कर्णाली-रारा पर्यटन वर्ष : अख्तियारले माग्यो उद्घाटनको खर्च विवरण

कर्णाली-रारा पर्यटन वर्ष : अख्तियारले माग्यो उद्घाटनको खर्च विवरण

सुर्खेत : कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। प्रदेशसभाको सार्वजनिक लेखा समितिले पर्यटन वर्षको उद्घाटनमा लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।

उद्घाटनको खर्च विवरण उपलब्ध गराउन भन्दै अख्तियारले प्रदेश सरकार र मातहतका मन्त्रालयलाई पत्र काटेको छ। प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो। उद्घाटनमा व्यापक आर्थिक अनियमितता भएको ठहर गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले कारबाही गर्न प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ।

 लाखौं रकम अनियमितता भएको प्रश्न उठेपछि पर्यटन वर्षको उद्घाटनमा भएको खर्चमाथि आफूहरूले पनि अनुसन्धान थालेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ।

अनुसन्धानका लागि १५ दिनभित्र पर्यटन वर्षको खर्च विवरण उपलब्ध गराउन पत्राचार गरिएको अख्तियारले जनाएको छ। खर्च विवरण आउनेबित्तिकै थप छानबिन गरिने अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए। उनले भने, ‘लेखा समितिले अनियमितता भएको प्रतिवेदन सार्वजनिक ग¥यो, त्यसलगत्तै हामीले पनि प्रदेश सरकारसँग खर्च विवरण मागेका छौं। १५ दिनको समय दिएका छौं, विवरण प्राप्त हुनेबित्तिकै थप छानबिन सुरु हुन्छ।’ अनुसन्धानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभागीय मन्त्रालय र अन्य जोडिएका निकायलाई पनि पत्र काटिएको अख्तियारले जानकारी दिएको छ।

अनियमितता गर्नेलाई कारबाही माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट्न पुगेका लेखा समितिका पदाधिकारी। – अन्नपूर्ण

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जेठ २५ गते संसद्मा उद्घाटनमा ४९ लाख ४१ हजार सात सय ९५ रुपैयाँ खर्च भएको विवरण पेस गरेका थिए। तर, महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको उल्लेख छ। प्रदेश सरकारले भने लेखा समितिलाई ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको विवरण उपलब्ध गराएको छ। खर्चको विवरण फरक आएका कारण पनि अनियमितता भएको प्रश्न उठेको हो।

भव्य समारोहबीच वैशाख १ गते रारामा प्रधानमन्त्री केपी ओलीले पर्यटन वर्ष उद्घाटन गरेका थिए। ‘कति खर्च भएको हो ? कसरी खर्च गरिएको हो ? ’ अख्तियारका सूचना अधिकारी सापकोटाले भने, ‘हामीले सबै विवरण मागेको छौं, यसको सूक्ष्म अनुसन्धान गरेर वास्तकिता पता लगाउनेछौं।’

पर्यटन वर्षको उद्घाटनमा अनियमितता भएको भन्दै प्रदेशसभामा समेत प्रश्न उठेको थियो। त्यसपछि लेखा समितिले करिब ५ महिना लामो अध्ययनपश्चात् केही दिनअघि मात्र अनियमितता भएको ठहरसहित प्रतिवेदन सार्वजनिक गरेको थियो। पर्यटन वर्षको उद्घाटनमा सार्वजनिक खरिद ऐनविपरीत रकम खर्च गरेको, मन्त्रिपरिषद् बैठकले दिएको अख्तियारीभन्दा दोब्बर रकम खर्च भएको, महालेखा परीक्षकको प्रतिवेदन र समितिलाई प्रदेश सरकारले उपलब्ध गराएको खर्च विवरण फरक रहेको, एउटै होटल र शीर्षकका बिल फरक–फरक मन्त्रालयले पेस गरेको भन्दै लेखा समितिले लाखौं रकम अनियमितता भएको ठहर गरिसकेको छ। लेखा समितिले अनियमितता भएको भन्दै आवश्यक कारबाही गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.