प्रशासन कार्यालयमै स्वास्थ्य सेवा
भैरहवा : रुपन्देहीको ओमसतियाँ गाउँपालिका-३ का सच्चाराम पालले जिल्ला प्रशासन कार्यालयबाटै प्राथमिक उपचार पाएका छन्। कार्यालयको सेवा लिन आएका उनको हातको औंलामा चोट लागेको थियो। प्रशासन कार्यालयमा शुक्रबारदेखि प्राथमिक उपचार सेवा सुरु भएपछि उनले प्राथमिक उपचार कार्यालयमै पाएका हुन्।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘प्रत्येक महिना नयाँ काम’ अभियानअन्तर्गत चैतबाट कार्यालय हाताभित्रै स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो। उक्त सेवा सञ्चालनका लागि भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सेसबाट चिकित्सक खटिएका छन्। परम्परागत ढर्राले काम गर्नुभन्दा पनि प्रत्येक महिना नयाँ काम गरी सेवाग्राहीलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ।
पुसबाट सुरु भएको अभियानअन्तर्गत सेवाग्राहीका लागि टेलिभिजन, इन्टरनेट, पुस्तकालय, स्तनपान कक्ष, प्रतीक्षालय, मोबाइल एप्स, कोठा नम्बर सहितको कार्यालयको नक्सा, डिजिटल नागरिक बडापत्रलगायत सेवा प्रदान गरिरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।
स्वास्थ्य सेवासँगै कार्यालय हाताबाटै हुलाक टिकट बिक्रीवितरण, तातोचिसो खानेपानीको व्यवस्था, राहदानीको सूचना लिन नोटिस बोर्ड, प्रशासन बुलेटिन र डिजिटिल टोकन प्रणालीमार्फत सेवा सुरुगरिएको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिइन्। कार्यालयमा भेटिएका सेवाग्राहीले लाइन बस्ने झन्झट, पट्यारलाग्दो पर्खाइलगायतबाट छुट्कारा पाएको बताएका छन्।