सीमा विवाद कायमै

सीमा विवाद कायमै

धनगढी : दुई वर्षअघि कल्भर्ट बनाउने विषयलाई लिएर कञ्चनपुर पुनर्वास–६ आनन्द बजारमा देखिएको विवाद अझै सुल्झिएको छैन। नापी टोली उक्त क्षेत्रमा पुगे पनि सीमा विवाद समस्या जस्ताको त्यस्तै छ। जसले गर्दा स्थानीयले नम्बरी जमिनमा खेती गर्नसमेत पाएका छैनन्।

सीमामा कल्भर्ट बनाउने विषयलाई लिएर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमले ज्यानसमेत गुमाउनुपर्‍यो। सीमामा देखिएको विवाद टुंग्याउन सम्बन्धित निकायसँग कुरा राख्दा पनि समाधान नभएको स्थानीयको गुनासो छ। स्थानीय निकायदेखि प्रदेश हुँदै केन्द्रीय सरकारसँग सीमा विवादबारे जानकारी गराउँदासमेत कुनै पहल नभएको स्थानीय हरि अधिकारीले बताए।

पटक–पटक नापी टोली आउँदा पनि विवाद नसुल्झिएको उनको गुनासो छ। उल्टै सीमाकै विषयलाई लिएर गौतमको ज्यान गएको उक्त ठाउँमा ‘विवादित क्षेत्र’ भन्दै भारतीय पक्षले बाटो नै बन्द गरिदिएको छ। भारतीय सीमा सुरक्षा बलले तत्काल बनाइएको कल्भर्टको बाटो हिँड्न नदिएपछि स्थानीय अर्को बाटो प्रयोग गरेर हिँड्ने गरेका छन्।

भारतीय पक्षले गौतमलाई गोली लागेको ठाउँ आफ्नो रहेको दाबी गरेको स्थानीय बताउँछन्। सीमास्तम्भ नभए पनि भारतले कल्भर्ट नजिक रहेको सिमलको रूख सीमास्तम्भका रूपमा लिने गरेको स्थानीय लोकबहादुर खड्काले बताए। उनले भारतले सीमा भनेको ठाउँबाट झन्डै पाँच मिटर दक्षिणतर्फसम्म नेपाली भूमि पर्ने बताउँदै अहिले एसएसबीले बनाएको क्याम्पबाट दुई सय मिटर दक्षिणतर्फ पुरानो बाटो रहेको दाबी गरे।

‘भारतले त्यो रूखलाई सीमास्तम्भ मान्छ तर त्यहाँबाट करिब ५ सय मिटर परसम्म नेपाली भूमि पर्छ’, सिमलको रूखतर्फ देखाउँदै उनले भने, ‘क्याम्पबाट अलि तल गएर हेर्नुस् न अहिले पनि त्यहाँ फर लाइनको पुरानो बाटो छ।’ आनन्द बजारमा दुई देशबीच विवाद भएपछि अहिले दुवै देशले अस्थायी प्रहरी क्याम्प राखेका छन्।

भएन वाचा पूरा

सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको दुई वर्ष पूरा भएको छ। दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही त परै जाओस्, गौतमका परिवारबारे सरकारले गरेको प्रतिबद्धता पूरा भएको छैन।

दुई वर्षको अवधिमा सरकारबाट राहतस्वरूप १० लाख रुपैयाँबाहेक मृतकका परिवारले आफू सहिद परिवार भएको अनुभूतिसमेत गर्न पाएका छैनन्। छोरीलाई निःशुल्क शिक्षा र श्रीमतीलाई जागिर दिने सरकारको वाचालाई यतिबेला स्थानीय तहले पनि पूरा गरेका छैनन्।

घटना भएको वरिपरि विभिन्न निकायबाट वाचा भए पनि पूरा नभएको गोविन्दका बुवा खेमलाल गौतमले गुनासो गरेका हुन्। ‘फागुन लागेपछि फूलमाला लगाउनेबाहेक कुनै काम भएका छैनन््’, उनले भने।

गौतमको स्मृतिसभा

कञ्चनपुर पुनर्वास नगरपालिका–६ मा पर्ने आनन्द बजारमा भारतीय प्रहरीको गोली लागेर निधन भएका गोविन्द गौतमको सम्झनामा सालिक निर्माण हुने भएको छ। दुई वर्षअघि कल्भर्ट हाल्ने विषयलाई लिएर दुई पक्षबीचको विवादमा गौतमको निधन भएको थियो। तेस्रो स्मृतिसभाको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सालिक निर्माण गर्ने घोषणा गरेको हो।

आइतबार पुनर्वास नगरपालिका–६ मा पर्ने आनन्द बजारमा आयोजित स्मृति सभामा सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गौतमको सालिक बनाइने जानकारी दिए। मन्त्री सुवेदीले सहिद गौतमको फोटोमा माल्यार्पण गर्दै बर्दीबिनाका सीमाका सिपाहीको सुरक्षाका लागि प्रदेश सरकार सधैं तयार रहेको बताए।

त्यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा प्रमुख सचेतक तारालामा तामाङले सीमा सुरक्षाका लागि लड्ने गोविन्द गौतमको स्मृतिमा सहिद पार्क निर्माणको माग गरे।

पुनर्वास नगरप्रमुख जीवनराज थापाले कार्यक्रममा सहिद गौतमका आमाबुबालाई दोसल्ला र नगदले सम्मान गरेका थिए। उनले गौतमका तीनै जना छोरीलाई वार्षिक १० हजार दिनेसमेत घोषणा गरे। ०७३ फागुन २६ गते गोविन्द गौतमको भारतीय एसएसबीको गोलीबाट निधन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.