राउतसँगको सहमतिबारे प्रधानमन्त्रीको टिप्पणी : 'सभागृहमा झलमल्ल भयो, धेरैले बुझेनन्
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठनबन्धनका संयोजक सीके राउतसँग भएको सहमति अप्रत्यासित भएकोले कतिपय मान्छेले नबुझेको टिप्पणी गरेका छन्। नेपाल टेलिभिजनको कार्यक्रम 'जनतासँग प्रधानमन्त्री' मा प्रधानमन्त्रीले राउतसँग भएको सहमतिलाई 'सकारात्मक र ठूलो उपलब्धी' का रुपमा अर्थ्याए।
'केहीले के सहमति भयो भन्ने बुझेका छैनन्, उनीहरूले बुझ्दै जानेछन्', प्रधानमन्त्रधीले भने, 'कस्तो भयो भने यो अप्रत्यासित रुपमा भयो, धेरैले बुझेनन्।' राउतसँगको सहमति मानिसहरूले नबुझेको विषयमा प्रधानमन्त्रीले अर्को एउटा कथा सुनाए।
'पहाडमा हजुरबा उमेरको मान्छे हुनुहुन्थ्यो। भारतीय सेनामा जागिर खाएर आउनुभएको थियो। उहाँले एउटा लामो बस्तु ल्याउनुभएको थियो। उहाँले कसैलाई देखाउनुभएन। एकैचोटी बिहेमा गएको बेला अँध्यारोमा देखाउनुभयो। त्यो बल्यो। त्यो बलेपछि सबै दंग परे। त्यहाँ जान्ने बुझ्नेहरू आए। ज्योतिषहरूले पनि हेरे। कतिले उल्कापात भयो भने, अचम्म भयो भने। जब उहाँले यो टर्च लाइट हो, यसमा ब्याट्री हालेको हुन्छ। त्यहाँ आएका मान्छे बिहेको तामझाम भन्दा पनि टर्चमा झुम्मिए।'
कथामा जस्तै सभागृहमा पनि त्यस्तै भएको प्रधानमन्त्रीको टिप्पणी छ। 'सभागृहमा झलमल्ल भयो। मानिसहरू ज्योतिष हेराउन थाले', प्रधानमन्त्रीले भने, 'पृथकतावादका बारेमा कार्यपत्र प्रस्तुत गरेर गरेर जीविका चलाउनेहरूलाई रुचेको छैन।'
कतिपयले राउतसँग भएको सहमतिलाई राष्ट्रघात भनेको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्रीले नेपालमा गम्भीर समस्याका रुपमा रहेको पृथकतावादी माग अवतरण हुँदा राष्ट्रघात भन्नेलाई लोकतन्त्र सम्बन्धी सामान्य ज्ञान पनि नभएको बताए।'राउतले जनताको अभिमतअनुसार चल्छौँ भने। यसलाई राष्ट्रघात देख्नेको पेटमा राम्रै लात हानिएको हुनुपर्छ', प्रधानमन्त्रीले भने, 'कसैको जीविकामा, आयआम्दानी र रोजगारीमा धक्का पर्न गएको भए म के भन्न सक्छु र !' राउतसँग भएको ११ बुँदे सहमतिलाई राष्ट्रघात देख्नु बहस गर्ने स्तरकै कुरा नभएको टिप्पणी छ।
प्रधानमन्त्रीले राउतको माग जनमतसंग्रह गरियोस् भन्ने नै रहेको खुलाए। 'उहाँहरूको माग जनमतसंग्रह नै भन्ने थियो। हामीले जनमत संग्रह भनेको जनताको अभिमत नै हो भनेका थियौँ', उनले भने, 'अहिलेको अवस्थामा जनअभिमत भनेको मूलधारको राजनीति नै हो। उहाँहरूले यसलाई स्वीकारेर आएका छौँ भन्नुभएको छ र यही अनुसार गतिविधि गर्दछौँ भन्नुभएको छ।'
राउतसँगको सहमतिले सरकार फसेको टिप्पणीबारे प्रधानमन्त्रीले भने- 'फसेको कहाँनेर हो ? बरु मुलुकलाई फसाउन खोज्नेहरूले आफ्नो असफलताबाट झट्का महसुस गरेजस्तो लाग्छ।'
सरकारले अदालतलाई समेत प्रभावमा पारेर राउतलाई जेलबाट निकालेर सहमति गरेको आरोपको प्रधामन्त्रीले खण्डन गरे।
'उनी कतिपटक गिरफ्तारीमा परे र कतिपटक छुटे ? त्यतिखेर प्रभावमा पारेको नदेख्ने तर अहिले छोड्दा किन प्रश्न ?', प्रधानमन्त्रीको प्रश्न थियो, 'हिजोका कतिपय कुरामा अदालतको विश्वास धरमारायो। त्यो अदालतको विषय हो। तर आज हामी अदालतको फैसलामा सहमति वा असहमति जनाउन सक्छौँ तर आरोप लगाउन सकदैनौँ।'
राउतले जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चबाट सफाई पाएको र यो नागरिकको कानुनी अधिकार भएको प्रधानमन्त्रीको भनाई छ।
राउत जेलबाट छुटेपछि राजनीतिक सम्वादलाई निष्कर्षमा पुर्याइएको प्रधानमन्त्रीले बताए।
राउतसँगको सहमतिबाट सरकारका हरेक कदमको विरोध गर्नेहरू दुखित भएको प्रधानमन्त्रीको भनाई छ। 'लगातार सरकारका हरेक कदमको आलोचना र निन्दा गर्न अभ्यस्तहरूले यसको पनि विरोध गरेका छन्' प्रधानमन्त्रीले भने, 'विरोध भन्दा पनि स्वार्थ चिच्याइरहेका छन्।'
पार्टीभित्रैबाट सहमतिको आलोचना भइरहेको सन्दर्भमा प्रधानमन्त्रीको टिप्पणी छ- 'छलफलका नाममा बिथोल्न खोज्नेहरू पनि तिल्मिलाएका छन्। पार्टीभित्र छलफल भएन भन्नेहरू यो सहमति बिथोल्न चाहन्थे।'