मानव र बाघबीचको द्वन्द चुलिँदै
गुलरिया : बाघ संरक्षणको काम प्रभावकारी भएपछि मानव र बाघबीच द्वन्द्व बढ्न थालेको छ। नेपालमा पाटेबाघको संख्या बृद्धिसँगै आहारा प्रजातीको कमी, वासस्थान विनास र अतिक्रमणलगायत प्रकृतिमाथी अत्याधिक मानवीय दोहनका कारण मानव र बाघविच द्वन्द चुलिएको हो।
पाटेबाघका प्रजाती संरक्षण गर्ने उद्देश्यले सन् २०१० को टाईगर समिटमा बनाइएको ग्लोबल टाइगर रिकभरी प्लानअनुसार सन् २०२२ सम्म विश्वमा बाघको संख्या ६ हजार पु¥याउने लक्ष्य राखिएको छ। यस अभियानमा नेपालको पनि सहमत छ।
जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिने बर्दियामा पुस र माघमा मात्र पाटेबाघ र मानवबीच थुप्रै द्वन्द भएपछि संरक्षण क्षेत्रमा चिन्ता बढ्न थालेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरिया कुवाभारमा पुस महिनामा वा ८ च ३९१८ नम्वरको पिकअप भ्यानले पुर्वपश्चिम राजमार्गमा पाटेबाघलाई ठक्कर दिँदा बाघ घाइते भयो। बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भने, ‘घाइते बाघलाई निकुञ्जमा ल्याई उपचारपछि सामान्य अवस्थामा ल्याएका छौं। साढे एक बर्षअघि सोही क्षेत्रमा बसको ठक्करबाट एउटा पाटेबाघ दुर्घटनामा परेर मरेको थियो।’
झाडीबाट चियाउँदै दुर्लभ पाटेबाघ।
बर्दियाको गेरुवा गाउँपालिका–४ स्थित खेतवारीमा जमीन मुनी मृत बाघ गाडीएको अवस्थामा भेटिएको थियो। अनुसन्धानमा बँदेललाई थापिएको विद्युतीय धरापमा परी बाघ मरेको पाइएको थियो। केही बर्षअघि राजापुर र कर्मलामा विद्युतिय धरापमा परि दुई वटा जंगली हात्ती समेत मरेका थिए। मानव र बन्यजन्तुबिचको द्वन्द न्युनीकरण गर्दै दीगो सह–अस्तित्व कायम गर्न सरकारले ठोस पहल गर्न नसकेको पीडितको गुनासो छ।
बढैयाताल गाउँपालिका–२ स्थित सितापुर निवासी ६५ बर्षिय चन्द्रबहादुर शाहीले गहुँ बारीमा लुकेको बाघको आक्रमणमा परी उपचारका क्रममा मृत्यु बरण गरे। तिन वटा डमरु सहित लुकेको बाघले मकै रोपी रहँदा शाहीलाई आक्रमण गरेहो स्थानिय वताउँछन्। सोही निवासी ३० बर्षिय अर्का घाईते विजय वुढाक्षेत्री उपचार पश्चात सामान्य अवस्थामा आए। भारतको कर्तनियाघाट वनविहारबाट बाघ गाउँघर तर्फ आएको अनुमान डिभिजन बन कार्यालय बर्दियाको छ।
दुई महिना भित्रका घटनाक्रमबाट पनि बाघ र मानव विच सहअस्तित्व कायम नभएको प्रष्ट देखिन्छ। मानविय अतिक्रमण र दोहनका कारण मानव र लोपोन्मुख बन्यजन्तु बाघ विच द्वन्द बढेको भण्डारीले प्रष्ट्याए। विश्वमा पाईने नौ प्रजातीका बाघहरु मध्ये बाली, जाभान र क्यास्पियन प्रजाती लोप भैसकेका छन्। हाल विश्वका १३ देशमा ६ प्रजातीका पाटेबाघ पाईन्छन्।
बाघ अनुगमनको पछिल्लो नतिजा अनुसार नेपालमा सन् २०१३ को तुलनामा ३७ वटा पाटेबाघ बढेका छन्। जसअनुसार चितवनमा घटेर ९३, बर्दियामा बृद्धिभै ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा गरी दुई सय ३५ वटा पाटेबाघ नेपालमा रहेको सरकारी तथ्यांक छ। बाघको संख्या बृद्धि हुँदैजाँदा मानव र यिनिहरु विच सहअस्तित्व कायम गर्न चुनौती थपिदै द्वन्दात्मक अवस्था बढेर गएको भण्डारीले बताए।