महिला दुर्व्यवहार आरोपमा उपमेयरका श्रीमान् पक्राउ
निजगढ : महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले निजगढबाट सिम्रौनगढ नगरपालिकाका उपमेयरका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
फोनमार्फत आफूलाई अपशब्द प्रयोग गर्दै शारीरिक सम्पर्कका लागि बोलाएको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीले सिम्रौनगढ नगरपालिका–७ खजानीका २९ वर्षीय जयन्त कुशवाहालाई नियन्त्रणमा लिएको हो ।
कुशवाहा सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाका श्रीमान् हुन् । गुरुङलाई तिनै महिलासँग निजगढस्थित होटल गुरुङमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीले जानकारी दिए ।
फोनमार्फत कुशवाहाले दुर्व्यवहार गरेको भन्दै महिलाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएकी थिइन् । कुशवाहाले फोनबाट अपशब्द प्रयोग गर्दै शारीरिक सम्पर्कका लागि बोलाएपछि सूचना दिएर महिलाले निजगढस्थित होटलमा भेट्ने योजना बनाएको प्रहरीको भनाई छ । पक्राउ परेका कुशवाहालाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी नायव निरीक्षक चौधरीले जानकारी दिए ।
कुशवाहा सिम्रौनगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । उनी प्रदेश २ का सभामुख सरोज यादवको स्वकीय सचिवमासमेत नियुक्त छन् । स्वकीय सचिवमा नियुक्त भए पनि कुशवाहा श्रीमती रिनालाई नगरपालिकाको काममा सघाउँदै आएका छन् ।