वीरगन्जमा कला महोत्सव
वीरगन्ज : मोफसलका चित्रकारलाई प्रोत्साहन गर्न वीरगन्जमा शनिबारदेखि वीरगन्ज कला महोत्सव २०७५ आयोजना गरिएको छ।
वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंले प्रदेश नम्बर २ मै पहिलो पटक वीरगन्ज कला महोत्सवको आयोजना गरेको हो ।
वीरगन्जको माईस्थान स्थित गहवामाई मन्दिर अगाडिको पार्कमा आयोजना गरिएको पाँच दिने वीरगन्ज कला महोत्सवको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले गरे ।
वीरगन्ज कला महोत्सवको पहिलो दिन शनिबार कार्यशाला आयेजना गरिएको छ । माईस्थान पार्क र घडीअर्वा पोखरी परिसरमा आयोजना गरिएको कार्यशालामा, ललितकला प्रज्ञा प्रतष्ठिान काठमाडौंबाट आएका २० जना र स्थानीय चित्रकारले मधेसको कलासंस्कृति, रीतिरिवाज झल्किने तथा वीरगन्ज र यस आसपासका धार्मिक एंव पर्यटकीय स्थलको चित्र बनाएका छन् ।
महोत्सवमा आइतबारदेखि सामुहिक चित्रकला प्रदर्शनी सुरु हुनेछ । सामुहिक चित्रकला प्रदर्शनी वीरगन्जको राणीसति मन्दिरको सभाकक्षमा चैत ४ गतेसम्म चल्ने छ ।
ललितकला प्रज्ञा प्रतष्ठिान , काठमाडौंमा मात्रै केन्द्रित र सीमित रहेको गुनासो आएपछि मोफसलका चित्रकार र कलाकारहलाइ जोड्न र उनीहरुलाई प्रोत्साहित गर्नका लागि नै वीरगन्जमा कला महोत्सवको आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतष्ठिानकी प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुष्माराज भण्डारीले बताइन् ।
'काठमाडौंका र मोफसलका चित्रकारहरुले मिलेर काम गरेमा अझै उत्कृष्ट कला प्रस्फुटन हुन्छ, ललितकला प्रज्ञा प्रतिष्ठानले पनि गर्न खोजेको यहि नै हो', उले भनिन् ,‘ यसले कलाकार र चित्रकारको मात्र नभइ ललीतकलाको पनि विकास हुन्छ, त्यसैले मोफसलमा हामीले यो कला महोत्सव गरेका हौं ।'
वीरगन्ज कला महोत्सवको कार्यशालामा चित्रकारले बनाएका चित्र र कलाहरु वीरगन्जकै म्युजियममा राखिने जानकारी पनि उनले दिइन् ।
नेपाल ललितकला प्रज्ञा प्रतष्ठिानले प्रदेश नम्बर २ मा पहिलो पटक कला महोत्सव आयोजना गरेको जानकारी पनि उनले गराइन् ।
ललितकला प्रज्ञा प्रतष्ठिानका प्राज्ञ एंव वरिष्ठ कलाकार मुकेश मल्लले, नेपाल भनेको काठमाडौं मात्र नभइ तराई, पहाड र हिमाल पनि हो भन्ने सन्देश चित्रकलामार्फत प्रवाह गर्न वीरगन्जमा कला महोत्सव आयोजना गरिएको बताए ।
अहिले पनि क्षमता र कला भएका थुप्रै चित्रकार र कलाकारले आफ्नो कला देखाउने अवसर नपाएर ओझेलामा रहेको भन्दै उनले भने, ‘खासगरि मोफसलका त्यस्ता चित्रकार र कलाकरलाई कला प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतिष्ठानले यो कला महोत्सव गरेको हो , यसलाई मोफसलका अन्य शहरमा पनि निरन्तरता दिनेछौं।'
वीरगन्जमा आयोजना गरिएको कला महोत्सवले स्थानीय चित्रकार र कलाकारहरुको मनोबल बढाएको स्थानीय चित्रकार अजमत अलीले भने, ‘यो कार्यक्रमले हामीमा अझ उर्जा थपिदिएको छ, आफ्नो कला देखाउने अवसर पनि पाएका छौं।'
ललितकला प्रज्ञा प्रतष्ठिानकी अध्यक्ष सुष्माराज भण्डारीकै अध्यक्षतामा शनिबार भएको उद्घाटन कार्यक्रममा वीरगन्जका वरिष्ठ चित्रकार स्वर्गीय भरतप्रसाद सर्राफका छोरा कमलेश सर्राफ, वरिष्ठ चित्रकारद्वय श्याम श्रेष्ठ र नारायण लामालाई दोशल्ला ओढाएर सम्मनित गरिएको थियो ।
उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतले महोत्सवको सफलताका लागि शुभकामना व्यक्त व्यक्त गरेका थिए ।