नेपाल ट्रस्ट जग्गा, ९९ रोपनीको पुनः नापी हुने

नेपाल ट्रस्ट जग्गा, ९९ रोपनीको पुनः नापी हुने

भक्तपुर : भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित ९९ रोपनी नामले प्रसिद्ध नेपाल ट्रस्टको नाउँमा रहेको जग्गाजमिनको पुनः नापी हुने भएको छ। उक्त जग्गा निरन्तर खुम्चँदै आएपछि नेपाल ट्रस्ट र भक्तपुर नगरपालिकाले मिलेर नापी गर्न लागेको हो।

नेपाल ट्रस्ट र भक्तपुर नपाका प्रतिनिधिबीच शुक्रबार भक्तपुरमा भएको बैठकले उक्त निर्णय गरेको हो। निर्णयानुसार उक्त जग्गाको के–कति क्षेत्रफल छ भन्ने पुनः यकिन गर्न भक्तपुर नपा र नेपाल ट्रस्टको संयुक्त रोहबरमा नापी कार्यालयमार्फत नापजाँच गरी सीमांकन गरिनेछ।

तत्कालीन राजा वीरेन्द्रले आफ्ना कान्छा छोरा निराजनको नाउँमा स्थानीय जनताको एकसय ३२ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरी खरिद गरेका थिए। तर अहिले उक्त जग्गा खुम्चँदा खुम्चँदै एकसय ६ रोपनीमा पुगेको छ। पछिल्लो समय भक्तपुर नगरपालिकाले उक्त जग्गाको संरक्षणको लागि पर्खाल बनाउन नापजाँच गर्दा उक्त जग्गाको क्षेत्रफल एकसय ६ रोपनी चार आना तीन पैसा दुई दाममात्रै देखिएको हो।

भक्तपुर नपाले अहिले उक्त जग्गा संरक्षण गर्न सात फिट अग्लो पर्खाल निर्माण गरिरहेको छ। उसले चार फिट अग्लो इँटाको पर्खालमाथि तीनफिट अग्लो फलामे बार लगाउने नक्सा तयार गरेको छ।

करिब ९८ लाख रुपैयाँ लागतमा हनुमन्ते खोला क्षेत्रबाहेक सबैतिर पक्की पर्खाल लगाउने भक्तपुर नपाले जनाएको छ।

शुक्रबार भएको संयुक्त बैठकमा ट्रस्टका सचिव गजेन्द्र ठाकुर नेतृत्वको टोलीले उक्त जग्गा संरक्षण कार्यमा भएको प्रगतिबारे चासो व्यक्त गरेको भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। उनका अनुसार ट्रस्टका सचिव ठाकुरले सरकारको स्वामित्वमा रहेको १०८ रोपनी जग्गाको संरक्षण गरेकोमा भक्तपुर नपालाई धन्यवादसमेत दिएका थिए।

सचिव ठाकुरले बाँकी कामसमेत भक्तपुर नपा र ट्रस्ट दुवैको सहकार्य र समन्वयमै गर्नु राम्रो हुने बताएको प्रमुख प्रजापतिले सुनाए। उनका अनुसार बैठकले ट्रस्टको स्वामित्वमा रहे पनि १०८ रोपनी जग्गा भक्तपुरवासीको अधिकतम हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिएको छ।

प्रमुख प्रजापतिले भने उक्त जग्गा मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालनको लागि उक्त जग्गा भक्तपुर नपालाई उपलब्ध गराउन पुनः माग गरेका थिए।

निरन्तर खुम्चँदै ९९ रोपनी
अधिग्रहण गरिँदा एकसय ३२ रोपनीभन्दा बढी भएको जग्गा अहिले ट्रस्टको रेकर्डमा एकसय ८ रोपनी दुई आना एक पैसामात्रै बाँकी रहेको छ। उक्त जग्गा खुम्चने क्रम भने रोकिएको छैन। पहिले अरनिको राजमार्गले खुम्च्याएको उक्त जग्गा अहिले हनुमन्ते कोरिडोरले थप खुम्च्याउने भएको छ।

हनुमन्ते कोरिडोर र खोलाको मापदण्ड छोड्दा जग्गा अझै खुम्चने स्थानीय बताउँछन्। ‘सुरुमा एकसय ३२ रोपनी बढी भएको जग्गा अहिले खुम्चँदै खुम्चँदै नामअनुसार ९९ रोपनीमात्रै बाँकी हुने पो हो कि ?’, स्थानीय ७० वर्षीय मिश्री बखुन्छें आशंका व्यक्त गर्छन्।

उक्त जग्गाको दक्षिणमा ६ लेनको अरनिको राजमार्ग छ। जग्गा अधिग्रहण गरिँदा उक्त बाटो थिएन। उक्त बाटो बनाउन र मापदण्डमा ९९ रोपनीको करिब १५ रोपनी जग्गा गएको अर्का स्थानीय पूर्ण बखुन्छें बताउँछन्।

‘हामी नै बसेर नापचाँज गर्दा ९९ रोपनीको १५ रोपनी जग्गा अरनिको राजमार्गले चोखै खायो’, उनले भने।

जग्गाको पूर्वमा अरनिको राजमार्ग भई भक्तपुर सदरमुकाम पुग्ने अर्को चौडा कालोपत्रे सडक र सडक मापदण्डले पनि उक्त जग्गा खुम्च्याएको पूर्ण बताउँछन्। उत्तर र पश्चिममा पनि चौडा तर कच्ची सडक छन्। यी सडक फराकिलो पार्ने काम भक्तपुर नगरपालिकाले अघि बढाइसकेको छ। यसले पनि जग्गा झनै खुम्चने भएको छ।

‘९९ रोपनी चारै दिशाबाट खुम्चँदै आएको छ’, पूर्ण थप्छन्, ‘बाटो र खोलाकै कारण ९९ रोपनी जग्गा अन्तमा ९९ रोपनी नै हुने कि नहुने स्थिति आएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.