सीता अमेरिका उड्न लाग्दा जे देखियो

सीता अमेरिका उड्न लाग्दा जे देखियो

तस्बिर : सुनिता डंगोल  

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अब अमेरिकामा उपचार हुने भएको छ। प्रचण्ड पत्नी सीतालाई लिएर आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन्। सीताको अमेरिकाको ‘जोन्स हप्किन्स् अस्पताल’मा उपचार गराउने तयारीसहित दाहाल परिवार आइतबार अमेरिकातर्फ लागेको हो । 

पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्यका साथमा प्रचण्ड अमेरिका उडेका हुन्। दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्। 

छोरा प्रकाशको निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले उपचारका लागि सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा  सीतालाई तातोपानीमा नुहाउन पुर्याए। तर, उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन। सीता अहिले अरुको सहारामा मात्र हिड्न सक्छिन्। विमानस्थलमा गाडीबाट झरेपछि उनलाई बुहारी अर्थात् खानेपानीमन्त्री वीना मगर र उनका सहयोगीले डोहोर्याएका थिए। 

सीतामा वंशाणुगत पार्किन्सनका लक्षण देखिएको सिंगापुरका डाक्टरले बताएका थिए। मस्तिष्कमा रहेको नसासम्बन्धी समस्या नै पार्किन्सन भएको चिकित्सकको भनाइ छ। 

यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ। पार्किन्सन भएका बिरामीको गति सुस्त हुन्छ। हातखुट्टा काँप्छन्। हिँड्दाहिँड्दै लड्ने डर  हुने भएकाले धेरै ख्याल गर्नुपर्छ। वंशानुगत कारणले भएको पार्किन्सन निको नहुने चिकित्सको भनाइ छ। फिजियोथेरापी र औषधोपचार गरेर जीवनलाई कष्टमुक्त बनाउन सकिन्छ। 

सीताको उपचारसँगै भेटघाट

दाहालले अमेरिकामा उपचारको साइडलाइनमा केही राजनीतिक र उच्च अधिकारीसँग दुईपक्षीय औपचारिक/अनौपचारिक भेटघाट समेत गर्ने बताइएको छ । 

‘मूल उद्देश्य सीताको उपचार हो, तर पनि अमेरिकी सरकारका केही अधिकारीसँग औपचारिक/अनौपचारिक छलफल हुने सम्भावना पनि छ । के हुन्छ भन्ने कुरा त्यहीं गएपछि नै थाहा हुन्छ’, दाहालले भने । अमेरिकास्थित नेपाली दूतावासले सीताको उपचारका साथै अन्य राजनीतिक भेटघाटको पनि तयारी गरिरहेको जानकारी दिएको छ ।

दाहालले पत्नी सीताको रोगसम्बन्धी सबैभन्दा पछिल्लो अनुसन्धान अमेरिकामा भइरहेको र वासिङटनमा त्यससम्बन्धी रिसर्च सेन्टर र बाल्टिमोरमा अस्पतालसमेत रहेको जानकारी भएपछि उपचारका लागि त्यहीं जान लागेको प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा पत्रकारसँग बताए ।

सीताले अमेरिकामा उपचार गरे सन्चो हुन्छ कि भनेपछि मनोवैज्ञानिक रूपले पनि जानुपर्ने अवस्था आएको दाहालले जानकारी दिए । सीताको उपचार गराउन अमेरिकाका लागि नेपाली राजदूतले पनि सहजीकरण गरेको उनले बताए ।

‘प्रोग्रेसिभ सुपरक्लियर पाल्सी भनेको छिटो छिटो बिमार बढ्ने भन्ने अर्थ हुँदो रहेछ । त्यसको पछिल्लो अनुसन्धान अमेरिकामै भएकाले त्यता जाँदैछु । त्यहाँ उपचारका लागि नेपाली राजदूतले पनि भूमिका खेलिरहनु भएको छ’, दाहालले भने । 

पार्टी एकताका काम, अन्य राजनीतिक छलफल थाती राखेर त्यसतर्फ लागेका उनले आफूले प्रधानमन्त्री, सरकार र पार्टी नेताहरूसँग परामर्श गरेर साता १० दिनका लागि जान लागेको बताए ।

‘यो भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाको रोग होइन, त्यसकारण त्यहाँ विभिन्न परीक्षण गर्ने र डाक्टरको सजेसन जे हुन्छ –थेरापी या औषधि त्यही आधारमा उपचार गर्ने गरी जाँदैछु, म सकेसम्म छिटोमा ७ देखि १० दिनभित्र उपचार सकेर फर्कने सोचेको छु’, उनले भने, ‘अलिक बढी बस्नु पर्ने भयो भने म सँगै गंगा (छोरी) पनि जाँदै छिन् र त्यहाँ अरु साथीहरू पनि छन्, उहाँहरूलाई छाडेर साता १० दिनमा फर्कने सोचेको छु ।’

परराष्ट्र मन्त्रालयले सीताको उपचारका लागि अमेरिका जान लागेकोबारे अमेरिकी सरकारलाई औपचारिक पत्र पठाएर जानकारीसमेत गराएको छ । त्यसको जानकारी आफूलाई आइतबार नै परराष्ट्रले गराएको दाहालले विमानस्थलमा बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.