'सेयर बजार बढ्ने आधार छैन'
काठमाडौं : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार २०.३३ अंकले बढेर ११६३.२६ अंकमा पुगेको छ। उद्योगी÷व्यवसायी र बैंकर्सबीच कर्जाको ब्याजदर घटाउन सोमबार भएको सहमतिका कारण वियरिस ट्रेन्डमा रहेको सेयर बजारमा उत्साह थपिएको हो। मंगलबार नेप्सेमा कारोबार हुने सबै समूहका परिसूचक उकालो लागेका छन्। यस दिन नेप्सेमा ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भयो। नेप्से परिसूचक १.७८ प्रतिशतले बढ्दा वृद्धि भएको दैनिक कारोबार रकम पनि आधा अर्ब नाघेको छ। यद्यपि, सेयर बजार विश्लेषकले भने सेयर बजारमा उछाल आउने कुनै कारण नरहेको बताएका छन्।
‘जुन कारणले सेयर बजार बढेको भनिएको छ, त्यसमा कुनै ठोस आधार भेटिँदैन’, सेयर बजार विश्लेषक प्रकाश रजौरियाले भने, ‘उद्योगी÷व्यवसायी र बैंकर्सबीच कर्जाको ब्याजदर घटाउने सहमतिले त बैंकको नाफामा असरपार्ने अवस्था आयो भने त सेयरको प्रतिफल अझै कम हुन्छ। बैंक तथा वित्तीय संस्थाको प्रभुत्व रहेको हाम्रो सेयर बजारका लागि यसले कुनै उत्साह थप्दैन।’
उद्योगी÷व्यवसायी र बैंकर्सबीचको सहमतिले उत्पादनमूलक क्षेत्रको कर्जाको ब्याजदरलाई सामान्य घटाउने या ठूलो उतारचढाब हुन नदिइ स्थिर राख्ने सहमति भए पनि उनीहरूबीच मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) लाई खुकुलो गर्ने, सेयर धितोको जोखिमलाई कम गर्ने सहमति हुने कुनै आधार छैन। यसका कारण सेयर बजारका लागि त यो सहमति ‘न हर्ष, न विस्मात्’ को विषय रहेको विश्लेषकको तर्क छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वको समितिले पुँजीबजारका समस्या समाधानका लागि चालेका कदमले उत्साह जगाउन नसकेको सेयर बजारलाई उद्योगी÷व्यवसायी र बैंकर्सबीचको सहमतिको कुनै अर्थ नभएको रजौरियाको भनाइ छ।
बैंक तथा वित्तीय संस्थाको प्रभुत्व रहेको नेप्सेमा मंगलबार बैंकिङ, व्यापार र विकास बैंक समूहका परिसूचकमा प्रभाव देखिएको छ।
बैंक तथा वित्तीय संस्थाको प्रभुत्व रहेको नेप्सेमा मंगलबार बैंकिङ, व्यापार र विकास बैंक समूहका परिसूचकमा तुलनात्मक प्रभाव देखिएको छ। ‘केही सट्टेबाजले यस्ता सूचनाका आधारमा बजार बढाएर आफ्नो स्वार्थपूर्ति गर्न लागेका हुन सक्छन्’, रजौरिया भन्छन्, ‘अझै एकाध दिन बजार बढाइए पनि त्यस्ता सट्टेबाजले सेयर बेच्ने बित्तिकै बजार फेरि पुरानै लयमा फर्कन थाल्छ।’ कर्जाको ब्याजदर घट्दा निश्चित क्षेत्रमा र त्यसमा पनि खास गरी उत्पादनमूलक क्षेत्रलाई लाभ हुने भन्दै रजौरियाले साना–मझौला लगानीकर्तालाई हौसिन आवश्यक नरहेको बताए। ‘लगानीयोग्य पुँजी अभावको समस्या जस्ताको त्यस्तै छ। लगानीका आकर्षक क्षेत्र अन्यत्र पनि उपलब्ध भएका छन्’, रजौरिया भन्छन्। ‘निक्षेपको सहज उपलब्धता भएर कर्जाको माग कम भए ब्याजदर कम हुँदै जाने थियो। अहिले त्यो सम्भावना देखिँदैन।’
नेप्से परिसूचक २०७३ साउनमा अहिलेसम्मकै उच्च बिन्दू १८८१.४५ बिन्दूमा पुगेपछि बजार वियरिस ट्रेन्ड समातेको दुई वर्ष भइसकेको छ।
यसअघिका अनुभवले बजारमा वियरिस ट्रेन्ड समाप्त भएपछि बजार केही समय स्थिर भएपछि मात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ, जुन अंग्रेजी वर्णमालाको ‘यू’ आकारमा अघि बढ्ने गरेको छ। यसअघि नेप्से परिसूचक २०५२, २०५७, २०६५, २०७३ मा बुलिस ट्रेन्डको उच्चतम बिन्दूमा पुगेको देखिन्छ। ‘बजार वियरिस ट्रेन्ड हुँदै स्थिर भएर पुन उकालो लाग्दा औसतमा तीन वर्षको समय व्यतीत भएको पाइन्छ’, रजौरियाले भन्छन्। २०५२ मा उच्चतम बिन्दूमा पुगेर सुरु भएको वियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म २०६५ को २०६८ सम्म चलेको थियो।
२०६५ भदौ १५ मा उच्चतम बिन्दू ११७५ मा रहेको नेप्से परिसूचक २०६८ असार ६ मा २९२ बिन्दूमा आएर रोकिएको थियो। अघिल्लो वियरिस ट्रेन्डसँगै सेयर बजार ‘क्र्यास’ भएपछि यसलाई पुनर्जीवित गर्न सरकारले ठूलै पहल गर्नुपरेको थियो। २०७२ भदौको पहिलो साता १२०० अंकको आसपासमा आएर बुलिस ट्रेन्डको उच्चतम बिन्दूमा रहेको नेप्से परिसूचक राष्ट्र बैंकले तत्कालीन समयमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्णयसँगै पुनः बढ्न थालेको हो। २०७२ भदौदेखि २०७३ साउनको बीचमा सेयर बजारमा ‘कपल बुल’ देखिएको थियो।
सामान्यतः एकै वर्षमा सेयर बजारमा यस्तो दुलर्भ अवसरका रूपमा लिइन्छ। पछिल्लो समय सेयर बजारले वियरिस ट्रेन्ड समातेसँगै नेप्से परिसूचक ११०० बिन्दूबाट तल झरेको छैन। यो बिन्दूमा आइपुग्दा नेप्सेमा सूचीकृत लघुवित्त र बिमा कम्पनीबाहेक सबै वित्तीय संस्थाका सेयरको मूल्य–आम्दानी अनुपात २०६८ को बजार ‘क्र्यास’ कै अवस्थामा आइपुगेको लगानीकर्ता बताउँछन्।