पर्यटक तान्दै कुपिण्डे ताल

पर्यटक तान्दै कुपिण्डे ताल

सल्यान : ‘सानो दह होला भन्ने सोचेको थिएँ, यति ठूलो र यस्तो सुन्दर होला भन्ने कल्पना गरेकै थिइनँ', सल्यानको कुपिण्डे तालमा पुगेपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने,‘कुपिण्डे ताल त दोस्रो रारा नै रहेछ, हामीले अब यसको संरक्षण र विकासमा ध्यान दिनेछौं।’कर्णाली पर्यटनको खानी भएको भन्दै मुख्यमन्त्री शाहीले कुपिण्डे तालमा पर्यटकलाई थप आकर्षित गर्न पूर्वाधारमा लगानी गर्ने घोषणासमेत गरे।
    
कर्णालीमा प्रदेश सरकारले यो वर्षलार्ई कर्णाली–रारा पर्यटन वर्षको रुपमा मनाइरहेको छ। सोहीक्रममा मुख्यमन्त्रीसहितको टोली कुपिण्डे तालमै पुगेर पर्यटक भित्र्याउनका लागि चाहिने आवश्यक पूर्वाधारको बारेमा अनुगमन गरेको हो। हालसम्म ओझेलमा परेको कुपिण्डे तालले पछिल्ला दिनमा पर्यटकलाई लोभ्याउन थालेको छ। आवश्यक प्रचार र तालसम्म पुग्ने मोटर बाटोमा सुधार भएपछि हिजोआज तालको अवलोकन गर्न पुग्ने पर्यटकहरुको संख्या बढेको हो। तालमा डुंगा संचालन र प्रचारप्रसार भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड बढेको हो।    

    
यो ताल चारैतिरबाट पहाडले घेरिएको छ। जंगलको बीचमा आकाश जस्तै निलो देखिने भएकाले पनि यसलाई अवलोकन गर्न पुग्ने पर्यटकले दोस्रो राराको उपमा दिन थालेका छन्। ताल रहेको स्थानबाट चाखुरे र सिस्ने हिमालकोसमेत अवलोकन गर्न सकिने भएकाले पनि यहाँ पुग्ने पर्यटकहरुको संख्या बढेको हो। पानी बाहिरिने कुनै मार्ग नभएको र पानीको मुल पनि नदेखिने यो तालको सुन्दरताले पर्यटकहरुलाई तान्न थालेको हो। पर्यटकहरु घुम्न आउनेक्रम बढेपछि अहिले तालमा व्यवस्थित रुपमा डुंगा संचालन गरिएका छन्। 

तालको वरपरको जंगलमा वन्यजन्तुको अवलोकन गर्न पाइने र वनभोजका लागि उपयुक्त स्थान भएकाले पनि पर्यटक आकर्षित भएको ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले बताए।

तालको छेउमा बराह देवताको मन्दिर छ। यहाँ पूजा गर्दा सन्तान प्राप्त हुने जन विश्वासका कारण पनि टाढाबाट पर्यटकहरु आउने गरेको उनको भनाइ छ। वडाअध्यक्ष कुलबहादुर पुरीले भने,‘हिजोआज पर्यटकको संख्या बढ्दो छ, ताल हेर्न र वनभोज खानका लागि मान्छेहरु यहाँ आउने गर्दछन्। यसले यहाँको आयआर्जन पनि बढेको छ, अब हामीले यहाँको पूर्वाधार विकासमा प्राथमिकता दिएका छौं।’ यो तालले कर्णाली प्रदेशकै पहिचान दिएको भन्दै तालको संरक्षण र पर्वद्धनका लागि प्रदेश सरकारले लगानी गर्नुपर्ने स्थानीयको माग छ। गर्मी र जाडो मौसममा तालमा पानीको रंग नै परिवर्तन हुने गर्दछ। प्रचारको कमीले अपेक्षाअनुसार विदेशी पर्यटक भित्राउन नसकिएको भन्दै स्थानीयले प्रचारप्रसार भए विदेशी पर्यटकलाई पनि भित्राउन सकिने जनाए। 
    
सल्यानबाट निर्वाचित प्रदेश सांसद गुलावजंग शाह भन्छन्,‘ताल हेर्न आउने पर्यटकको कमी छैन, बरु अब यसक्षेत्रमा होटल र अन्य सुविधाहरुको व्यवस्थापन गरौं। प्रदेश सरकारले यसमा ध्यान देओस्, यसो भएमा पर्यटकको संख्या बढ्ने र यहाँको आर्थिक विकासमा पनि ठूलो टेवा पुग्नेछ।’ यो तालको क्षेत्रफल र गहिराइको बारेमा हालसम्म आधिकारीक तथ्याकं छैन। तर संरक्षण समितिकाअनुसार तालको लम्बाई करिव दुइ किलोमिटर, चौडाइ दुइसय ५० मिटर र गहिराइ ३४ मिटर छ। 

प्रदेश सरकारले लगानी गर्ने

पर्यटकको आर्कषण बढेसँगै कुपिण्डे तालको संरक्षण र आवश्यक भौतिक पूर्वाधारको विकासमा कर्णाली प्रदेश सरकारले लगानी गर्ने भएको छ। प्रदेश समृद्धिको मुख्य सम्भावना पर्यटन क्षेत्र नै रहेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुपिण्डे तालको संरक्षण र पूर्वाधार विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता जनाए।
    
उनले ताल क्षेत्रमा सुरक्षाका लागि प्रहरी चौकी, बिजुली र सडकलाई कालोपत्रे गर्न सरकारले बजेट उपलब्ध गराउने घोषणा गरे। तालमा पर्यटकलाई आर्कषित गर्नका लागि अब सुविधायुक्त डुंगाको व्यवस्थापन गरिने उनको भनाइ छ। यस्तै प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने,‘ तालको वरिपरी पदमार्ग निर्माण गर्नेछौं, तालको बीचमा झोलुङे पुल बनाउने योजना पनि छ। नजिकै होमस्टे संचालनको तयारी भइरहेको छ, यसका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको छ।’ 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.