सहायक वन अधिकृत साह ३० हजार घुससहित पक्राउ
धनगढी : कैलालीका सहायक वन अधिकृत ३० हजार घुससहित पक्राउ परेका छन्। बुधबार दिउँसो वन अधिकृत भरतप्रसाद साहलाई बिचौलिया मार्फत ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो।
उनलाई धनगढीको तारानगरमा रहेको सव डिभिजन वनकार्यालयको आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवथामा रंगे हात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख प्रेमसागर केसीले जानकारी दिए। ‘रोकिएको काठ सम्बन्धी मुद्धाको फाइल सहज बनाइदिन्छु भनेर घुस लिएको भेटियो', उनले भने, ‘त्यसपछि प्रहरी प्रशासन लगाएर पक्राउ गरेको हो।'
सुनसरीको इनरुवा नगरपालिका ३ का साहलाई थप अनुसन्धानको लागि अख्तियारको मुख्यालयमा पठाइने र घुस सम्बन्धी मुद्धा चलाइने जनाइएको छ।