भारतको दाबी : पुलवामा हमलाका योजनाकार मारिए
कश्मीर : जम्मु-कश्मीरमा चरमपन्थीहरुविरुद्ध ठूलो सफलता हात लागेको दाबी भारतले गरेको छ। फेब्रुअरी १४ मा ४० भन्दा धेरै अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी भएको पुलवामा हमलापछि थालिएको अप्रेशनका क्रममा १८ जना जैस मोहम्मदका एक सदस्य मारिएको दाबी भारतीय सुरक्षानिकायले गरेका हुन् ।
आइतवार पुलवामा जिल्लामा चरमपन्थी र र सुरक्षाबलबीच भीषण मुठभेडका क्रममा तीनजना चरमपन्थी मारिएका बताइएको छ। मारिएका चरमपन्थीहरुमा जैस ए मोहम्मदका जिल्ला कमाण्डर मुद्दसिर खान पनि रहेका छन् । अन्य दुईजनाको भने पहिचान हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार अनुसार पुलवामा हमलाम मुद्दसिरको ठुलो हात थियो । पेशाले इलेक्ट्रिसियन मुद्दसिर सन् २०१७ मा जैस ए मोहम्मदमा लागेका थिए । उनी आदिल अहमद डारको सम्पर्कमा रहेको दाबी भारतीय पक्षको छ । उनलाई पुलवामा हमलाका एक षड्यन्त्रकारीकारुपमा भारतले चित्रित गरेको छ। भारतीय सेनाले २१ दिनमा १८ चरमपन्थी मारिएको जनाएको छ । जसमा ८ जना पाकिस्तानी रहेको भारतीय सेनाले दाबी गरेको छ ।
सुरक्षाबलले दक्षिण कश्मीरको पुलवामा जिल्लास्थित त्राल इलाकाको पिङ्गलिसमा घेराबन्दी गरेको थियो । त्यहाँ चरमपन्थीहरु रहेको सूचना मिलेको थियो । सर्च अप्रेशनका त्यस इलाकामा भिडन्त हुँदा तीनजना मारिएको दाबी भारतीय पक्षको छ ।
जैस ए मोहम्मदका सदस्य आदिल अहमद डारले नै पुलवामामा हमला गरेका थिए । उनी भारतीय सेनाले कुटपिट गरेपछि जैस ए मोहम्मदमा भर्ना भएका थिए । यो आक्रमणमा अर्ध सैनिक बलका ४० भन्दा धेरै मारिएका थिए ।