गर्भवतीलाई निगरानी गर्दै जनप्रतिनिधि
सुर्खेत : ‘नियमित गर्भ जाँच गराउनु भएको छ ? केही समस्या त देखिएको छैन’ मेयर उपेन्द्रबहादुर थापा नेतृत्वको जनप्रतिनिधि टोलीले सोध्यो, ‘डाक्टरसँग गर्भ जाँच गराउनु भएको छ ? आइरन चक्की नियमित खाइरहनु भएको छ की छैन ? ’
सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित बाबियाचौर निवासी आठ महिनाकी गर्भवती सरिता नामजाली सुरुमा त खुल्न सकिनन्। तर टोलीसँगै पुगेका वडाअध्यक्ष होमबहादुर रामजालीले आग्रह गरेपछि सरिताले भनिन्, ‘नियमित डाक्टरसँग गर्भ जाँच गराएकी छु। अहिले खासै समस्या छैन।’
सरिताको कुरा सुनेपछि जनप्रतिनिधि टोलीले उनकी सासु कौशीला नामजालीलाई बुहारीको ख्याल राख्न र पोषणयुक्त खाना खुवाउन सुझाव दियो। त्यतिमात्र होइन, सरिताको परिवारलाई लिखित प्रतिवद्धता गराएर जनप्रतिनिधि टोली त्यहाँबाट बिदा भयो।
गर्भवती अवस्थामा नियमित स्वास्थ्य परीक्षण र पोषणयुक्त खानामा ध्यान नदिएकै कारण महिलाको मृत्यु हुने र जन्मने बालबालिकामा कुपोषण देखिएपछि जनप्रतिनिधि गर्भवती महिलाको निगरानी र रेखदेखमा जुटेका हुन्। पञ्चपुरी नगरपालिकामा जनप्रतिनिधि गर्भवती महिला रहेको घरमै पुगेर निगरानी गर्न थालेका छन्। ‘गर्भावस्थामा महिलाको खानपान र स्याहारमा ध्यान दिन जरुरी छ। नियमित गर्भ जाँच नगराउँदा महिला जोखिममा पर्छन्’, मेयर उपेन्द्रबहादुर थापा भन्छन्, ‘आमा र बच्चाको ज्यान जोगाउने दायित्व हाम्रो पनि हो। त्यसैले हामीले घर घरमा पुगेर गर्भवतीको निगरानी गर्न थालेका हौं। स्थानीय सरकार आमा र बच्चाको स्वास्थ्यप्रति संवेदनशील छ।’
जनप्रतिनिधिसँगै स्थानीय स्वास्थ्यकर्मी, महिला स्ययंसेविका र आमा समूहका सदस्य पनि पुगेर गर्भवती महिलालाई आवश्यक स्वास्थ्य परामर्श दिने गर्छन्। गर्भवतीको घर थाहा पाउन र निगरानीमा सहज होस् भनेर गर्भवती महिला भएको घरमा हरियो झण्डा गाड्ने अभियान सुरु गरिएको छ। गाउँ र टोलमा हरियो झण्डा देख्ने वित्तिकै आफूहरू परामर्श र निगरानीका लागि पुग्ने गरेको पञ्चपरी नगरपालिका–५ का अध्यक्ष होमबहादुर रामजालीले बताए। उनले भने, ‘स्वस्थ बच्चा जन्मने वातावरणका लागि हामीले अभियान नै थालेका छौं। गर्भवती र सुत्केरी भएको घरमा हाम्रो विषेश निगरानी भइरहेको छ।’
आमा र बच्चाको ज्यान जोगाउन र बालबालिकालाई कुपोषणबाट जोगाउन स्थानीय तहले अभियान थालेको हो। अभियानअन्तर्गत गर्भवतीको घरमा हरियो झण्डा र खानपानको उपाय समेटिएका पोस्टर तथा ब्यानर टाँगिएका छन्। यस्तै भर्गवतीको नियमित स्वास्थ्य जाँच गराउने, अस्पतालमा नै सुत्केरी गराउने र सुत्केरीपछि पनि पोषणयुक्त खाना खुवाउने प्रतिवद्धता परिवारका सदस्यलाई गराउन थालिएको छ। यसले गर्भवती र सुत्केरी अवस्थामा आमा र बच्चाको स्याहारमा टेवा पुगेको महिला स्वास्थ्य स्वयंसेविका निर्मला सिंहले बताइन्।
जनप्रतिनिधि नै गर्भवती र सुत्केरीको ज्यान जोगाउने अभियानमा सक्रिय भएपछि आफूहरूलाई काम गर्न थप उत्प्रेरणा मिलेको उनको भनाइ छ। एक अध्ययनअनुसार कर्णालीमा ५५ प्रतिशत बालबालिका कुपोषणबाट पीडित छन्।