बिजुलीविहीन वडा
सिरहा : सिरहाको धनगढीमाई नगरपालिकाले स्मार्ट नगर बनाउने घोषणा गर्यो। सोही योजनाअनुसार ठाउँठाउँमा डिजिटल प्रविधि जडान गरियो। विकासको योजना प्रभावकारी रूपमा सञ्चालन गर्ने भनेर भौगोलिक नक्साकंनका लागि ‘ड्रोन क्यामेरा’ पनि उडाइयो। वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थामा डिजिटल हाजिरी गर्ने प्रविधि जडान गरियो। कार्यालयको गतिविधिमा निगरानी गर्न मेयरले कार्यालयमा जडान गरिएको सीसीटीभीको कनेक्सन आफ्नो मोबाइलसँग जोडे।
यही नगरको वाड १४ का बासिन्दाले आधारभूत सुविधा पनि पाउन सकेका छैनन्। बस्तीमा बिजुली नपुग्दा स्थानीयले अन्धकारमा रात बिताउनुपरेको छ। वडाका करिब ८ सय घरपरिवारका जनता सानो सोलारको टुकीको भरमा वर्षौंदेखि रात काटिरहेका छन्। बिजुली नहुँदा सञ्चार पहुँच छैन। विद्यार्थीलाई पठनपाठनमा समस्या छ। गाउँमा मिल चल्दैन। खानेपानी र सिँचाइमा कठिनाइ छ। ‘हाम्रो बिजुली बाल्ने सपना कहिले पूरा हुन्छ, थाहा छैन,’ अम्बासेका दिलकुमार मगरले भने, ‘बल्ल सात वर्षअगाडि बिजुलीका लागि केही ठाउँमा पोल गाड्यौं। बिजुलीको तार जोडिएको हेर्न पाइएन।’
स्थानीय बासिन्दाले नेतालाई पटकपटक बिजुली पु¥याइदिन अनुरोध गरेको पेजबहादुर ठकुरीले सुनाए। ‘चुनावका बेला नेताहरु भोट माग्न आउँछ, हामीले बिजुली बालिदिनुप¥यो भन्छौं। उनीहरु हुन्छ भनेर जान्छन्,’ उनले भने, ‘तर अहिलेसम्म बिजुली बालिदिने कोही नेता पाएनौं।’
स्थानीय बासिन्दाले पटकपटक ताकेता गरेपछि अहिले पोल र तार जडान भइरहेको विद्युतीकरण उपभोक्ता समितिका जनक परियारले बताए। उनका अनुसार कर्मचौरी र बिहीबारे स्कुलसम्म पोल गाडिएको छ। राईटोल, अमलीटार, कसाईटार, सानो कसाईटार टोलमा पोल पुग्न नसकेको उनले बताए।
स्थानीय निर्वाचनपछि नगरपालिकाले यो वडामा विद्युतीकरणका लागि पहिलो आर्थिक वर्षमै २० लाख रुपैयाँ बजेट छुट्याएको थियो। काठको पोल गाडिएको ठाउँमा फेरि सिमेन्टको पोल लगायो। पहिलो आर्थिक वर्षमा केही प्राविधिक कठिनाईका कारण काम गर्न नसकेको धनगढीमाई नगरपालिकाका प्रवक्ता प्रकाश योन्जन बताउँछन्। ‘चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट थपेका छौं,’ उनले भने।
लहान नगरपालिकाको वडा नम्बर १५ का बेतहा गाउँ र वडा नम्बर १६ का भसुवा, भमरे, टारे, आरिदमार, बर्दमार, मैनाटार र रुम्जाटार गाउँमा पनि बिजुली पुगेको छैन।