उत्तर कोरियाबारे अमेरिका–दक्षिण कोरिया वार्ता
योनहाप सोल : दक्षिण कोरियाका एक उच्च अधिकारी उत्तर कोरियाका बारेमा ‘कार्य समूह’को बैठकका लागि बुधबार अमेरिका प्रस्थान गरेका छन्। कोरियाली विदेश मन्त्रालयका कोरिया शान्ति कार्यसम्बन्धी महानिर्देशक रिही दोङ योलले उत्तर कोरियाका लागि अमेरिकी उपसहायक मन्त्री अलेक्स वोङसँग वासिङटन डिसीमा बिहीबार भेटवार्ता गर्नेछन्। भेटवार्तामा दुबै मुलुकका उत्तर कोरिया मामिलासँग सम्बन्धित अधिकारी पनि सहभागी हुँदै छन्।
गत महिनाको अन्त्यमा सम्पन्न हनोई वार्ता विफल भएपछि उत्तर कोरिया मामिलामा दक्षिण कोरिया र अमेरिकाका अधिकारीबीच पहिलो प्रत्यक्ष भेटवार्ता हुन लागेको हो। बैठकको मुख्य कार्यसूची उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियालाई कसरी पुनर्जीवित तुल्याउने भन्ने रहेको छ। साथै, उत्तर कोरियामाथि रहेका प्रतिबन्धहरूमा केही राहत दिने दक्षिण कोरियाको प्रस्तावमाथि पनि विचार विमर्श हुँदै छ। बैठकमा कोरियाली युद्धबाट अलग्गिएका उत्तर र दक्षिण कोरियाका परिवारबीच भिडियोमार्फत कुराकानी गराउने कार्यक्रममाथि पनि छलफल हुनेछ।
बैठकमा अन्तर–कोरियाली आर्थिक सहयोगका कार्यक्रम अघि बढाउने, उत्तर कोरियास्थित काइसोङ औद्योगिक क्षेत्र पुनः सञ्चालन गर्ने तथा माउन्ट कुमगाङ पर्यटन कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गर्ने योजना छ।
भियतनामको हनोईमा सम्पन्न उत्तर कोरियाली नेता किम जोङ–उनले योङबीन आणविक केन्द्र बन्द गर्ने तर त्यसबापत आफ्नो देशमाथिका प्रतिबन्ध फुकुवा गर्नुपर्ने भनी प्रस्ताव राखेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गरेका थिए। दक्षिण कोरियाले संयुक्त राष्ट्रसंघको अगुवाइमा उत्तरमाथि लागेका प्रतिबन्धलाई सम्मान गरी उत्तर कोरियालाई सीमित आर्थिक सहयोग गर्नेमा जोड दिँदै आएको छ।
नयाँ प्रतिवेदनअनुसार प्रतिबन्धको अनुगमन गरिरहेका राष्ट्रसंघका विज्ञहरूको एक प्यानलले उत्तर कोरियाको सरकारले गैरकानुनी विधिमार्फत विश्वका कतिपय वित्तीय फर्मसँग पहुँच कायमै राखेको बताएका छन्। यसका साथै पेट्रोलियम पदार्थ र कोइलाको अवैध व्यापार पनि जारी राखेको आरोप लगाएका छन्। अमेरिकाले सुरक्षा परिषद्का प्रतिबन्धहरूलाई सबै देशले पूर्ण पालना गर्नुपर्ने बताउँदै आएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर र अमेरिकाबीच मध्यस्थता गराउन प्रयास गरिरहेका छन्।