प्रदूषणको चपेटामा भैरहवा, लुम्बिनीको प्रवेद्वारलाई छोप्छ धुवाँको मुस्लोले

प्रदूषणको चपेटामा भैरहवा, लुम्बिनीको प्रवेद्वारलाई छोप्छ धुवाँको मुस्लोले

भैरहवा : स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी पर्यटक भैरहवा नाकाबाट भित्रिने गर्दछन्। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार पनि भैरहवा हो। यहाँ धुवाँ, धुलोसँगै बढ्दो शहरीकरण। भैरहवा मुलुककै नमुना शहरको फड्को मारिरहेको छ। तर यो सँगसँगै भैरहवाको एउटा डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। त्यो हो प्रदुषणको।

जनघतत्व र शहरीकरण बढेसँगै भैरहवा प्रदुषणको चपेटमा परेको छ। अहिले बुद्धनगरी भैरहवा प्रदुषणको जोखिममा नभई उच्च चपेटमा छ। तर हालसम्म नियन्त्रणका लागि कुनै निकायले पहल थालेका छैनन्। युनिर्भसिटी अफ न्यू मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवा स्थिती निमा–प्रतिमान स्मिृत प्रतिष्ठानले गरेको खोज–अनुसन्धानको रिपोर्टले भैरहवा प्रदुषणको उच्च चपेटमा रहेको देखिएको हो।

सन् २०१७ को डिसेम्बरदेखि गरिएको खोज अनुसन्धानले यस्तो रिपोर्ट आएको हो। प्रतिष्ठानले इन्डोर प्रदुषण (कोठा भित्र) र आउटडोर (कोठा बाहिर खुल्ला आकाश) प्रदुषणको विषयमा खोज अनुसन्धान गरिरहेको छ। जसमध्ये इन्डोर प्रदुषण खोजको रिपोर्ट आइसकेको छ भने आउटडोर प्रदुषणबारे खोज अनुसन्धान जारी रहेको प्रतिष्ठानले जनाएको छ।

इन्डोर प्रदुषण मापनका लागि प्रतिष्ठानले सन् २०१७ मा भैरहवा बजार क्षेत्रको दुई स्थानमा प्रदुषण मापन केन्द्र जडान गरेर इन्डोर प्रदुषणको अवस्थाबारे तथ्यांक बुटलेको थियो। उक्त तथ्यांकमा जाडोयाममा वायु गुणवत्ता सुचकांक ३ सय ५० देखि चार सय सम्म पाइएको थियो। जबकी १ देखि ५० सम्म वायु गुणवत्ता सुचकांकलाई स्वच्छ र राम्रो मानिन्छ। जाडोयाम भन्दा वर्षायाममा वायु गुणवत्ता सुचकांक कम थियो। वर्षायामा १ देखि ५० भित्रै वायु गुणवत्ता सुचकांक थियो भने गर्मीयाममा २ सय ५० देखि २ सय ७५ वायु गुणवत्ता सुचकांक पाइएको थियो। रिपोर्ट अनुसार यस क्षेत्रमा कोठा भित्र पनि स्वच्छ वायु छैन।

‘हामीले इन्डोर प्रदुषणको खोज अनुसन्धान गर्यौँ त्यसको रिपोर्ट अनुसार भैरहवाको अवस्था निकै भयावह छ, प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले अन्नपूर्ण पोस्ट्सगँ भनिन् –‘यसलाई समान्य रुपमा लिनु हुदैन। यदि समयमै नियन्त्रण नगर्ने हो भने भविष्यमा यस क्षेत्रको अस्पतालले समेत विरामीको संख्या थेग्न सक्दैन।’

इन्डोर प्रदुषणको रिपोर्ट आएपछि सन् २०१८ को डिसेम्बरदेखि आउटडोर (कोठाबाहिर खुल्ला आकाश) को भैरहवा, धकधई र बुटवल गरी ३ क्षेत्रमा प्रदुषण मापन यन्त्र जडान गरेर उक्त क्षेत्रको प्रदुषणको अवस्थाबारे खोज–अनुसन्धान भइरहेको कार्यकारी निर्देशक थापाले बताइन्।

हालसम्मको तथ्यांक अनुसार यी तीन क्षेत्रहरुमा पनि वायु गुणवत्ता सुचकांक कोठाभित्र भन्दा बढी देखिएको छ। यी क्षेत्रहरुमा ४ सय देखि ४ सय ५० सम्म वायु गुणवत्ता सुचकांक पाइएका छन्। तर अहिले यी क्षेत्रहरुमा भइरहेको खोज–अनुसन्धानको रिपोर्ट आएको छैन। ‘तर, इन्डोरको रिपोर्ट र हाल सम्मको आउटडोरको तथ्यांकलाई विशलेषण गर्ने हो भने अवस्था उस्तै भयावह नै देखिन्छ,– उनले भनिन्।

उपग्रहको माध्यमले पनि यस क्षेत्रको प्रदुषण खोज–अनुसन्धान गर्नका लागि युनिर्भसिटी अफ न्यू मेक्सिको र नासाका वैज्ञानिकहरुसगँ संवाद भैरहेकोले छिट्टै उपग्रह र प्राविधिक मापन यन्त्र दुवैले यस क्षेत्रको प्रदुषणबारे थप खोज–अनुसन्धान गरिने उनले जनाइन्।

प्रतिष्ठानले प्रदुषण नियन्त्रणको लागि जनजागरुकताको अन्र्तगत आफ्नो वेभसाइट समेत तथ्यांक राख्ने तयारीमा छ। यसबाट पनि प्रदुषण नियन्त्रण हुन सक्ने प्रतिष्ठानले विश्वास लिएको छ।

‘अनुसन्धानको लागि अमेरिकाबाट आएका विज्ञहरुले यहाँँको प्रदुषण देखेर छक्क परे, उनले आफ्नो अनुभव सुनाउँदै भनिन् –‘उनीहरु विना मास्क कहिल्यै बाहिर हिडेनन् तर यहाँ सर्वसाधरणहरु निकै सहज रुपमा हिडडुल गर्दछन् जुन भविष्यमा मानवजीवनको लागि खतरा हो।’

प्रदुषणका कारण आँखा रोग, श्वास प्रश्वास समस्या, एलर्जी, लगायत शरीरमा धेरै समस्या उत्पन्न हुने गर्दछ। बढ्दो प्रदुषणका कारण यस क्षेत्रमा विरामीको संख्या पनि बढ्दो क्रममा रहेको भैरहवा भिम अस्पतालका चिक्तिसक सुवर्ण पौडेल बताउँछन्। उनले प्रदुषणका कारण सानै उमेरका बालबालिकाहरुमा पनि श्वास प्रश्वास समस्या बढ्दै गएको बताए। उनका अनुसार अस्पतालमा दैनिक बालबालिका मात्र औसतमा तीन जना श्वासप्रश्वास (दम) को उपचारको लागि आउने गरेका छन्।

प्रदुषण नियन्त्रण चासो नदिए यस क्षेत्रको पर्यटन क्षेत्रमा समेत यसले नकारात्मक प्रभाव पार्ने कार्यकारी निर्देशक थापाको भनाई छ।

उनका अनुसार छिमेकी मुलुक भारतका शहरहरु प्रदुषित भएकोले त्यसको मारमा यस क्षेत्रका सर्वसाधरणहरु परिरहेका छन्। यो क्षेत्र औद्योगिक क्षेत्र पनि भएकोले प्रदुषणको चपेटमा परेको छ। निर्माणधिन सडक ठेकेदारले समयमा निर्माण नगर्दा सडकबाट उडेको धुलो पनि मानवजीवनमा धेरै असर परेको छ।

प्रदुषणको रिपोर्ट आफुहरुले स्थानीय तहलाई बुझाएपनि नियन्त्रणका लागि आश्वासन बाहेक कुनै प्रक्रिया अगाडी नबढाइएको उनले गुनासो पोखिन्। हामीले पटक पटक सिद्धार्थनगर नगरपालिकाका मेयरलाई भेटेर छलफल गर्यौँ उनले भनिन् उहाँ (मेयर) ले हुन्छ भन्नुहुन्छ तर केही ठोस कदम चाल्नुभएको देखिएको छैन।

यता सिद्धार्थनगर नगरपालिकाका मेयर हरीप्रसाद अधिकारीले पनि बढ्दो प्रदुषण नियन्त्रणको लागि केही नगरिएको बताए। उनले अहिले आफुहरु सडक निर्माण कार्यमा केन्द्रित रहेको हुदाँ केही समयपछि प्रदुषण नियन्त्रणको लागि योजना ल्याउने बताए।

प्रदुषण नियन्त्रणका लागि कुनै योजना संचालनमा नरहेपनि सरसफाईमा ध्यान दिएको उनको भनाई छ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले तर आफुहरुको खोज–अनुसन्धानलाई प्रदेश सरकारले सकारात्मक रुपमा लिदै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको बताइन्। समाजिक विकास मन्त्री सुर्दशन बलालसगँ आफ्नो टोलीले छलफल गर्दा उनले प्रदुषण नियन्त्रणमा प्रदेश सरकारले सघाउनुका साथै थप अन्य जिल्लामा पनि मापन यन्त्र जडान गरेर अनुसन्धानका लागि सहकार्य गरेर अघि बढ्ने आग्रह गरेको बताइन्।

यो निकै संवेदनशील मुद्दा हो उनले भनिन् आर्थिक, समाजिक, मानवीय लगायत क्षति रोक्नलाई यसमा हामी सबै जिम्मेवार भएर अघि बढ्नुपर्ने अवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.