भारतसँग तनाव नबढ्ने पाकिस्तानको घोषणा
इस्लामाबाद : पाकिस्तान सरकारले पुलवा आतंकवादी आक्रमणपछि उत्पन्न भारत–पाकिस्तान तनाव नबढ्ने घोषणा गरेको छ।
पाकिस्तानी अखबार ‘एक्सप्रेस ट्रिब्यून’ले दुवै देशबीच सम्बन्ध सुधार भएको बताएको छ। सोमवार एक अधिकारीले उक्त जानकारी दिएको पत्रिकाले उल्लेख गरेको छ। नाम उल्लेख नगर्ने शर्तमा अधिकारीले भने, ‘तनाव घटेको छ।’
कश्मीरको पुलवामा १४ फेब्रुअरीमा ४० भन्दा बढी सुरक्षाकर्मी आतंकवादी आक्रमणमा मारिएपछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो। उक्त आक्रमणमा पाकिस्तानलाई आधार बनाउँदै आएको जैश ए मोहमदको जिम्मा लिएपछि भारतीय वायुसेनाले पाकिस्तानमा आक्रमण गरेको थियो।
त्यसै क्रममा भारतीय वायुसेनाका अधिकारी अभिनन्दन वर्तमान पाकिस्तानी सेनाको नियन्त्रणमा परेका थिए। पाकिस्तानले कुनै माग नराखी वर्तमानलाई भारत फिर्ता गरेको थियो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले युद्ध कसैको पक्षमा नहुने बताउँदै बदला नलिने बताएका थिए।
युद्ध शुरु भएपछि अन्त्य गर्न कसैको हातमा नहुने उनको स्पष्टोक्ति थियो। भारतीय सञ्चारमाध्यमले युद्धको वातावरण बनाउने प्रयास गर्दैआएका छन्। निर्वाचनका बेला छिटफुट आक्रमणका घटना हुनसक्ने भए पनि थप तनाव नबढ्ने ती अधिकारीले बताएका छन्।