स्कुल बस तोडफोड आरोपमा विप्लवका दुई कार्यकर्ता पक्राउ
रुकुम पश्चिम : गत बिहीबार आह्वान गरिएको राप्ती बन्दका क्रममा विद्यालयको बस तोडफोड गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार बेलुका मुसिकोट नगरपालिका १० बाट मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।
पक्राउ परेका दुवै पार्टीको जिल्ला सदस्य हुन्। प्रहरी निरीक्षक क्षेत्रीका अनुसार उनीहरू बन्दको दिन रा १ क ८७१ नम्बरको स्कुल बस तोडफोड गरेर भागेका थिए। तोडफोडमा संलग्न मध्ये दुई जना पक्राउ गरेपनि अरु दुई जना फरार रहेको प्रहरीको भनाई छ।
नेकपाले विभिन्न स्थानमा आफ्ना कार्यकर्तालाई बिना कारण पक्राउ गरिएको भन्दै साविक राप्ती अञ्चाल भित्रका जिल्लामा बन्दको घोषणा गरेको थियो। मुसिकोट नगरपालिका ४ सेरिगाउँमा रहेको न्यु मुन लाइट स्कुलको बस बिहीबार बेलुका ५ बजे तोडफोड भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ।