गल्ती श्रीमानको, सजाय श्रीमतीलाई
अछाम : ‘गिट्टी बिक्री भएको दिन खान पाइन्छ नत्र भोकै बस्नुपर्छ, छोरीलाई जेतनेत गरेर खुवाइहाल्छु, कहिलेकाहीँ खालीपेटमै औषधि खानुपर्छ’ एचआइभी संक्रमित बिस्ना साउदको दुखेसो हो यो। उनको घर अछामको चौरपाटी गाउँपालिका–१ सिउडी हो। साँफेबगर नगरपालिकाको छिपेखोलामा गिट्टी कुटेर गुजारा चलाउनुको विकल्प छैन उनीसित।
आठ वर्षअघि एचआइभीका कारण श्रीमान्को मृत्यु भएपछि बिस्नाको बिचल्ली भएको छ। श्रीमान्को मृत्युपछि सासू–ससुराले उनलाई घरमा बस्न दिएनन्। श्रीमान् मर्नुको दोष बिस्नामाथि थुपार्दै डेढ वर्षकी छोरीसहित उनलाई घरबाट निकालिदिए। छोरीलाई काखमा च्यापेर बिस्ना छिपेखोलामा गिट्टी कुटेर जीविकोपार्जन गर्न थालिन्।
श्रीमान् नन्द साउद भारतको पञ्जावमा काम गर्थे। अधिकांश जीवन भारतमा बिताएका नन्दको एचआइभीका कारण ज्यान गएपछि उनीसँगै छोरीसमेत बेसहारा बनिन्। जब श्रीमान्को मृत्यु भयो त्यसपछि आफूलाई शंका लागेर स्वास्थ्य परीक्षण गराउँदा आफूमा समेत एचआईभी संक्रमण देखा परेको उनले सुनाइन्।
‘एचआइभी पोजेटिभ देखिएपछि झन् दुःख थपियो, बेला–बेला मरूँझंै लाग्थ्यो तर छोरीको लागि मर्न सकिनँ’, उनले भनिन्। छोरी भूमिका १० वर्षकी भइन्। उनी जनकल्याण मावि कक्षा ३ मा पढ्छिन्। उनलाई छोरीको पालनपोषण र पढाइ खर्च जुटाउन निकै सास्ती भएको छ।
बिरामी हुँदा उपचारका लागि खर्च जुटाउन नसक्दा धेरै दिन भोकै बसेको उनले सुनाइन्। साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी एचआइभी संक्रमित धर्मादेवी कुँवरको समस्या पनि उस्तै छ। उनका ३ सन्तान छन्। १ छोरा र २ छोरीको पालनपोषण र पढाइको जिम्मा धर्माको काँधमा छ। आयस्रोत केही छैन। उनलाई छोराछोरी पालनपोषण गर्न निकै सकस हुने गरेको छ। एचआइभी संक्रमित उनी रोगसँगै पारिवारिक बोझले झन् थलिएकी छन्।
एचआइभीका कारण १३ वर्षपहिले श्रीमानको मृत्यु भयो। उनका एक छोरा र छोरीसमेत एचआइभी संक्रमित छन्। अहिले तीनै जना एआरटी सेवन गरिरहेका छन्। समाजमा बाँच्नै गाह्रो भएको एचआइभी संक्रमित धर्माले बताइन्। ‘पहिले गैरसरकारी संस्थाहरूले त सहयोग गर्थे, अहिले स्थानीय सरकारले कुनै सहयोग गरेको छैन।’ दैनिक हातमुख जोर्नसमेत धौ–धौ भएको उनले बताइन्। ‘आफू त मरेर गए–गए रोग र दुःख हामीमाथि थुपारे। आफूले गर्दै नगरेको गल्तीको सजाय भोग्नुपरेको छ’, मरेका श्रीमान्लाई सराप्दै उनले भनिन्।
बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेवीकी सुन्तला भूल ३५ वर्षकी भइन्। उनले २९ वर्षको उमेरमा श्रीमान् गुमाइन्। भारतमा नोकरी गर्दै आएका उनका श्रीमानको पनि एचआइभी एड्सका कारण ६ वर्षपहिले मृत्यु भयो। सुन्तलाका एक छोरा, एक छोरी छन्। छोराछोरीको पालनपोषण र पढाइको चिन्ताले उनलाई पिरोलिरहन्छ। छोरी १० मा र छोरा कक्षा ६ मा पढ्छन्। ‘छोराछारीलाई जसोतसो पढाइरहेकी छु, सरकारी स्कुलले पनि कहिलेकाहीँ विभिन्न बहानामा पैसा लिने गरेका छन्, आयआर्जनको कुनै बाटो छैन’, सुन्तलाले भनिन्।
एचआइभीको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था वाक नेपालका अनुसार अछाममा एचआइभी संक्रमित महिलाको संख्या ५ सय ७८ छ। यसमध्ये तीन सय ८६ जना एचआइभी संक्रमित एकल महिला छन्।