एकता प्रस्ताव तयार पार्न माधव नेपाल समेटिने
काठमाडौं : सत्तारुढ दल नेकपाले पार्टीको संगठनात्मक एकताको प्रस्ताव २ अध्यक्षका अतिरिक्त वरिष्ठ नेता माधव नेपाललाई पनि समेटेर तयार पार्ने भएको छ । एकता प्रस्ताव र पछिल्ला निर्णयमा पार्टीभित्र छलफलको वातावरण नबनेको भन्दै शीर्ष नेताहरूले नै असन्तुष्टि जनाउन थालेपछि अबका छलफलमा वरिष्ठ नेता नेपाललाई पनि समेटेर लैजाने सहमति बनेको छ ।
नेकपामा ३ जेठमा पार्टी एकता भए पनि अझै तल्लो कमिटीसम्म एकता भएको छैन । एकता प्रक्रिया लम्बिँदा पार्टी संरचना अस्तव्यस्त बनेको छ भने पार्टीका कामसमेत प्रभावित हुँदै आएका छन् । एकता टुंग्याउन नेकपाले पटक–पटक कार्यदल बनाए पनि सफल हुन नसकेपछि दुई अध्यक्ष ओली–दाहालले नै प्रस्ताव तयार पार्ने गरी सचिवालय बैठकबाट अधिकार लिएका थिए ।
असन्तुष्ट पक्षले यसमा चित्त नबुझाएपछि भने अब प्रस्ताव तयार पार्दा वरिष्ठ नेता नेपाललाई पनि छलफलमा सहभागी गराउन दुवै अध्यक्ष सहमत भएका छन् । बिहीबार असन्तुष्ट पक्षका नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतमसँग छलफलपछि यस्तो समझदारी बनेको हो ।
पूर्वएमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षको विवादले संगठनात्मक एकता प्रक्रिया अड्किएको थियो । पूर्वमाओवादी खेमामा भने विवाद नरहेकाले अध्यक्ष दाहालको निर्णय नै सर्वसम्मत जस्तै बन्दै आएको छ ।
प्रस्ताव तयार पार्दा वरिष्ठ नेता नेपाललाई पनि छलफलमा सहभागी गराउन दुवै अध्यक्ष सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको छलफलपछि नेताहरूले एकता छिटो टुंग्याउन काम अघि बढाउने बताएका छन् । संगठनात्मक एकता १० महिनासम्म पनि नभएपछि वरिष्ठ नेता नेपाल, खनाल, सचिवालय सदस्य गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् । असन्तुष्टहरूले तत्काल पार्टी बैठक बोलाई एकता र सीके राउतसँगको सम्झौता तथा विप्लव माओवादीमाथिको प्रतिबन्ध लगाउने निर्णयमा छलफल गर्न माग गदै आएका थिए । बैठक बोलाउन दबाब दिन बुधबार असन्तुष्ट नेताले अध्यक्ष दाहालसँग भेट गरेका थिए ।
त्यसपछि अध्यक्ष द्वयको छलफलले दुवै पूर्ववत् पार्टीका तर्फबाट ३÷३ नेतालाई छलफलमा बोलाउने सहमतिपछि अध्यक्षद्वयले बिहीबार बिहान नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए । छलफलमा वरिष्ठ नेता नेपालले दूरगामी महत्वका राष्ट्रिय एजेन्डामा निर्णय लिँदा पार्टीलाई पहिले प्राथमिकता राख्न र त्यसपछि मात्र निर्णय लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
विप्लवको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुअघि पार्टीमा छलफल गर्नु उपयुक्त भए पनि तत्काल निर्णय गरिहाल्नुपर्ने परिस्थिति सिर्जना भएको प्रधानमन्त्रीले बैठकमा नेताहरूसँग ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीको ब्रिफिङपछि निर्णयको सार स्वीकार गरेर जाने सहमति नेताहरूबीच बनेको सहभागी एक नेताले बताए ।