पोका तेलले विस्थापित हुँदै तोरीखेती
बाजुरा : यतिबेला तोरी फूलेर पहेलै हुने बाजुराका खेतबारी यतिखेर गहुँ जौंले हरियाली छन्। पछिल्लो समयमा बजारमा सहजै पोका र बोतलमा तेल उपलब्ध हुने भएपछि किसानले तोरी खेती गर्न छोडेका हुन्।प्रत्येक गाउँमा तोरी पेल्नका लागि बनाइएका कोल समेत हराउँदै गएका छन्।
पहिले गाउँघरमा प्रत्येकका बारीमा तोरीको खेती गर्ने र कोलमा पेलेर तेल निकाल्ने चलन थियो।गाउँघरमा प्लाष्टिकको पोकामा विभिन्न कम्पनीका तेल भित्रिन थालेपछि पौष्टिकयुक्त तोरीको तेल विरलै पाइने गरेको छ।
बजारमा सजिलैसँग पोकाको तेल खरिद गर्न पाइने भएपछि खर्चिलो समय, तोरी पेल्न अप्ठ्यारो हुने झन्झटले तोरी खेती हराउँदै गएको किसान बताउँछन्। किसानलाई मिसावटयुक्त तेलबाट स्वास्थ्यमा हुने वेफाइदा बारेमा भने जानकारी छैन। जानकारी भएकाले समेत तोरी लगाउन छाडिसकेका छन्।
पहिले गाउँघरमा तोरी खेती गरेर उत्पादित दानाको अचार बनाइने, पीनाले कपडा र टाउको धुने गरिन्थ्यो। तोरीबाट तेल निकाल्न झन्झटिलो हुने भएकाले आफूले तोरी खेती गर्न छोडेको बडिमालिका नगरपाकिला-१ सल्लेनाकी ७० वर्षीया काली कार्कीले बताइन्।'पैला हाम्रा दिनमी पोकाको तेल भन्या देख्नु त परजाओस् नाम समेत सुन्याका छियाउनौ। केही त्यार आया पछि गाउँका महिला दिदी बहिनी र पुरुष मिलेर कोल पेलेर त्यार बनाउँदा छियौ,' कार्कीले स्थानीय भाषामा अन्नपूर्ण पोस्ट्लाई बताइन्।'
'पहिले अन्य तेल पाइँदैनथ्यो। तोरी खेतिबाट आफूलाई चाहिनेजति तेल निकालिन्थ्यो।पोका तेलले अहिलेका किसानलाई अल्छि बनाएको कार्कीले बताइन्।हाल गाउँघरमा फाट्टफुट् मात्र तोरी खेती गर्ने गरेको जिल्ला कृर्षि ज्ञान केन्द्रले जानकारी दिएको छ।जिल्लाको अधिकांश ठाउँ तोरी खेतीका लागि उपयुक्त भएपनि पछिल्लो समय तोरी लगाउन छोडिएको छ।
बजारमा पाइने तोरीको तेल (उत्सव,सूर्यमुखी, धारालगायत हरेक प्रकारका तेलहरु) घर नजिको पसलबाट किन्न पाइने भएपछि तोरी लगाउन छोडेको बुढापाकाहरु बताउँछन्।तोरी खेती कम भएसँगै जिल्लामा माहुरीको संख्या पनि घट्दै गएको किसान बताउँछन्।आफ्नै बारीमा उत्पादित तोरी खेतीको महत्व नबुझ्दा किसानले खेती छोडेका हुन्।त्यसैले किसानलाई तोरीको खेतिप्रति आकर्षित गर्न सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ।