बारेकोटका महिलामा पाठेघर खस्ने समस्या बढ्दो
जाजरकोट : बारेकोटका धेरै महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। बारेकोट स्वास्थ्य तथा सरसफाई उपशाखाको आयोजनामा भएको अब्टेट्रिक फिस्टुला र पाठेघर खस्ने महिलाका लागि स्क्रिनिङ्ग शिविरमा यस्तो तथ्य फेला परेको हो।
परीक्षण गर्न आएका ९९ जना महिलामध्ये पाठेघर खसेका १५ जना महिलाले रिङ्ग प्रेसरी राखेका छन्। तीनजना महिलाको भने पाठेघरको शल्यक्रिया गर्नुपर्ने बारेकोट स्वास्थ्य तथा सरसफाई उपशाखाका प्रमुख वीरराज सिंहले बताए।तीमध्ये पहिलो डिग्री खसेका ९ जना , दोस्रो डिग्री खसेका १० जना , तेस्रो डिग्री खसेका ३ जना र सेतो पानी बग्ने ६४ जना रहेको सिंहले बताए।
त्यस्तै १६ जनामा क्यास्टोसेल तथा ३ जनामा पोलिपिस देखिएको छ।उमेर नपुग्दै विहे गर्ने, गर्भवती तथा सुत्केरी भएको बेला गह्रौ भारी बोक्ने वा उचाल्ने, सरसफाईमा ध्यान नदिने, कुपोषणलगायतका कारणले पाठेघर खस्ने समस्या हुने गरेको अनमी जया खड्काले बताइन्। उनले भनिन, 'गरिबी तथा जनचेतनाको अभावले बारेकोटका धेरै महिलामा पाठेघर खस्ने समस्या पाइयो।'
लाज र डरका कारण धेरै लामो समयसम्म रोग लुकाएर बस्दा यो समस्याले विकराल रुप लिएको उनले बताइन्।घरका सदस्यले पनि उपचारको साटो विभिन्न लान्छना लगाउने गरेको पाइएको उनले बताइन्।