छात्रालाई प्याड किन्न ४० हजार
स्याङ्जा : एसईई दिने तयारी गरिरहेका स्याङ्जाका छात्रालाई गण्डकी प्रदेश सरकारले सेनेटरी प्याड खरिदका लागि ४० हजार रुपैयाँ वितरण गरेको छ । यही चैत १० गतेबाट सुरु हुने एसईई परीक्षालाई लक्षित गर्दै सो रकम वितरण गरिएको हो।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सेनेटरी प्याड खरिदका लागि ४० हजार नगद वापतको चेक रकम उपलब्ध गराएको हो । स्याङजामा आयोजित कार्यक्रम मार्फत परीक्षामा सहभागी छात्रालाई लक्षित गर्दै मन्त्रालयका बालअधिकार स्रोत व्यक्ति मिठु आचार्यले जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासलाई सो रकम वापतको चेक हन्तान्तरण गरेकी हुन् ।
जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेकी सुन्दासले परीक्षामा सहभागी महिनावारी भएका सबै छात्राले सेनेटरी प्याडको उपयोग गर्न पाउन् भन्दै सो चेक पुनः शिक्षा विकास तथा समन्वय इकाई प्रमुख घनश्याम पौडेललाई नै प्रदान गरिन् ।
कार्यक्रममा शिक्षा समन्वय इकाई प्रमुख घनश्याम पौडेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रका शर्मा, महिला विकास निरीक्षक शरद गुरुङ र मन्जु ढुंगाना लगायतले महिनावारीलाई अवसर मानेर सफासुग्घर बस्ने र सेनेटरी प्याडको प्रयोगपछिको व्यवस्थापनका बारेमा सबैलाई सचेत गराउनु पर्नेमा जोड दिए ।
गण्डकी प्रदेश अन्तरगतका मनाङ र मुस्ताङ जिल्ला बाहेक सबै जिल्लामा यस्ता कार्यक्रम संचालन गरिने भएको छ । मनाङ र मुस्ताङ जिल्लामा निकै कम छात्रा परीक्षामा सहभागी हुने भएको हुदा त्यहाँका विद्यालयले नै प्याडको व्यवस्था गरिदिने भएको छ।
यसवर्ष स्याङजाबाट ५ हजार ९ सय ३९ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । तीमध्ये ३ हजार २ सय ७ जना छात्रा छन् । जिल्लाभर ३३ वटा परीक्षाकेन्द्र निर्धारण गरिने भएको छ। छात्रा सहभागीमध्ये १५ प्रतिशत छात्रा महिनावारी हुने अनुमान गर्दै प्रदेश मन्त्रालयले सोही बमोजिमको रकम व्यवस्थापन गरेको स्रोत व्यक्ति आचार्यले जानकारी दिइन् ।