आत्मनिर्भर बन्दै ग्रामीण महिला
बाजुरा : कुखुराको चल्ला बेच्नु परे श्रीमानसँग सोध्ने महिला पछिल्लो विभिन्न पेसा व्यवसाय गरेर आत्मनिर्भर बन्दै छन्। सामान्य गाउँकै पसल या नजिकैको बजारमा महिलाले गर्नु हुँदैन या पुरुषले मात्र गर्छन् भन्ने मान्यता बाजुरामा हिजोआज पनि सुन्न पाइन्छ। पछिल्ला दिनमा बाजुराका ग्रामीण महिलाले पुरुषको मात्र भर पर्नुभन्दा आर्थिक उपार्जनका काम गर्न थालेका छन्।
गौमुल गाउँपालिका–२ का धनबहादुर रोकायाले २०६० सालमा घरेलु तथा साना उद्योगमा लक्ष्मी अल्लो भांग्रो उद्योग दर्ता गराए। आफ्नो नाममा दर्ता गराएको उद्योगले निरन्तरता नपाएपछि श्रीमती भाना रोकायाको नाममा २०७१ सालमा नामसारी गराए। भानाले घरेलु तथा साना उद्योगबाट ४५ दिनको कपडा बुनाइसम्बन्धी तालिम लिने अवसर मिल्यो। त्यसपछि कपडा बुनाइको काम थालिन्। भानादेवीका तीन छोरी र एक छोरा छन्। जेठी छोरीले विहे गरिसकेकी छन्। छोरा ७ र दुई छोरी ५ र ३ कक्षामा मालिका नमुना माविमा पढ्छन्।
गाउँमा हुँदा साझ विहान के खाने भन्ने चिन्ता हुन्थ्यो सदरमुकाममै व्यवसाय सुरु गरेपछि राम्रै आम्दानी भइरहेको भानाले बताइन्। श्रीमान्ले पनि सिजनमा गाउँतिर जडीबुटीको व्यवसाय गर्छन्। उद्योग दर्तादेखि औजारहरू खरिद गर्दासम्म १५ लाखभन्दा बढी लगानी भएको धनबहादुर रोकायाले बताए। अहिले लोकल अल्लो भांग्रोका कोट, सट, पाइन्ट, झोला, जुत्ताजस्ता कपडा बुन्ने गरेका छन्। लोकल अल्लो भांग्रोको एक मिटर कपडालाई आठ सयदेखि एक हजार रुपैयाँसम्ममा विक्री भइरहेको भानाले बताइन्। लोकल भांग्रोको कपडा काठमाडौं, नेपालगञ्ज, धनगढीलगायत सहरमा विक्री हुने गरेको भानाले बताइन्।
त्यस्तै बडिमालिका–७ की सरस्वती पाध्यायले पनि आफ्नो श्रीमानसँग ठेलागाडा किनिदिन आग्रह गरिन्। श्रीमान्ले नचाहिँदो काम गरेको भनेर किन्न मानेनन्। छोराको उपचारमा उनी नेपालगञ्ज गइन् र आफैंले आठ हजार रुपैयाँमा ठेला गाडा किनेर ल्याइन्। हिजोआज उनी त्यो ठेलामा खाजा तयार पारेर व्यवसाय चलाउँदै आएकी छन्। उनको श्रीमान् नेपाली सेनामा छन्। यी त प्रतिनिधि पात्र मात्र हुन्। बाजुराका गाउँमा प्रायः जसो महिला पसल थापेर व्यवसाय गरी आत्मनिर्भर भएका छन्।