हेलिकप्टरलाई सहज इन्धन सुविधा
काठमाडौं : नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने हेलिकप्टरका लागि इन्धन सुविधालाई सहज बनाएको छ। नयाँ सुविधाअनुसार सीधै निगमको ट्यांकरबाट हेलिकप्टरमा मात्रै दिँदै आएको इन्धन रिफ्युल सुविधामा एक हजार लिटरसम्म सञ्चित गर्न पाइनेछ। यसअघि हेलिकप्टरले निगमकै ट्यांकर कुरेर बस्नुपर्ने र इन्धन नपाएसम्म उडान गर्न नसक्ने अवस्था थियो।
सञ्चित इन्धन प्रयोग गरेर तत्कालै उडान गर्न सकिने सुविधा भएको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले बताए। निगमसँग भएको मंगलबारको सहमतिपछि इन्धन सुविधा लागू भइसकेको उनले बताए।
रामेछाप विमानस्थलबाट उडान गर्ने वायुसेवाका लागि निगमले दैनिक १५ हजार लिटरसम्म इन्धन उपलब्ध गराउने भएको छ। यो विमानस्थलबाट हेलिकप्टर र नियमित उडानका वायुसेवा नेपाल एयरलान्इसको वाई १२, समिट, सीता र तारा एयरका जहाजले उडान गर्न सक्छन्।
चैत १८ गतेबाट त्रिभुवन विमानस्थलको धावनमार्ग कालोपत्रे हुने हुँदा विमानस्थल दैनिक १० घण्टा (बेलुका १० देखि बिहानको ८ बजेटसम्म) बन्द हुन्छ। बिहान ८ बजेमात्रै विमानसथल खुल्दा आन्तरिकतर्फ लुक्ला उडान प्रत्यक्ष प्रभावित हुने अनुमान छ। बिहानको समयमा रामेछापबाट लुक्ला उडान गर्ने र लुक्लाबाट रामेछाप आउने यात्रुको चाप बढ्न सक्ने भएकाले उक्त समयका लागि वायुसेवा कम्पनीले थप इन्धन मागेका थिए।
यस्तै गत शुक्रबार हेलिकप्टर सोसाइटी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको एयरबस हेलिकप्टर एएस३५० बी३ का एक÷एक सिट निकाल्ने निर्णयले हेलिकप्टर व्यवसायी नै असन्तुष्ट छन्। फागुन १५ मा ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाएका थिए। प्राधिकरणले हेलिकप्टरको सिट कटौती गरेसँगै दुर्घटनाको कारण बढी तौल भएर हो भन्ने नकारात्मक सन्देश गएको छ। तर, सोसाइटीले हेलिकप्टरमा क्षमताअनुसारको तौल रहेको र यात्रुका कारण बढी भार नरहेको जानकारी दिएको छ। निर्माता कम्पनीले दिएको क्षमताभन्दा कम गरेर उडान गर्दा व्यवसायीलाई घाटा हुने निर्णय प्राधिकरणले गरेको सोसाइटीले जनाएको छ।
जसका कारण प्याकेज लिएका पर्यटकलाई समस्या परेको छ। मंगलबारमात्रै हेलि एभरेस्टले ६ जना जापानी पर्यटकको पोखरा बेनी प्याकेज तय गरेको थियो। पाँच जनामात्रै उडान गर्नुपर्ने भएकाले एक जनालाई गाडीमा पठाएको जानकारी हेली एभरेस्टका सीईओसमेत रहेका कँडेलले बताए। नागरिक उड्डयन प्राधिकरणको यो सहमतिले हेलिकप्टर व्यवसायीलाई असहज भएकाले यस्तो सम्झौतामा पुनरवलोकन गर्न सोसाइटीबीच छलफल सुरु भएको छ।