पर्यटन पुनर्जागरणका निम्ति भ्रमण वर्ष

पर्यटन पुनर्जागरणका निम्ति भ्रमण वर्ष

सरकारले आगामी वर्षलाई ‘भ्रमण वर्ष २०२०’ को रूपमा मनाउन लागेको छ। २० लाख पर्यटक भित्याउने सोचसहित भ्रमण वर्षका कार्यक्रमहरू तय भएका छन्। २०७२ वैशाखको विनाशकारी भूकम्प र सोही वर्ष नाकाबन्दीको मार खेपेको नेपाली पर्यटन उद्योगमा छिट्टै पुनर्जागरण आउने देखिएको छ। भूकम्पले क्षति पुगेका पर्यटन पूर्वाधारहरू तथा सम्पदाको पुनर्निर्माण तीव्र पारिएको छ। सन् २०१८ मा पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिले पर्यटन उद्योगमा आशाको सञ्चार भएको छ।

पर्यटन उद्योगमा निजी क्षेत्रको लगानी विस्तार हुने क्रम तीव्र छ भने सरकारले पनि पर्यटन पूर्वाधारहरू विमानस्थल, सडक, पदमार्ग, पर्यटन गन्तव्यको विकासलाई विशेष प्राथमिकतामा राखेको छ। यसै सन्दर्भमा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको राउन्ड टेबलमा सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनदेखि, रोजगार र अर्थतन्त्रमा मूल्य अभिवृद्धि सिर्जनाका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसबाट मुलुकले लाभ लिन पर्यटन उद्योगमा नकारात्मक असर पर्ने कार्यलाई निरुत्साहित गर्ने र पर्यटन पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने बताएका छन्। उक्त राउन्डटेबलका वक्ताहरूद्वारा व्यक्त विचार :

पर्यटक बढाउने नीति बनाएका छौं 

घनश्याम उपाध्याय, सहसचिव
 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

कम लागतमा धेरै लाभ लिन सक्ने क्षेत्र भनेकै पर्यटन हो। पर्यटनले यो क्षेत्रसँगसँगै अन्यको पनि विकास गर्छ। एउटा होमस्टेकै उदाहरण लिन सकिन्छ। होमस्टेमा जम्मा दुइटा कोठामा एउटा परिवारले वर्षमा ६० दिन पर्यटक राख्न सक्यो भने त्यो परिवारलाई वर्षभरि कम्तीमा खान पुग्नेसम्मको आम्दानी हुन्छ। यसले ग्रामीण अर्थतन्त्रसँगसँगै सचेतना, शिक्षा, स्वास्थ्य क्षेत्र र पर्यटनबाट ज्ञान हस्तान्तरणसहितको लाभ लिन सक्छौं। यसका सकारात्मक पक्ष हेर्ने हो भने अर्थतन्त्रको विकाससँगै समावेशी विकासको आधार पनि तयार हुँदै जाने गर्छ। समग्र अर्थतन्त्रको विकासमा पर्यटनको योगदान उल्लेख्य छ।

स‌‌ंविधानमा पर्यटन नीतिलाई पनि आत्मसात गरिएको छ। विगत लामो समयदेखि नै पर्यटनलाई राम्रो बनाउन विभिन्न पर्यटकीय अभियान गरिएका छन्। यस्तो अभियान ‍औसतमा हेर्ने हो भने दस वर्षको अन्तरमा भएको देखिन्छ। सन् १९९८ को नेपाल भ्रमण वर्षपछि सन् २०११ मा भएको पर्यटन भ्रमण वर्ष र आगामी सन् २०२० को नेपाल भ्रमण वर्षको तयारीलाई बुझ्न सकिन्छ।

पछिल्लो समय पर्यटन क्षेत्रमा विपद् आइपरेको छ। २०७२ को भूकम्पले ल्याएको विपद्ले सांस्कृतिक तथा पुरातात्विक सम्पदामा पुर्‍याएको क्षतिका कारण पर्यटकको आगमन सं‌ख्यामा नकारात्मक असर पर्‍यो। त्यसबीचमा आपूर्तिमा पनि अवरोध भयो, जसले पर्यटन उद्योग नै धराशयी अवस्था पुग्यो। यसले सरकारी र निजी दुवै क्षेत्रमा त्रास पैदा भयो। पर्यटन क्षेत्रमा परेको नकारात्मक असरलाई कम गर्न र सकारात्मक सन्देश प्रवाहकै निम्ति नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिएको हो।

भ्रमण वर्षले पूर्वाधार निर्माण पनि सँगसँगै बढाउन र सन् २०२० पछि हरेक वर्ष २० लाखभन्दा बढी पर्यटक भित्याउने भन्ने हो। हामीले पर्यटन क्षेत्रको विकासका निम्ति नयाँ आशासँगै यो अभियान अगाडि सारेका हौं। यो अभियान केवल औपचारिकताका लागि मात्रै नबनोस् भन्नेमा केन्द्रित रहेका छौं। पूर्ण तयारी गर्नका लागि पर्याप्त समय छुट्ट्याएर सन् २०२० को अभियान घोषणा भएको हो। यसको तिथिमिति निजी क्षेत्रसँगको सहकार्यमा तय गरिएको हो।

भूकम्पपछि सबैभन्दा पहिला पुनर्जागृत भएको क्षेत्र पर्यटन नै हो। यसले संवेदनशीलता र चुनौती हुँदाहुँदै पुरातात्विक सम्पदा पुनर्निर्माणमा उल्लेखनीय प्रगति गरिरहेको छ। आगामी दुई वर्षभित्र सम्पूर्ण सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसमेत अगाडि सारिएको छ। काठमाडौं उपत्यकाभित्रका अधिकांश सम्पदा खुला भएका छन्। यी सबै हाम्रा उपलब्धि हुन्। यसलाई हामीले अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउन जरुरी छ। त्यहाँका पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यो अभियान वर्षअगाडि नै गर्ने भन्ने पनि हो। यसका लागि गर्नुपर्ने नीतिगत तयारी लगभग पूरा भएका छन्। भ्रमण वर्षनिम्ति आवश्यक नीतिगत व्यवस्थालाई पनि सरकारले स्वीकृति दिइसकेको छ।

जहाँसम्म यसअघिका भ्रमण वर्ष तयारी नगरी आएको र लक्षित संख्या नपुगेको हो कि भन्ने विषयमा भने हिजो हामीले निर्धारण गरेको लक्ष्यमा पुग्न नसकिएको अवस्था थियो। त्यतिबेलाको समस्या पर्यटक आउने बाटो नहुनु पनि एउटा हो। त्यसैले सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने मुख्य विषयलाई आवश्यक तयारीसहित अगाडि बढाइएको हो। यसनिम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगामी चैत १८ बाट धावन मार्गको जीर्णोद्वार सुरु गर्ने र तीन महिनाभित्रै पूरा गर्ने लक्ष्य छ। आगामी असोजदेखि सुरु हुने गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी पनि छ। सन् २०२० को जनवरीदेखि त्रिभुवन विमानस्थललाई बुटिकको रूपमा विकास गर्ने गरी आवश्यक तयारी पनि भइरहेको छ। यसले भ्रमण वर्षको लक्षित पर्यटक ल्याउनमा सहज हुन्छ।

पर्यटन प्रवर्द्धन गरिरहेका छौं

दीपक जोशी, प्रमुख कार्यकारी अधिकृत (सीईओ)
नेपाल पर्यटन बोर्ड

पर्यटनको प्रवद्र्धन गर्न र यस क्षेत्रको विकास गर्ने उद्देश्यले हामीले सन् १९९८ मा ‘अ वल्र्ड अफ इट्स वन’ भन्ने नारासहित भ्रमण वर्ष मनाएका थियौं। पर्यटन बोर्ड पनि सोही समयदेखि सञ्चालनमा आएको हो। ‘माउन्ट एभरेस्ट एन्ड मोर एक्सपिरेन्स इन नेपाल’ लाई हामीले मार्केटिङ स्लोगानका रूपमा प्रयोग पनि गरेका थियौं। सन् २०११ मा ‘टुगेदर फर टुरिजम’ भन्ने स्लोगन थियो। सन् २००५ मा हामीले ‘नेचुरल्ली नेपाल वान्स इज नट इन अफ’ भन्ने स्लोगान प्रयोग गरेका थियौं। यस्तो पर्यटकीय नाराको एउटै उद्देश्य भनेको पर्यटक आकर्षित गर्ने र नेपालले पर्यटनको मार्केटिङ गर्ने आधार बनाएको थियो।

नेपाल माउन्टेनको गन्तव्य र एड्भेन्चरस गतिविधिको क्षेत्र हो भनेर हामीले चिनाएका छौं। यसको इमेज नेपालको पर्यटनमा लामो समयसम्म रहि नै रहेको छ। पछिल्ला दिनमा संसारभर नै कम्फोर्ट र लक्जरी खोज्दै हिँड्ने पर्यटकहरू नयाँ अनुभव खोज्दै हिँड्न थाले। त्यसपछि हामीले पनि हाम्रो पर्यटन हिमाल र साहसिक क्षेत्रमा मात्रै सीमित नराखेर हाम्रा पर्यटनका विशेषतालाई सम्पदा, धार्मिकस्थल, चाडपर्व, रहनसहन, ग्रामिण पर्यटनसहितमा प्रचार गर्न थालेका छौं। हामीकहाँ पर्यटनमा विविधता छ। हाम्रो पर्यटकीय विविधतालाई एउटै ढंगले मार्केटिङ गर्न धेरै गाह्रो पनि छ।

हामीले भ्रमण वर्ष २०२० का लागि नेपाल घुम्नु भनेको ‘लाइफ टाइम एक्सपिरेन्स’ हो भन्ने थिम अघि सारेको छौं। विभिन्न निजी क्षेत्र र परामर्शदातासँगको संयुक्त सहकार्यमा हामी भ्रमण वर्ष मनाउँदै छौ। विगत लामो समयदेखि पर्यटकमा रहेको नेपालप्रतिको दृष्टिलाई थप परिष्कृत गर्न अबको अभियान महत्वपूर्ण सावित हुनेछ।

तीन वर्षअघिको भूकम्पले पर्यटनमा केही नकारात्मक सन्देश प्रवाह भएको थियो। हामी त्यो अवस्थाबाट अगाडि बढेर पर्यटनको सकारात्मक वृद्धिदर हासिल गर्न थालिसकेका छौं। विगत तीन वर्षको पर्यटक आगमन हेर्ने हो भने महिनामा २५ प्रतिशतले वृद्धि भइरहेको छ। भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्याउने लक्ष्य हासिल गर्न यो वर्ष २० प्रतिशत र अर्को वर्ष ३० प्रतिशतले पर्यटक बढाउन सकिएमा लक्ष्य भेट्टाउन गाह्रो हुँदैन। हामीलाई पर्यटक भित्याउन आवश्यक पूर्वाधारको अभाव खट्किएको छ। पर्यटक बढाउने मुख्य आधार नै पूर्वाधार हो। पूर्वाधार हुने हो भने समस्या हुँदैन। अहिले भएको पूर्वाधारमै अधिकतम पर्यटक भित्याउने गरी योजना बनाएका छौं।

हाम्रो पर्यटन भनेको मौसममा आधारित छ। वर्षा, गर्मी, हिँउदमा हुने गतिविधिलाई हेरेर आक्रामक रूपमा प्रचार गरिरहेका छौं। भारत र बंगलादेशका पर्यटकलाई आकर्षित गर्न हामीले ‘गर्मी से बेहाल चलो नेपाल’ भन्ने अभियान पनि चलाएका छौं। जसले नेपालमा गर्मी मौसममा उल्लेख्य मात्रामा पर्यटक आगमन बढाउन सहयोग पुगेको छ। जोडो मौसममा चीनका लागि ‘विन्टर इज वार्म इन वार्म सेलिब्रेट योर होलिडे इन नेपाल’ भन्ने नारा अगाडि सारेका छौं। यसले ४० प्रतिशतले चिनियाँ पर्यटक बढाउन सहयोग पुर्‍यायो। हामीले अफ सिजनमा सम्भावना भएका क्षेत्रको अधिकतम प्रचार गर्न थालेका छौं। प्रचारसँगै पर्यटन उद्योगलाई शिक्षित पनि बनाउँदै गएका छौं।

विगतमा हाम्रो पर्यटन क्षेत्र भनेको काठमाडौं, पोखरा, चितवन, एभरेस्ट, अन्नपूर्णलगायतका सीमित क्षेत्र मात्रै हुन् भनेर चिनिए। यसको दायरा बढाउन र पर्यटन गन्तव्य प्रवद्र्धन गर्न हामीले प्रत्येक प्रदेशमा कम्तीमा १० वटा पर्यटक क्षेत्र पहिचान गर्ने गरी एक सय एक पर्यटक गतव्य अघि सारिएको छ। स्थानीय तह, प्रदेश, संघ तथा निजी क्षेत्रलाई यी क्षेत्रमा लगानी गर्न प्रेरित गर्न पनि थालिएको छ। पहिचान भएका गन्तव्यको विकास पनि अगाडि बढिरहेको छ। निजी क्षेत्रसँगको सहकार्यविना पर्यटन विकास गर्न सम्भव छैन।


पदयात्राको पूर्वाधार जोगाउनुपर्छ

नवराज दाहाल, अध्यक्ष
 ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)

पदयात्रा पर्यटनमा तीन वर्षअगाडिको भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माण करिबकरिब सकिएको अवस्था छ। पदयात्रा गराउनमा त्यस्तो कठिनाइ छैन। पदायात्रा गराउनु साहसिक क्षेत्रको विकास नै मुख्य आधार हो। पदायात्राको पुनर्निर्माण छिटो भएको छ। तर पदयात्रा मात्रै नभएर पर्यटक आकर्षित गर्ने महत्वपूर्ण भवनसहितको सम्पदा, पार्क, टावरको पुनर्निर्माण भने भइसकेको छैन। यसलाई पनि छिटो गर्नुपर्ने अवस्था छ। पूर्वाधारको विकास भनेको भइरहनुपर्ने हो। पर्यटन क्षेत्रभित्रका पूर्वाधारहरूको विकास भने कस्तो खालको गर्ने भनेर पहिल्यै वर्गीकरण गर्नुपर्छ र त्यसपछि विकासमा लाग्नुपर्छ।

पछिल्लो समय मोटर बाटोको विकासले धेरै पदयात्रा विकासमा समस्या परको छ। यसो भन्दैमा हामी पदायात्रा व्यवसायी विकासविरोधी भयौं भन्नेचाहिँ होइन। मोटर बाटो जाँदैमा विकास भइहाल्ने भन्ने पनि होइन। हामीले वैकल्पिक पदायात्रा मार्गको विकास गरेर सडक विकास पनि गर्नुपर्छ भनेका मात्रै हौं। त्यसो गर्न सकिरहेका छैनांै। नयाँनयाँ ट्रेकिङ ट्रेल हामीले विकास गरेर प्रवद्र्धनमा लाग्नुपर्ने थियो, त्यो हुन नसकेको अवस्था छ।

हामीले नयाँ गन्तव्य खोजी गर्ने कामलाई औपचारिकतामा मात्रै सीमित भएको देखिएको छ। त्यस्ता खोजी भएका र नयाँ गन्तव्यमा पर्यटक आकर्षित गर्न सक्ने र पर्यटक लैजाने क्षेत्रको खोजी नभएको पाइन्छ। नयाँ मार्ग खोजीको अर्थ दिन हामीले नै सकेनौं। ट्रेकिङ ट्रेल, टावर, भ्युटावर, पार्क जुन ढंगले पर्यटन पूर्वाधारमा राखिनुपर्ने हो, त्यो भएको छैन। मोटर बाटो बनाउने तर पदयात्रा जोगाउने विकल्प खोजी नहुँदा भने समस्या देखिएको छ।

यस्तै यो क्षेत्रको विकासमा पर्यटन नीति पनि समय–सान्दर्भिक हुन आवश्यक छ। नेपालमा सबैखाले पर्यटनको सम्भावना छ। तर पनि हामी त्यो ठाउँमा पुग्न सकेनौं। आजसम्म पर्यटनको सम्भावनालाई चिन्न नसक्नुको विभिन्न कारण छन्। जसका कारण राज्यले पर्यटनको महत्व बुझ्न सकेन पनि। यसअघि गति लिन नसकेको पर्यटनलाई त अब रफ्तारमा लैजान सकिने अवस्थाचाहिँ छ। व्यवसायीले आफ्नो व्यवसाय सहज ढंगले गर्न र सहजै एक स्थानबाट अर्कोमा जान सक्ने नीति हुनुपर्छ। नीतिले भिसा, ट्रेकिङ परमिट, भ्याट, इन्ट्री फीसहितमा सहजीकरण गर्नुपर्छ।

हामीले ‘नेपाल फर अल सिजन अल टुरिस्ट’ भन्ने गरेका छौं। यसका साथै नेपाल आइपुगेका पर्यटकलाई हामीले मुस्ताङ र दामोदर कुन्डसहितको पदयात्रा लैजान सक्छौं, तर यसका लागि महँगो शुल्क राखिएको छ। यसले गर्दा पर्यटकलाई त्यहाँ पुर्‍याउन त्यति दिन ध्यान दिन सकेको देखिँदैन। हामीले संख्यात्मक रूपमा बढी पर्यटक भित्याउन मात्र ध्यान दिने होइन। यसलाई खर्च गराउन सक्ने र गुणस्तरीय (खर्चालु) पर्यटक भित्याउनमा पनि ध्यान दिनुपर्छ।

अहिलेको चुनौती भनेकै गुणस्तरीय पर्यटक ल्याउनुपर्नेमा हुन्छ। पर्यटक आएपछि रोजगार सिर्जना हुनुपर्‍यो। युवाहरूले रोजगार पाउने, हामीले दिने सेवाबाट लिने उनीहरूले धेरै खर्च गर्न सक्ने हुनुपर्‍यो। कम्तीमा दुई साताभन्दा बढी बस्ने पर्यटक हामीले ल्याउनुपर्छ। जसले बढी खर्च गर्न सक्छन्, त्यसलाई ध्यान दिनुपर्छ। हुन त आरोहण र पदयात्रामा जाने पर्यटकले ने बढी खर्च गर्न सक्छन्। उनीहरूले नै बढी खर्च गर्ने र रोजगार सिर्जना गर्न सक्छन्। यसलाई दृष्टिगत गर्नुपर्छ।

अर्को महत्वपूर्ण पक्ष भनेको पर्यटन प्रवद्र्धन हो। अहिले भइरहेको प्रवद्र्धन केवल कर्मकाण्डी मात्रै छ। अबको युग भनेको डिजिटलको हो। नयाँ प्रविधिमा जाने र आधुनिक तरिका अपनाउनु नै मुख्य आवश्यकता हो। हामीकहाँ जति सम्भावना छ त्यसलाई छिमेकी मुलुकबाट आउने पर्यटक तान्नमा पनि जोड्नुपर्छ। हामीले हाम्रो देशलाई केन्द्र बनाउनुपर्छ। पहिले नेपाल आउने र त्यसपछि भारत जाने वातावरण बनाउनुपर्छ। अहिले त भारतबाट निख्रिएर मात्रै नेपालमा आउँछन्।

२५ लाख पर्यटक धान्न सक्छौं

विनायक शाह, महासचिव
 होटल एसोसिएसन अफ नेपाल (हान)

पर्यटन क्षेत्रको भौतिक पूर्वाधारमा धेरैभन्दा धेरै लगानी भएको क्षेत्र होटल हो। होटलमा अन्तर्राष्ट्रिय चेन, व्यावसायिक घरानासहितको लगानी धमाधम बढेको छ। काठमाडौंमा मात्रै पाँच वर्षमा पाँच हजारको बेड संख्यामा चार र पाँचतारे होटेल थपिँदैछन्। सातै प्रदेशका प्रादेशिक राजधानी, नगरपालिकाका सहरी क्षेत्रमा बढेको खानपान र बस्ने स्थानले होटलको महत्व बढाइरहेको छ। सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिँदा खान बस्नमा कुनै समस्या भएन। पर्यटकको आगमन बढिरहेको छ, सोहीअनुसार होटल क्षेत्रको पर्यटकीय योगदान पनि उल्लेख्य छ। हालकै क्षमतामा २५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा छौं हामी। यस्तो क्षमतामा लज, होटेल, रिसोर्ट, होमस्टेलगायतका सबै पर्यटकीय सेवा क्षेत्र पर्छन्।

अन्तर्राष्ट्रिय पाहुनाको स्ट्यान्डर्डअनुसार उनीहरूलाई सुविधा दिन जतिबेला पनि हामी तत्पर छौं। पर्यटकको स्ट्यान्डर्ड मेन्टेन गर्न हामीले जतिबेला पनि आवश्यक तयारी गर्दै आएका हुन्छौं। विश्वभर पर्यटकीय स्थलको जुन स्तर छ, त्यो स्तरको सेवा तयार पारिसकेका छौं। पर्यटकीय इतिहास ७०÷८० वर्षको भएकाले हामीसँग सकेसम्म उच्चस्तरको सुविधा उपलब्ध छ।

पर्यटक बढिरहेका छन्, तर पनि यसअघि द्वन्द्वताका शेर्पा, स्टार, ब्लुस्टार, नारायणीसहितका स्तरीय होटेल सपिङ मलमा परिणत भए। यसको अर्थ पुराना होटेललाई अझै पनि पर्यटकीय सेवामा खटिइरहन र स्थायित्व कायम गर्न गाह्रो छ। पर्यटकीय क्षेत्र मानिएको ठमेलमै धेरै होटेल बन्द पनि भएका छन्। यसले होटल लगानीमै चुनौती थपिदिएको छ। जबसम्म राम्रोसँग पूर्ण क्षमतामा सेवा दिन सक्दैनन् तबसम्म होटल क्षेत्रले सामाजिक सुरक्षा कोष, न्यूनतम तलब दिन निकै कठिन भएको अवस्था छ। तैपनि हामी पर्यटन वर्षलाई सफल बनाउन तयार छौं। तर यसमा सरकारी तयारी निकै सुस्त देखिएको छ। हामीले केके गर्नुपर्ने हो, त्यो विषय खुलाएर सरकारले जिम्मेवारी दिनुपर्छ।

यस्तै पर्यटकको विशेषता पनि फरक हुन्छ। चीन, भारत, श्रीलंका, अमेरिका, थाइल्यान्डबाट आउने पयर्टकको आआफ्नै इच्छा र चाहना हुन्छन्। मुलुकपिच्छे पर्यटनको चाहनालाई कसरी पूर्ति गर्ने, त्यो विषयमा पनि हामी अहिल्यैदेखि तयार हुनुपर्छ। अहिलेको स्मार्टफोनको जमानामा परम्परागत प्रचारप्रसारले महत्व राख्दैन। भारत, चीनलगायतका मुलुकमा स्थानीय भाषामा मोबाइल र एप्समार्फत प्रचारप्रसार गर्नुपर्ने बेला भएको छ।

ठूला चेन होटेल हायात, र्‍याडिसन, क्राउन प्लाजाहरू अन्तर्राष्ट्रिय चेन व्यवस्थापनमा सञ्चालनमा छन्। ती होटलमा बाहिरबाट केही सीमित जनशक्ति आउँछन्। होटल क्षेत्रमा ९८ प्रतिशतसम्मको सबै जनशक्ति नेपाली छन्। आतिथ्यताका विषयमा हामीले दिएको सेवा र सुविधामा खासै गुनासो आएको छैन। तालिमको विषयमा भौतिक पूर्वाधार नेपालमा विस्तारै निर्माण भइरहेको अवस्था छ।

पछिल्लो समय सरकारले काठमाडौं विमानस्थललाई बुटिक बनाउन थालेको छ। तर बिजनेस क्लासको प्यासेन्जर कहाँबाट भित्रिने भन्ने विषयमा सरकारको कुनै तयारी छैन। इकोनमी प्यासेन्जरसँगै बिजनेस क्लासका प्यासेन्जर आउनुपर्ने अवस्था छ। यो विषयमा पटकपटक सरकारी निकायको ध्यानाकर्षण गराइरहेका छौं। तर अहिलेसम्म सुधार भएको छैन। अतिरिक्त शुल्क लिएपछि सोहीअनुसार सेवामा पनि सहजता हुनुपर्छ भन्ने मात्रै हो।

पछिल्लो समय फेरि सुरु हुन थालेको बन्द र हडतालको वातावरणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनबारेमा नकारात्मक सन्देश जान थालेको छ। ६ महिनापछि आउन चाहने पर्यटकले बुकिङ गर्नुपहिले हामीसँग विभिन्न प्रकारका प्रश्न सोध्न थालेका छन्। पर्यटनका निम्ति सधैं सकारात्मक सन्देश जाने काम गर्नुपर्ने हुन्छ।

उड्डयनको छवि सुधार्नुपर्छ

योगराज शर्मा कँडेल, महासचिव
हेलिकोप्टर सोसाइटी अफ नेपाल

पर्यटन क्षेत्रको विकाससँगै पर्यटकीय सेवानिम्ति खटिने हेलिकोप्टरको योगदान पनि उल्लेख्य छ। नेपालमा १० वटा हेलिकोप्टर कम्पनी चलिरहेको अवस्था छ। चारवटा कम्पनी पाइपलाइनमा छन्। दुइटा उड्डयन प्राधिकरणसमक्ष अनुमतिका लागि आइपुगिसकेको र अर्को पनि आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा छ। यसको मतलब पछिल्लो समय हेलिकोप्टर कम्पनीमा लगानी थप भइरहेको छ। यो सिजनमा मात्रै अर्को तीनवटा हेलिकोप्टर थप हुने क्रममा छ भने हाल २७ देखि ३३ वटा हेलिकोप्टर यो क्षेत्रमा सञ्चालन भइरहेका छन्। यो उद्योगको विस्तार पनि भएको देखिन्छ तर बिजनेस भने बढेको छैन।

पछिल्लो पर्यटनको विकास क्रमशः वृद्वि भइरहेको छ। यो हाम्रा लागि उत्साहको विषय हो। पर्यटक आगमन बढ्नुले समग्र पर्यटनकै विकास हुन्छ। पर्यटन वर्षले सफलता पाउँछ। पर्यटक विकास भइरहँदा पनि हवाई क्षेत्रको स्थायित्वमा भने समस्या छ। दुई वर्षमा स्थापना भइसकेका दुइटा हेलिकोप्टर बन्द हुन्छन् भन्ने आकलन हुन थालिसकेको छ। यसले यो क्षेत्रको विकासमा चिन्ता व्यक्त गर्ने विषय पनि भयो। हुन त यो समयमा अर्काे दुइटा कम्पनी थपिँदैछन्। तर यसले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ।

नयाँ आउने कम्पनीले यो क्षेत्रको भविष्य र यसबाट लिन सकिने लाभबारेमा राम्रोसँग सोच्नुपर्ने हुन्छ। हामीले एक वर्षभित्रमा धेरै समस्या खेपेका छौं तर स्थायित्व हुन भने अझै सकिरहेका छैनौं। यसले दिगोपना कसरी हुन्छ भनेर प्रश्न गर्ने र अनिश्चितता व्यक्त पनि गराइरहेको छ।

सरकारले घोषणा गरेको सन् २०२० को पर्यटन भ्रमण वर्ष सफल पार्न सरकारसँग सहकार्य गर्न हामी तयार छौं। यसनिम्ति पटकपटक आवश्यक छलफल र अन्तरक्रियामा सहभागी पनि भइरहेको छौं।

पछिल्लो समय हेलिकोप्टर कम्पनीको अवस्था हेर्ने हो भने कतिपय कम्पनीले तीन महिनादेखि तलब दिन नसकेको अवस्था छ। बैंकको ऋण तिर्न सकिरहेका छैनन्। कतै बदमासी होला तर वास्तविकरूपमा त्यस्तो देखिँदैन। तर बाहिरबाट हेर्दा भने व्यापक भएजस्तो देखिन्छ।

पछिल्लोपटकको हवाई दुर्घटना हाम्रो हवाई क्षेत्रकै लागि कालो धब्बा हो। यसले पर्यटन क्षेत्रकै निम्ति ठूलो क्षति पुर्‍याएको छ। हेलिकोप्टर सोसाइटीले सन् २०१९ सुरक्षित वर्षको रूपमा लैजाने अभियान चाल्न खोज्दै गर्दा सुरुमै अकल्पनीया क्षति भोग्नुपर्‍यो। अहिलेसम्मको हेलिकोप्टरको इतिहास हेर्ने हो भने ३५ वटा दुर्घटना हुन पुगे। यसमा प्रायः सबै मानवीय त्रुटिका कारण भएका छन्। यसमा सिचुएसन ह्यान्डल गर्ने मुख्य जिम्मा पाइलटकै हुन्छ।

नेपालको पर्यटन क्षेत्रका साथै उड्डयनको छवि सुधार्न नियामक निकायले बढी ध्यान दिनुपर्ने हुन्छ। उड्डयनमा हवाई सुरक्षाको अडिट गर्ने र गराउने काम नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र पर्यटन मन्त्रालयले गर्छ। अन्तर्राष्ट्रिय नागरिक संगठन (आईकाओ) ले क्यानमातहत मात्रै हवाई सुरक्षाको अडिट गर्छ।

त्यसो त नेपालको पर्यटन नै डाँडाकाँडाले टिकाएको छ। त्यहींको साहसिक गतिविधिलाई समातेर हामीले हाम्रो पर्यटन बेचिरहेका छौं। सन् २०२० लाई कसरी सफल बनाउन सकिन्छ भनेर हेलिकोप्टरदेखि हवाई उड्डयन क्षेत्रले गम्भीर भएर लाग्न जरुरी छ। यो क्षेत्रको सहयोग र सहकार्य पर्यटन वर्ष सफल बनाउनमा आवश्यक पनि छ। सबै क्षेत्रको योगदान र सहकार्यबाटै भ्रमण वर्षलाई सफल बनाउन सकिन्छ। यसमा हामीले आआफ्नो तर्फबाट दिने योगदानमा कुनै कन्जुस्याईं गर्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.