देशभर बन्दको असर के छ ?
काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ। कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परेपनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन्।सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बिहीबार बन्दको आह्वान गरेको हो।
देशभर बन्दको प्रभावले जनजीवन प्रभावित भएको छ।कतै आगजनीका घटना भएका छन् भने कतै बम फेला परेका छन्। प्रायजसो जिल्लाका शैक्षिक संस्था बन्द छन्।
विप्लवको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको हाम्रा समाचारदाताहरुले जनाएका छन्। बन्दले म्याग्दीमा सामान्य प्रभाव परेको छ। त्यहाँबाट हाम्रा समाचारदाता सन्तोष गौतमले बन्दले जिल्लाको जनजीवन सामान्य प्रभावित भएको जनाएका छन्।
बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन चलेका छैनन्।सदरमुकाम बेनी र ग्रामीण क्षेत्रका पसलहरु पनि आंशिक रुपमा मात्र खुलेका छन्।
यस्तै, दाङमा पनि बन्दको प्रभाव परेको छ। विप्लवको बन्दका कारण दाङसहित पश्चिम नेपाल प्रभावित भएको त्यहाँबाट हाम्रा समाचारदाता गोपाल शर्माले जानकारी दिएका छन्। बन्दकै कारण जनजीवन प्रभावित बनेको छ।
बन्दका कारण, शैक्षिक संस्था, उद्योग कलकारखाना, व्यापार, व्यवसाय यातायात पूर्णरुपमा बन्द छन्। लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन संचालनमा नआउँदा सर्वसाधन समस्यामा परेका छन्।भने गन्तव्यमा हिँडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन्।
सडकमा विप्लव कार्यकर्ता नदेखिए पनि सुरक्षा निकायले बन्दसँगै उच्च सर्तकता अपनाएको हो।जिल्लाको तुलसीपुर, घोराही, लमही भालुबाङ बजारसँगै पूर्वपश्चिम राजमार्ग र राप्ती राजमार्ग पूर्ण रुपमा ठप्प छ। दाङका विभिन्न सडक, चोकमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ। राप्तीका पहाडी जिल्ला सल्यान, रोल्पा, रुकुम, र प्युठानमा पनि बन्दको प्रभाव परेको छ।बन्दका कारण त्यहाँको जनजीवन प्रभावित बनेको सुरक्षा निकायले जनाएका छ।
बन्दको कारण सुनसान चारनम्बर जीतपुर बजार । तस्बिर : दीपक आचार्य
यस्तै, कपिलवस्तुमा पनि बन्दको सामान्य प्रभाव देखिएको छ। बन्दले शैक्षिक संस्था प्रभावित भएको हाम्रा कपिलवस्तुका समाचारदाता दीपक आचार्यले जनाएका छन्। बन्दले गर्दा बिहीबार हुने परीक्षा चैत्र ६ गतेलाई सारिएको छ । जिल्लाका नीजि विद्यालय पनि बन्द छन्।
बन्दको कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन चलेका छैनन् भने बजार,उद्योगधन्दा, कलकारखाना बन्द छन्।बन्दकर्ता सडकमा नदेखिए पनि जिल्लामा बन्दको प्रभाव परेको छ।
जिल्लाको उत्तरी क्षेत्र चन्द्रौटा, इमिलिया, गोरुसिंगे, चारनम्बर, बोडगाउँ लगायतका बजारमा बन्दको प्रभाव परेपनि दक्षिणी क्षेत्र सदरमुकाम तौलिहवा, महाराजगञ्ज, बहादुरगञ्ज, कृष्णनगरलगायतका क्षेत्रमा बन्दको प्रभाव कम परेको छ।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बन्दको बेला हुनसक्ने आपराधिक गतिविधि रोक्न व्यापक प्रहरी परिचालन गरिएको जनाएको छ। अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ।
यस्तै बन्दको प्रभाव रामेछापमा पनि सामान्य देखिएको छ। रामेछापबाट हाम्रा समाचारदाता विफा घिसिङका अनुसार जिल्लामा बन्दको असर न्यून रहेको छ। जिल्लामा सार्वजनिक सवारी साधन र पसल नियमितरुपमा संचालनमा आएका छन्। जिल्लाका सरकारी विद्यालय खुलेका भएपनि नीजि विद्यालयले भने पठनपाठन बन्द गराएका छन्। उनले जिल्लामा स्कर्टिङ गरेर भए पनि सार्वजनिक सवारी साधन चल्ने व्यवस्था मिलाइएको बताएका छन्।
बन्दमा सुनसान गुलरियास्थित राधाकृष्ण चोक। तस्बिर : यादव आचार्य
बन्दले बर्दियाको जनजीवन पनि पूर्ण प्रभावित बनेको छ। बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्।व्यापार, कलकारखाना, विद्यालयलगायत यातायातका साधन ठप्प भएको हाम्रा समाचारदाता यादव आचार्यले जनाएका छन्।
बन्दका कारण हजारौं विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित भएका छन्। बर्दियाको गेरुवा गाउँपालिका अन्र्तगत पालिका स्तरीय कक्षा ८ को आजदेखि सुरु गरिने भनिएको अंग्रेजी विषयको वार्षिक परीक्षा बन्दका कारण स्थगित भएको छ। बर्दियाका ८ वटै स्थानियतह अन्र्तगत गुलरिया, मैनापोखर, बाँसगढी, जयनगर, भुरिगाउँ, मधुवन, राजापुरलगायत शान्तिबजारहरु पूर्ण रुपमा बन्दछन्।
काठमाडौंदेखि आएको रात्रीकालिन बसलाई प्रहरीको स्कटिङबाट गन्तव्यमा पुर्याएका छन्। बर्दियामा कुनै अप्रिय गतिविधि नभएको प्रहरीले जनाएको छ। अनुसन्धान सहितको नेपाल प्रहरी, सेना शसस्त्र लगायत तिनै किसिमका सुरक्षाकर्मी परिचालित भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताएका छन्।सडकमा बन्दकर्ताहरु नदेखिए पनि बन्दको प्रभाव कडा परेको छ।
यस्तै रोल्पामा पनि बन्दको बिहानैदेखि प्रभाव परेको छ। रोल्पाका बजार, यातायात, शिक्षण संस्था बिहानैदेखि खुलेका छैनन् । बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको हाम्रा समाचारदाता खेमबहादुर मगरले जनाएका छन्।
बन्दले सुनसान बनेको रोल्पाको सदरमुकाम लिबाङ।तस्बिर : खेमबहादुर बुढा
सदरमुकाम लिबाङ पनि सुनसान छ। सदरमुकाम बाहेक गाउँका बजार पनि खुलेका छैनन्। लामो र छोटो दूरीका कुनैपनि सवारी साधन चल्न सकेका छैनन्। जिल्ला भित्रने लामो दूरीका रात्री बस खुंग्रीमा अलपत्र छन्।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खडकाले सीमा क्षेत्रमा अलपत्र परेका गाडीलाई इस्कटिङ गरेर सदरमुकाम ल्याउने व्यवस्था मिलाइएको छ।
बन्दमा कुनै घटना हुन नदिन सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीले जनाएको छ। सर्वसाधारणमा भने त्रास फैलिएको छ। बन्दकर्ता सडकमा नदेखिए पनि बजार सुनसान छन्। वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थी मर्कामा परेका छन्। बन्दको अघिल्लो राती नेकपाका नेता कार्यकर्ताले जिल्लाका ठाउँ ठाउँमा मशाल जुलुश निकालेका थिए।