सीप सिक्दै कैदीबन्दी
बेंसीसहर : हिमाली जिल्ला मनाङको कारागारमा रहेका कैदीबन्दीको आयआर्जनका लागि हस्तकलाको सीपपमुलक तालिम सञ्चालन गरिएको छ। तालिम लिएपछि कारागारमा बस्दै आएका कैदीबन्दी सीप विकासतर्फ लाग्ने भएका छन्।
उनीहरु बाँस र निगालोबाट निर्माण गरिने सामाग्री बनाउन सिक्दैछन्।घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, चामे गाउँपालिका र कारागारको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो।
घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका प्रमुख प्रदिप न्यौपानेले कैदीबन्दीको सीप विकास गरी आयआर्जनतर्फ अघि बढाउन तालिम सञ्चालन गरिएको बताए। 'कारागारमा बसेका कैदीबन्दीको समय त्यसै खेर गइरहेको छ। यो समयमा उनीहरुलाई सीप दिन सक्यौं भने आम्दानी गर्छ सक्छन्। नराम्रा कुरा सोच्दैनन्। उनीहरुको आचरण सुधार हुँदै जान्छ', न्यौपानेले भने।
जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले हस्तकला तालिमले कैदीबन्दीलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताए । उनले भने, 'यहाँ धेरै होटल छन्। पर्यटक आउँछन्। उत्पादित सामाग्री पर्यटकलाई बेच्न सकिन्छ। कतिले होटलमा सजावटको रुपमा राख्छन्। यसबाट रकम आर्जन हुन्छ।'
प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले कैदीबन्दीले सीपमूलक तालिम लिएर आयआर्जनतर्फ लाग्नुपर्ने बताए।'फुर्सदको समयमा सीप सिक्नुपर्छ। हातमा सीप भयो भने कारागारभित्रै पैसा कमाउन सकिन्छ,' उनले भने, 'यसका लागि तालिम सञ्चालन भएको छ। तालिमबाट सिकेर व्यवहारमा उतार्न आवश्यक छ।'
मनाङ कारागारका जेलर शैलेन्द्रकुमार चौधरीका अनुसार ४५ दिने बासको हस्तकलासम्बन्धी तालिममा कैदीबन्दीले बाँसबाट मुढा, सजावटका सामान, र्याक निर्माण गर्न सिक्नेछन्। यस्तै निगालोबाट कुर्सी, टेबललगाय बनाउन सिक्नेछन्।
तालिममा १५ जना कैदीबन्दी सहभागी छन्। बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कैदीबन्दीले हस्तकलाका सामाग्री बनाउन सिक्दैछन्। यसबाट आयआर्जन र रोजगारको अवसर सिर्जना हुने जेलर चौधरीले बताए।