पूर्व राजा ज्ञानेन्द्र मलंगवामा
मलंगवा : पूर्व राजा ज्ञानेन्द्र शाहले बिहीबार दिउँसो मलंगवा ८ स्थित दुर्गा भगवती मन्दिरमा पूजापाठ गरेका छन् ।
दिउँसो ४ बजे सर्लाही सदरमुकाम मलंगवा आएका पूर्व राजा शाहले दुर्गा भगवती मन्दिरमा १० मिनेट पूजापाठ गरेका थिए । पूजापाठ गरिसकेपछि मलंगवा जिल्ला विकास चोकमा रहेको जानकी पार्टी प्यालेसमा केही बेर विश्राम गरी आफ्ना शुभेक्षुकसँग भेटघाट गरी साढे पाँच बजे जनकपुरतर्फ लागेका छन् ।
पूर्व राजा शाहलाई राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद्, शिवसेना नेपाल तथा स्थानीयले स्वागत गरेका थिए । शाहलाई हेर्नका लागि आएका सर्वसधारणको भीडले एकछिन मन्दिर वरिपरी तनावको अवस्था सृजना भएको थियो ।
मन्दिरमा शाह आउने बित्तिकै उनका समर्थकले 'राजा आउ देश बचाउ', 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ' जस्ता नाराहरु लगाएका थिए । पार्टी प्यालेशमा पूर्वराजा शाहले जिल्लाका तीन नेतासंग मात्र भेटघाट गरेका थिए ।