तुइन हटाएर त्रिशूलीमा हालेको पुल सडक खन्दा पुरियो, चेपाङ बस्तीमा समस्या
गोरखा : यहाँको हिक्लुङ गाउँमा वडाअध्यक्षले जथाभावी डोजर चलाउँदा स्थानीयबासीले सास्ती भोग्नपुरेको छ। गण्डकी गाउँपालिका वडा नम्बर ६ का वडाअध्य जीवन गुरुङले विकासका नाममा जथाभावी डोजर चलाएपछि स्थानीय हिँड्ने पुल नै पुरिएको छ।
वडाअध्यक्ष गुरुङको योजनामा डोजर लगाएर सडक खन्दा त्रिशूली नदी तर्ने झुलुङ्गे पुल नै माटोले पुरिँदा बन्द भएको छ। पुलमाथि माटो ढुंगा थुप्रिएर अवरोध भएपछि हिक्लुङ, थुम्का र लुप्राङका चेपाङ समुदायलाई आवतजावत गर्न समस्या भएको हो।
हिक्लुङ, थुम्का, बालाकी हुँदै लेकजाने बाटो वडालाई आएको बजेटले खनिएको थियो । सडक खन्ने क्रममा डोजर बिग्रेको छ । डोजर अपरेटर पनि बिरामी भएपछि सडक निर्माणको काम अलपत्र परेको छ भने पुलमाथि पुरिएको माटोसमेत नहटाइएको हिक्लुङका स्थानीय एक शिक्षकले अन्नपूर्णलाई जानकारी दिए।
चालु आर्थिक वर्षकै बजेटमा उक्त कच्ची सडकको ट्रयाक खनिएको हो । सडक निर्माण सकिएपछि मात्रै पुल पुन: सञ्चालनमा ल्याउने वडाअध्यक्ष गरूङले बताए। एकवर्ष अघिमात्र उक्त झुलुङ्गे पुल निर्माण भएको थियो। उक्त पुल निर्माण हुनुअघि स्थानीयहरू तुइनबाट त्रिशूली तर्दै आएका थिए।
'बाटो निर्माणका क्रममा माथिबाट माटो झर्दा पुल बन्द भएको छ', वडाअध्यक्ष गुरुङले भने, 'सडकको काम सकिने वित्तिकै पुल खोलिहाल्छौं।'
आफूले उक्त माटो सफा गर्न आदेश दिइसकेको गाउँपालिका अध्यक्ष होबहादुर राना मगरले बताए। 'केही कमजोरीले त्यस्तो समस्या भएको हो', उनले भने, 'मैले तुरुन्त सफा गर भनिसकेको छु, उनीहरूले सफा गर्दै होलान्।'