सरकारी विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ

सरकारी विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ

धुनीवेशी : सिकाइलाई प्रभावकारी बनाउन धादिङका केही विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु गरिएको छ। धादिङको धुनीबेसी नगरपालिका-४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई-पाठशाला) बाट शिक्षण गराउन सुरु गरिएको हो। सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिकाइ उपलब्धी दर बढाउन डिजिटल शिक्षण पद्धति सुरु गरिएको विद्यालयले जनाएको छ।

सरकारी विद्यालय प्रविधिमैत्री नबनेको र विद्यालयको शिक्षण सिकाइ प्रभावकारी नभएको गुनासो आइरहेका बेला कालिका आधारभूत विद्यालयमा भने सबै कक्षा कोठाको पढाइ डिजिटल प्रविधिबाटै सुरु गरिएको हो। 

विद्यालयका प्रधानाध्यापक शिवहरि रेग्मीले भने, ‘परम्परागत विधिको शिक्षण सिकाइको नतिजा खासै योग्य नभएका बेला प्रविधिमैत्री सिकाइ प्रयोग गर्ने अवसर मिलेको छ। कम्प्युटर कक्षासँगै डिजिटल प्रविधिसँग जोडिएको पठनपाठन थप प्रभावकारी हुने अपेक्षा छ।’

डिजिटल अध्यापनका लागि विद्यालयमा २५ वटा ल्यापटप जडान गरिएको छ। ल्यापटप तथा सफ्टवेरको प्रयोग गरी अध्यापन गर्दा विद्यार्थी शिक्षण सिकाइ क्रियाकलापमा उत्साहित भएको प्रधानाध्यपक रेग्मीले बताए।

४ कक्षासम्म पढाइ हुने विद्यालयमा ८५ जना बालबालिका अध्ययनरत छन्। कम्प्युटरमा कक्षा १ देखि कक्षा ४ सम्म अध्यापन गराइन्छ।

प्रविधिमा विभिन्न विषयका डिजिटल सिकाइ मोडल विकास गरिएको छ। कम्प्युटर शिक्षणका लागि ५ शिक्षकले डिजिटल लर्निङ तालिम लिएका छन्। विद्यालयमा डिजिटल शैक्षिक साम्रगीसहितको ल्यापटप, ई-पाठशाला प्रयोग गर्न उपयुक्त फर्निचर, सर्भर र राउटरसहित आवश्यक नेटवर्कका उपकरण जडान गरिएको छ।

साझा शिक्षा ईपाटी, इसीमोड र धादिङ ईंटा उद्योग व्यवसायी संघको संयुक्त पहलमा विद्यालयमा डिजिटल शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गरिएको हो। ‘समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्थामा रहेको सरकारी विद्यालयमा यो खाले प्रविधि एउटा अवसर पनि हो’, प्रधानाध्यापक रेग्मीले भने, ‘शिक्षक अनुपस्थित हुँदा पनि विद्यार्थीले आफैँले पढ्न र चलाउन सक्छन्।’

अडियो भिडियोसहितको शिक्षण सिकाइ प्रविधि स्थापना भएसँगै विद्यालयका विद्यार्थी र शिक्षक खुसी भएका छन्। कक्षा ४ मा पढ्ने विद्यार्थी विनोद विकले भने, ‘किताब भन्दा ल्यापटपमा पढ्न धेरै सजिलो र मजा पनि आउँदो रहेछ।’

धादिङको धुनीवेशी नगरपालिका क्षेत्रमा धेरै संख्यामा ईंटा उद्योग खुलेका छन्। ईंट्टा उद्योगमा काम गर्ने मजदुरका छोराछोरीको पढाइलाई केन्द्रित गर्दै डिजिटल पढाइ सुरु गरिएको ईसिमोडका मिडिया अफिसर म्याक्सिम श्रेष्ठले बताए। उनले भने, ‘शिक्षक र विद्यार्थीलाई डिजिटल पढाइ र इन्टरनेटसँग जोडेर छिटो छरितो सूचना सन्देश र ज्ञान प्राप्त गर्ने अपेक्षा छ।’

कालिका विद्यालयमा ३० भन्दा बढी ईंट्टाभट्टमा काम गर्ने मदजुरका बालबालिका अध्ययन गर्छन्। मजदुरका बालबालिकालाई विद्यालयसम्म तान्नको लागि स्थानीय तहले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेका छन्। गत वर्ष धुनीवेशी नगरपालिकाले इट्टाभट्टामै पुगेर विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरेको थियो। धुनीवेशी नगरपालिकामा ३६ वटा विद्यालयबाट पठनपाठन हुँदै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.