञ्चालन गर्ने विषयमा प्रस्ताव पेश गरिए पनि आवश्यकताअनुसार अन्य स्थानमा पनि सञ्चालन गर्न सकिने बोर्डका प्रमुख अधिकारी बताउँछन्।
रत्नपार्कदेखि सूर्यविनायकसम्म पनि विकल्प हुन सक्ने उनको भनाइ छ। बीआरटीको भाडादर पनि महँगो हुनेछैन। छोटो दूरीमा सञ्चालन हुने सवारीको न्यूनतम भाडा १५ रुपैयाँ छ। बोर्डको अध्ययन अनुसार बीआरटीको पनि न्यूनतम भाडा १५ रुपैयाँ र अधिकतम २५ रुपैयाँ हुनेछ। ‘बीआरटी सामान्य बसभन्दा फरक प्रकृतिको हुन्छ। विश्वका अधिकांश मुलुकमा दुईवटा डिब्बा भएका बीआरटी सञ्चालनमा छन्। यसले एक लटमै सयौं यात्रु बोक्न सक्छ’, सिटौलाले भने, ‘यात्रा पनि सहज र सुरक्षित हुन्छ।’ यस्तो प्रणाली काठमाडौं उपत्यकामा मात्र नभई मुलुकका अन्य ठूला सहर पनि उपयुक्त हुने उनी बताउँछन्। सार्वजनिक यातायातलाई व्यवस्थित रूपमा सञ्चालन गर्न बीआरटी सेवा प्रारम्भ गर्न खोजिएको पारम्परिक बस सेवालाई विश्वसनीय र व्यवस्थित सञ्चालन गर्न बीआरटीको अवधारणा अघि सारिएको हो।
विश्वमा पहिलोपटक बीआरटीको सुरुवात ब्राजिलमा भएको थियो। सन् ११७४ ब्राजिलको सहर क्युरिटीभामा यसको पहिलो प्रयोग गरिएको थियो। सन् २०१८ सम्ममा ६ महादेशका एक सय ६६ सहरमा बीआटी प्रयोगमा छ। संसारको सबैभन्दा लामो बीआरटी सेवा इन्डोनेसियाको जकार्तामा छ। ट्रान्सजाकार्ता नामले परिचित यस दुई सय ३१ किलोमिटर सडकमा सेवा प्रदान गरिरहेको छ।