२०७६ लुम्बिनी भ्रमण वर्ष
बुटवल : प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन तयारी थालेको छ। सन् २०१८ मा आन्तरिक पर्यटकको संख्या ६ प्रतिशतले कमी आएको लुम्बिनीमा पर्यटक बढाउन भ्रमण वर्ष मनाउन लागिएको हो। संघीय सरकारले सन् २०२०लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेका बेला त्यसलाई सहयोग पुग्ने गरी प्रदेशमा पनि लुम्बिनी भ्रमण वर्षको तयारी गरिएको छ।
प्रदेश मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका कार्यक्रमसहित हालै सवा चार करोड बजेट पारित गरेको छ। लुम्बिनीमा आन्तरिक पर्यटकको वृद्धिले बाह्य पर्यटक भिœयाउन टेवा पुग्ने सरकारको भनाइ छ।
भ्रमण वर्षमा लुम्बिनीसहित आसपास बौद्ध स्मारक क्षेत्रलाई समेत समेटिनेछ। सरकारले लुम्बिनी–तिलौराकोट सडकलाई मायादेवी सुत्केरी मार्गको घोषणा गर्दैछ। सिद्धार्थ गौतमको जन्मभएपछि उनका आमा मायादेवी लुम्बिनीबाट सोहीबाटो हुँदै तिलौराकोट फर्किएकी थिइन्। केही वर्षयता यस मार्गमा बुद्ध जयन्तीको अवसरमा रथयात्रा गर्ने गरिएको छ।
भ्रमण वर्षले लुम्बिनी, तिलौराकोट, रामग्रामलाई जोड्ने काम गर्ने विश्वास गरिएको छ। अहिले लुम्बिनी सरकारको प्राथमिकतामा छ भने तिलौराकोट र रामग्रामको विकास नै गरिएको छैन। जन्मस्थल लुम्बिनी, २९ वर्ष विताएको तिलौराकोट र अस्तुधातु राखेर विहार निर्माण गरिएको रामग्राम बौद्धका दृष्टिले महŒवपूर्ण स्थान हुन्।
‘लुम्बिनी, तिलौराकोटसहितका कपिलवस्तुका बौद्ध स्मारक र नवलपरासीको रामग्राम समेत भ्रमण वर्षमा समेटिनेछ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले भने, ‘यो भ्रमण वर्षले संघीय सरकारले ल्याएको भ्रमण वर्ष २०२० को कार्यक्रमलाई समेत टेवा पुग्नेछ।’ भ्रमण वर्षमा आन्तरिक पर्यटकलाई लुम्बिनी ल्याउने विशेष जोड हुनेछ।
आन्तरिक पर्यटकमा कमी आए पनि बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या भने हरेक वर्ष बढ्दै गएको तथ्यांक छ। तेस्रो मुलुक र भारतबाट आउने पर्यटक बढेका छन्।
प्रदेश मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका कार्यक्रमसहित हालै सवा चार करोड बजेट पारित गरेको छ।
सन् २०१८ मा १५ लाख ३४ हजार एक सय १० जना पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ। भारतीय २४.५७ र तेस्रो मुलुकका १६.५४ प्रतिशतले बढेका छन्। नेपाली भने साढे ६ प्रतिशत घटेका छन्।
सन २०१७ मा लुम्बिनीमा १५ लाख ५२ हजार पाँच सय ८६ जना पर्यटक आएका थिए। यसमध्ये तेस्रो मुलुकका पर्यटक एक लाख ४५ हजार सात सय ९६ जना थिए। गत वर्षमा त्यो संख्या बढेर एक लाख ६९ हजार नौ सय चार पुगेको छ। यस्तै भारतीय पर्यटक २०१८ मा एक लाख ९३ हजार ६ सय ३५ आएकोमा अघिल्लो वर्ष २०१७ मा एक लाख ५५ हजार चार सय ४४ जना लुम्बिनी आएका छन्।
लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि बसाइ भने लम्बिन सकेको छैन। विकास कोषले पर्यटकको बसाइ लम्ब्याउने योजना बनाएको छ। ‘लुम्बिनीमै पर्यटक भुलाउने गरी संरचना बन्दैछन्’, विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्तले भने,‘लुम्बिनी आउने पर्यटकलाई तिलौराकोट र रामग्राम पुराउने योजना पनि बनाएका छौं।’
लुम्बिनीमा बुद्धको जीवनी देखाउने आर्ट ग्यालरी निर्माण हुँदैछ। जहाँ रोवर्टको माध्यमबाट बुद्धका जीवनकालमा घटेका महŒवपूर्ण घटना देखाइनेछ। यसले यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने सक्ने अपेक्षा गरिएको छ।
भ्रमण वर्षका कार्यक्रम फितला
प्रदेश सरकारले सवा चार करोड खर्च हुने कार्यक्रम त बनाएको छ तर ती निकै फितला छन्। फजुल खर्चमा नै रकम सकिने देखिएको छ। प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सबै क्षेत्र समेटिने गरी तयार गरिएका कार्यक्रम मन्त्रिपरिषद्ले पारित गरेको बताए।
उद्घाटन, समापन कार्यक्रमका लागि करिब एक करोड रकम विनियोजन गरिएको छ। भत्ता, खाजामा करिब ४० लाख बजेट राखिएको छ। पूर्वाधार निर्माणमा कुनै बजेट राखिएको छैन। फजुल खर्च बढी राखिएकाले भ्रमण वर्ष प्रभावकारी हुनेमा आशंका गरिएको छ।
मायादेवी सुत्केरी मार्ग, लुम्बिनीमा दैनिक दीप प्रज्वलन, लुम्बिनी पिस म्याराथन, सडक प्रदर्शनी र बौद्ध दर्शनको विषयमा गोष्ठी आयोजना गरिएको छ। सरसफाइ, डस्विन वितरण कार्यक्रमलाई समेत ठूलो बजेट राखिएको छ। यस्ता कार्यक्रम स्थानीय तहले समेत गर्दै आएका छन्।