एक पाथी मकै पिस्न दुई दिन

एक पाथी मकै पिस्न दुई दिन

मकवानपुर : राक्सिराङ गाउँपालिका-५ स्थित लाइसिराङमा सञ्चालित घट्ट बन्द हुने अवस्थामा पुगेको छ। सोही स्थानका मानबहादुर मोक्तानले सञ्चालन गरेको घट्ट पानी अभावमा दैनिक तीन÷चार घण्टा मात्र चल्ने गरेको बताए। गाउँमा मकै, कोदो, फापरलगायत खानेकुरा पिस्न अन्य विकल्प छैन। सामल पिस्न पालो पर्खिंदा २ दिनसम्म लाग्ने उनी बताउँछन्।

मोक्तानले ०५० सालसम्म जिर्खी खोलामा घट्ट चलाउँदै आएका थिए। घट्ट सञ्चालन गरेको आम्दानीबाट सात जना परिवारको दैनिकी चलिरहेको थियो। तर, ०५० सालको बाढीले घट्ट बगाइदियो। त्यही ठाउँमा फेरि घट्ट बनाउन नसकेपछि उनी लाइसिराङतर्फ मोडिए। आफन्तको जग्गा भाडामा लिएर लाइसिराङ खोलाछेउमा पानीघट्ट बनाए। उनले भने, ‘अहिले पनि कुलोमा पानी थुनेर चलाउनुपर्ने बाध्यता छ।’ दुई घण्टा कुलोमा पानी थुनेपछि मात्र आधा घण्टा उनको घट्ट चल्छ।

खोलामा पानी सुक्दै गएपछि उनले १० वर्षअघि काठको भमरा निकालेर फलामको छरितो भमरा हालेका थिए। थोरै पानीबाट घुम्ने भमरालाई पुग्ने पानी पनि नभएपछि माघदेखि जेठसम्म कुलोमा पानी जम्मा गरेर घट्ट चलाउनुको उनीसँग विकल्प छैन। ‘मैले घट्ट सुरु गर्दा खोला तर्दा पनि बगाउने पानी थियो, हेर्दाहेर्दै पानी सुक्यो’, मोक्तानले भने, ‘अझ ०७२ सालको भूकम्पपछि त केही समय ठूलै मूल फुटेर खोला बगेको थियो तर पछिल्लो समय पानी सुक्दै गयो।’ जथाभावी जंगल फँडानी र जलवायु परिवर्तनले पनि पानीको मुहान सुक्दै गएको उनको भनाइ छ।

घट्ट चलाउने पानी जम्मा गर्न कुलो थुन्दै मानबहादुर।  तस्बिर : कृष्ण सारु मगर

पानी अभावले घट्ट नियमित नचल्ने भएपछि एक दिन पालो कुरेर सामल लिन आउने गरेको निगुरेटारकी विमला तामाङले बताइन्। उनले भनिन्, ‘पानी सुकेर घट्ट नचल्दा एक पाथी मकै पिस्न पनि दुई दिनसम्म पर्खनुपर्छ।’ करिब सय परिवारको कोदो, मकैलगायत अन्न पिस्ने उनी पाथीको एक माना ज्याला लिने गर्छन्।

खानेपानीको समस्या उस्तै 

गाउँको बीचमा रहेको मोक्तानको घट्टजस्तै यहाँका विपन्न तामाङ र चेपाङहरूको दैनिकी पनि पानीकै समस्याले कष्टकर बन्दै गएको छ। जिर्खी डाँडामा २० घर तामाङ र चेपाङ परिवारको बसोवास छ। भूकम्पपछि गाउँमा पाइपबाट ल्याएको खानेपानीको मुहान नै सुकेपछि उनीहरू लाइसिराङ खोलाकै पानीमा निर्भर छन्।

‘घरबाट खोला आइपुग्न आधा घण्टा ओरालो हिँड्नुपर्छ, जसोतसो खानेपानी लगे पनि सागपात उब्जाउन सकेको छैन’, स्थानीय रिना चेपाङले भनिन्। जिर्खीडाँडासँगै निगुरेटार, देबीटार र लाइसिराङ आसपासमा रहेका खानेपानीको मुहान र कुवा सुक्दै गएको लाइसिराङका सजीवन चेपाङले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.