एक नम्बरमा आफूलाई मार्न विप्लवले टोली खटाएको प्रचण्डको खुलासा

एक नम्बरमा आफूलाई मार्न विप्लवले टोली खटाएको प्रचण्डको खुलासा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूहले आफूलाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा योङ कम्युनिस्ट लिगले गरेको कार्यक्रममा विप्लवले एक नम्बरमा आफूलाई टार्गेट गरेको खुलासा गरेका हुन्।

सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रचण्डले प्रश्न गरे- मलाई मारेर यो परिवर्तन बाँच्ने हो त ?

जनयुद्धको निर्माता, योजनाकर्ता र कमान्डर तथा शान्तिप्रक्रियाको पनि नेतृत्वकर्ता भएको नाताले आफूलाई शान्तिप्रक्रिया सम्पन्न गर्न अन्तिमसम्म लड्नुको विकल्प  नभएको उनले सुनाए। 'मलाई छुट छैन, अरुलाई छुट होला', प्रचण्डले भने।

प्रचण्डले आफ्नो कार्यालयमा सचिव भएका एकजनालाई हवाला दिँदै 'एक नम्बरमा आफूलाई सिध्याउन विप्लवले माइन्युट गरेको' बताए। यसबारे सरकारको तर्फबाट पनि आफूलाई जानकारी भएको उनले बताए।

'पछिल्लो चरण मेरो कार्यालय सचिव भएर बसेकाले भन्नुभएको छ', प्रचण्डले भने, 'विप्लवहरूले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनु भएको छ रे।'

प्रचण्डले ५२ सालको नक्कल नगर्न विप्लवलाई चेतावनी दिए। 'ती साथीहरू सम्झिँदा दया माया लागेको छ। नक्कल गरेर पास भइन्न', उनले भने, 'महेन्द्रको नक्कल गर्न खोज्दा ज्ञानेन्द्र असफल भए। मैले ऊ बेलै कलाविहीन नौटंकी हुन्छ भनेको थिएँ, सत्य भयो।'

प्रचण्ड बन्न सजिलो छैन

परिस्थिति नहेरी गरिने काम असफल हुने भन्दै प्रचण्डले ७५ सालमा ५२ सालको नक्कल नगर्न चेतावनी दिए।  

'अहिले पनि साथीहरूले जे गर्न खोजेका छन्। यो ५२ साल होइन। अहिले राजतन्त्र पनि छैन', उनले भने, 'संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार छ। सँगै लडेका साथीहरू सरकारमा छन्। परिस्थिति हेर्नु पर्दैन ?'

अर्को प्रचण्ड बन्छु भनेको आफूले सुनेको बताउँदै उनले प्रचण्ड बन्न सजिलो नभएको बताए। 'सजिलो छैन प्रचण्ड बन्न पनि। कसैले चाहेर प्रचण्ड भइहाल्ने होइन', उनले भने, 'म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइनँ। जनताको काम गर्दागर्दै जनताले प्रचण्ड बनाए।'

एकैसमयमा दुईवटा प्रचण्ड बन्नै नसक्ने भन्दै उनले विप्लवलाई नयाँ बाटो खोज्न सुझाव दिए। 'केही गर्नु छ भने नयाँ बाटो खोज्नुस्', उनले भने, 'प्रचण्डको नक्कल गरेर अर्को प्रचण्ड बन्छु भन्नु भ्रममात्र हो। त्यो भ्रमले कहीँ पुगिँदैन। दुर्भाग्यपूर्ण परिणाममा पुग्छ।'

प्रचण्डले गम्भीर भएर सोचेरमात्र काम गर्न विप्लवलाई सुझाव दिए। 'मेरो सुझाव छ अहिले पनि- एकचोटी निधार खुम्च्याएर सोच्नुस्। यो ५२ साल होइन, ७५ साल हो', उनले भने, 'हाम्रै कारण राजनीतिक परिवर्तन आएको छ। विचार गर्न आग्रह गर्छु।

माओवादी आन्दोलनको भूमिका नस्वीकारे देश भुमरीमा

प्रचण्डले राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनको भूमिका नस्वीकारे देश अर्को भूमरीमा फस्ने चेतावनी दिए।  कतिपय मानिसलाई माओवादी आन्दोलन स्वीकार गर्न अझै गाह्रो भएको टिप्पणी गरे।

'एकथरी मान्छेलाई अहिले पनि परिवर्तनको मुख्य कारक माओवादी आन्दोलन हो भन्ने कुरा स्वीकार्न मन छैन', प्रचण्डले भने, 'संघीय लोकतान्‍त्रिक गणतन्त्रलाई कमजोर पार्न चाहने प्रवृत्तिका मानिस हाम्रो आन्दोलनलाई मान्न तयार छैनन्।'

इतिहासको अवमूल्यन गरिएमा अहिले मुलुकमा आएको परिवर्तन संस्थागत गर्न गाह्रो हुने उनले सुनाए। 'संविधान र परिवर्तन संस्थागत गर्दा इतिहासको अवमूल्यन गर्ने वा स्थापित गर्न कञ्जुस्याईँ गर्ने काम भयो भने वा कुनै  पूर्वाग्रह राख्यौँ भने परिवर्तन संस्थागत हुन गाह्रो पर्छ', उनले भने, 'देश नै अर्को भूमरिमा पर्ने खतरामा हुन्छ।'

देशमा अर्को राजनीतिक दुर्घटना र अराजकता नहोस् भन्नका लागि आग्रहपूर्वाहग्रह त्याग्नुपर्ने उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.