दुई सय नेपाली विद्यार्थीलाई भारतले दियो स्वर्ण जयन्ती छात्रवृत्ति
काठमाडौँ : काठमाडौंस्थित भारतीय दूतावासले नेपालका विभिन्न विश्वविद्यालय र कलेजमा स्नातक तहका २०० जेहेन्दार नेपाली विद्यार्थीलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।
यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुले एमबीबीएस, बीडीएस, बीई, बीएससी, बीबीए र बीकमसहित ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् । यी विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग छन् ।
होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ती छात्रवृत्ति समारोहका प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरे ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिँदै व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सल्लाह दिदए । उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने उनले बताए ।
सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पुरा भएको अवसरमा यस प्रतिष्ठित स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो ।
यस छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो ।
सन् २०१२ यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २०० भएको छ । यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबीबीएस÷ बीडीएसका विद्यार्थीले पाँच वर्षसम्म प्रतिमहिना ४ हजार, बीईका विद्यार्थीले चार वर्षसम्म प्रतिमहिना ४हजार र अन्य स्नातक कोर्षका विद्यार्थीले तीन वर्षसम्म प्रतिमहिना तीन हजार प्राप्त गर्नेछन् । हालसम्म नेपालका ७७ जिल्लका २३५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरिसकिएको छ ।
नेपाल तथा भारतका विश्वविद्यालय तथा कलेजमा चिकित्सा, विज्ञान, पशु विज्ञान, औषधि विज्ञान, दन्त विज्ञान, कृषि, इन्जिनियरिङ्ग, कला, कमर्स, विज्ञान, कम्पुटर विज्ञान, नर्सिङ तथा अन्य विभिन्न विषयका अध्ययनका लागि भारत सरकारले कूल ३००० छात्रवृत्ति प्रदान गर्दछ ।
यी छात्रवृत्तिहरु नेपाल तथा नेपाली जनताको समग्र सामाजिक–आर्थिक विकासका निमित्त नेपालमा मानव स्रोतको विकासमा सहयोग पुर्याउन भारतको प्रयासको एक हिस्सा भएको बताइएको छ ।