चिकित्सकले जोगाए उपप्रधानमन्त्रीको टिमको इज्जत
भक्तपुर : दसौं प्रत्यारोपण खेलकुदअन्तर्गत भएको मैत्रीपूर्ण खेलकुदमा चिकित्सक तथा स्वास्थ्यकर्मीले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको इज्जत जोगाएका छन्।
विश्व मृगौला दिवसको अवसरमा बिहीबार भक्तपुरमा भएको अंग प्रत्यारोपित तथा अंगदाता र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीबीच मैत्रीपूर्ण फुटबल भएको थियो।
भक्तपुर नपा १ दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठान पुल्चोक ललितपुरको संयुक्त आयोजनामा भएको प्रत्यारोपण खेलकुदअन्तर्गतको फुटबलमा उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव नेतृत्वको टोली १–0 गोलले विजयी भएको थियो।
अघिल्लो संस्करणसम्म अंग प्रत्यारोपित तथा अंगदाताहरुले जित्दै आएको मैत्रीपूर्ण फुबटलमा यस वर्ष उपप्रधान एवं स्वास्थ्यमन्त्रीसहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले जीत हात पारेको हो।
‘यस वर्ष फुटबलमा जीत निकालेर हाम्रा चिकित्सक तथा स्वास्थ्यर्मीहरुले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको इज्जत जोगाइदिनुभयो’, भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘अघिल्लो वर्षसम्म स्वास्थ्यमन्त्री तथा चिकित्सकहरुको टोली पराजित हुँदै आएको थियो।’ उनले यस वर्ष मैत्रीपूर्ण फुटबल अत्यन्त प्रतिस्पर्धात्मक रुपमा भएको जानकारी दिए।
नीलो टी–सर्ट लगाएर मैदानभित्र छिरेका उपप्रधानमन्त्री यादवले बल हानेर मैत्रीपूर्ण फुटबलको उद्घाटन गरेका थिए। उद्घाटनसँगै उनी करिब पाँच मिनेट मैदानभित्रै बलको पछि-पछि दौडिए। उनको साथमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव पनि नीलै टीसर्ट लगाएर मैदान छिरेका थिए। उनी पनि स्वास्थ्यमन्त्री सँगसँगै मैदानबाट बाहिरिए।
प्रत्यारोपण खेलकुदअन्तर्गत अंग प्रत्यारोपित तथा अंगदाताहरुबीच व्याडमिन्टन र दौड प्रतियोगितासमेत भएको थियो।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको खेल मैदानमा भएको एकसय मिटर दौडमा पुरुष ४० केजीमाथितर्फ विष्णुलाल श्रेष्ठ र महिलामा गीता श्रेष्ठ पहिलो भएका छन्।
एकसय मिटर दौडमा पुरुषतर्फ प्रेमरत्न मानन्धर दोस्रो र धनबहादुर सिजापति तेस्रो भए। त्यस्तै महिलातर्फ तुलसा भट्टराई दोस्रो र सानुशोभा शाक्य तेस्रो भए। चार सय मिटर दौडमा पुरुषतर्फ पनि विष्णुलाल श्रेष्ठ, प्रेमरत्न शाक्य र धनबहादुर सिजापति क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। महिलातर्फ पनि गीता श्रेष्ठ, तुलसा भट्टराई र सानुशोभा शाक्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।
पुरुष ४० वर्षमुनिको दौडमा एकसय मिटरतर्फ लीलाकान्त चौधरी पहिलो, कविराज गैरे दोस्रो र निगम राई तेस्रो भए। चार सय मिटर दौडमा भने कविराज गैरे पहिलो, कृष्णबहादुर लामिछाने दोस्रो र लीलाकान्त चौधरी तेस्रो भए।
व्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ सूलोचना श्रेष्ठ पहिलो, गीता श्रेष्ठ दोस्रो र सपना श्रेष्ठ तेस्रो भए। ४० वर्षमाथि पुरुष एकलतर्फ प्रेमरत्न मानन्धर पहिलो, विष्णुलाल श्रेष्ठ दोस्रो र सदाशिव भण्डारी तेस्रो भए।
३० वर्षमुनि पुरुष एकलतर्फ उज्ज्वल दाहाल पहिलो, कविराज गैरे दोस्रो र राजकुमार लिम्बू तेस्रो भए। ३० देखि ४५ वर्ष पुरुष एकलमा भने लीलाकान्त चौधरी पहिलो, निगम राई दोस्रो र एकेन्द्र खड्का तेस्रो भए।
व्याडमिन्टन तथा दौड प्रतियोगिताका विजेताहरुलाई स्वास्थ्यमन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री डा. यादवले मेडल तथा प्रमाणपत्र वितरण गर्दै पुरस्कृत गरेका थिए।