मर्मत हुँदै माथिल्लो मर्स्याङ्दी 'ए'
बेसीसहर : मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी 'ए' जलविद्युत् आयोजनाको विस्तृत मर्मत थालिएको छ।विद्युत उत्पादन भएपछि पहिलोपटक आयोजनाको मर्मत थालिएको हो।
विद्युत गृहमा टर्वाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ। आयोजनाले विद्युत उत्पादन थालेको २ वर्ष भएको छ। २५÷२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा जडित युनिट २ को मर्मतसम्भार भइरहेको छ।
फेब्रअरी १५ तारिखबाट सुरु गरिएको बृहत् मर्मतसम्भार कार्य एक डेढ महिनामा सक्ने लक्ष्य छ। युनिट २ को मर्मत युनिट १ को मर्मत थालिने आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार युनिट २ मर्मतमा रहेपछि अहिले युनिट १ बाट मात्रै विद्युत् उत्पादन भइरहेको छ। उक्त टर्बाइनबाट २५ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए।
रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधक्षेत्रमा पनि मर्मत भइरहेको छ। गएको बर्खामा गएको भीषण पहिरो, बर्खायामको बाढीपहिरोले माटो तथा बालुवाका कणले टर्बाइनका दाँतहरूमा क्षति पुर्याएको आयोजनाले जनाएको छ।
सबै क्षेत्रको मर्मत गर्न करिब ३ महिना लाग्ने आयोजनाले जनाएको छ। आयोजना मर्मतका लागि चिनियाँ ३ जना विषेशज्ञसहित १५ जना इन्जिनियर तथा प्राविधिक खटिएका छन्। उनीहरू सबै चीनबाट माथिल्लो मस्र्याङ्दी 'ए' आयोजनाको मर्मतका लागि आएका हुन्।
सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मस्र्याङ्दी 'ए' आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको थियो। चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोई समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ।