दुई दशकदेखि च्याउ खेतीमा

दुई दशकदेखि च्याउ खेतीमा

दमक : मोरङ उर्लाबारी–७ का गोपाल बस्नेत चार वर्ष साउदी अरबको तातो घाममा मजदुरी गरे। उनले घरपरिवार छोडेर अर्काको देशमा चार वर्ष बिताए पनि खासै पैसा कमाउन सकेनन्। उनले त्यसपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने मनस्थिति बनाए। उनका दाजु देवेन्द्र बस्नेतले च्याउ खेती गरेर स्वदेशमै परिवारका साथ बसिरहेका थिए। दाजुसँग सल्लाह गरेर दुवैजनाले त्यसलाई निरन्तरता दिने सोच बनाए। त्यसपछि २०५५ सालमा एक हजार रुपैयाँको लगानी गरेर दाजुभाइ नै मिलेर च्याउ खेती सुरु गरे।

दुई दशकपछि अहिले बस्नेत दाजुभाइको नाम र दाम दुवै छ। २०५५ सालमा एक हजार रुपैयाँ लगानीबाट सुरु गरेको च्याउ खेती अहिले चार करोडको पुँजी छ। उनीहरूले च्याउ खेतीमा दुई दशक बिताइसकेका छन्। अहिले बस्नेत दाजुभाइले ५० जनालाई रोजगारी दिएका छन्। सबै खर्च कटाएर च्याउ उद्योगबाट मासिक तीन लाख रुपैयाँभन्दा बढी मुनाफा हुने देवेन्द्रले बताए। देबेन्द्रले भने, ‘स्वदेशमै ५०औं कामदारलाई रोजगारी दिएर मासिक ३–४ लाख कमाउन सकिन्छ। मेहनत गरे यहाँ नहुने केही छैन।’

अहिले बस्नेत दाजुभाइको आधुनिक च्याउ उद्योगले च्याउ उत्पादन, च्याउको बीउ उत्पादन, च्याउ विक्रीवितरण तथा व्यावसायिक च्याउ खेती गर्नेका लागि तालिमसमेत दिँदै आएको छ। च्याउ नै दैनिक रूपमा आठ सयदेखि एक हजार केजीसम्म विक्री गर्ने गरेको गोपालले जानकारी दिए। अहिले च्याउको होलसेल मूल्य प्रतिकेजी एक सय ४० रुपैयाँ छ भने खुद्रा मूल्य दुई सय रुपैयाँ छ। उनका अनुसार च्याउको बीउमात्रै दैनिक पाँच हजार प्याकेट विक्री भइरहेको छ। प्रतिप्याकेट ३५ रुपैयाँको दरले बीउ बिक्री भइरहेको छ। उनीहरूले उत्पादन गरेको च्याउ पूर्वका सबै जिल्लामा पुग्ने गरेको छ।

च्याउको बीउ भने प्रदेश १ भर जान्छ। उनीहरूले किसानले उत्पादन गरेका च्याउसमेत आफैं किनिदिँदै आएका छन्। भाइ गोपालले भने, ‘मागअनुसार च्याउ उत्पादन गर्न सकेका छैनौं। किसान दाजुभाइबाट संकलन गरी वितरण गर्दा पनि माग धान्न सकेका छैनौं।’ बस्नेतका अनुसार अहिले पूर्वका जिल्लामा दैनिक च्याउको माग पाँच हजार केजी छ। माग पूरा गर्न नसक्दा २० प्रतिशत च्याउ भारतबाट आउने गरेको देवेन्द्रले बताए। उत्पादन बढाउन सके भारतीय च्याउको बजार समाप्त हुने उनले दाबी गरे। बस्नेत दाजुभाइले च्याउ खेती गर्न ईच्छुक किसानलाई व्यावसायिक तालिम दिँदै आएका छन्। च्याउ खेतीको बजार राम्रो रहेको उनले बताए। आफ्नो च्याउ उद्योगले उत्पादन गरेजस्तो गुणस्तरीय र धेरै च्याउको बीउ अन्य उद्योगले उत्पादन गर्न नसकेको उनीहरूको दाबी छ।

खेतीको सुरुवातमा च्याउको ढुसी भुसुनाले खाइदिने समस्या भए पनि अहिले त्यस्तो समस्या नरहेको गोपालले बताए। सरकारले कृषकलाई अनुदान दिने कुरा कानुनमा भए पनि व्यवहारमा लागू नभएको देवेन्द्रले बताए। उनले भने, ‘जे जति गरेका छौं हाम्रो आफ्नै बलबुताले गरेका छौं। सरकारी अनुदान पाएका छैनौं।’ च्याउ खेतीका लागि हाइटेक टनेल, पास्चराइजेसन सिस्टम (पराल पकाउँदा च्याउलाई चाहिने मात्रा निर्धारण गर्ने) तथा उच्चस्तरीय प्रविधि राज्यले उपलब्ध गराउनुपर्ने उनको सुझाव छ। हाल आधुनिक च्याउ उद्योग आफैंले बनाएको ब्रोइलर मेसिनसमेत छ। आधुनिक च्याउ उद्योगले १४ कठ्ठामा च्याउ उत्पादन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.