७० सालमा बनाइसक्ने सम्झौता, भर्खर आधा काम

७० सालमा बनाइसक्ने सम्झौता, भर्खर आधा काम

अछाम : अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीमा बन्न लागेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र परेको छ। सुविधान सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्रको भवन ०६८ साल माघमा सम्झौता भई ०७० साल माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। डाँफे÷तुल्सी÷दुर्गा जागृति जेभीले २ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरेको सहरी तथा भवन डिभिजन कार्यालय दिपायलले जनाएको छ।

दुई करोड ९० लाखमा ठेक्का सम्झौता भएको भवनको ६० प्रतिशत मात्रै काम भएको छ। डाँफे कन्स्ट्रक्सनका ज्ञानेश्वर अधिकारीले भवन निर्माण ६० प्रतिशत सकिएको जानकारी दिए। उनले भने, ‘अर्को निर्माण कम्पनीले छाडेको काम हामी गर्दै छौं’, अधिकारीले भने, ‘हामीले काम सुरु गरेपछि ६० प्रतिशत काम भएको हो।’

तर, अहिले निर्माण बन्द छ। पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माण अधुरै रहेको हो। भवनको काम सुरु हुँदै रोकिँदै गरेको छ। दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पेनाल्टीसहित पटक–पटक स्वास्थ्य केन्द्रको म्याद थपिँदै आएको छ। म्याद थप्दा पनि काम सम्पन्न नगरेकाले ठेकेदार कम्पनीलाई कालोसूची राख्ने तयारी भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय दिपायलका इन्जिनियर मोहन विकले बताए।

‘ठेक्का तोड्ने तयारीमा छौं, ठेकेदारले व्यापक लापरवाही गरेकाले एक करोड बराबर दैनिक ५ हजारका दरले हर्जाना तिर्ने गरी भवन निर्माणको म्याद थप्दै गयौं तर अझै काम सकिएन,’ उनले भने, ठेक्का लिने एउटा र काम गर्ने अर्कै ठेकेदार हुँदा समस्या हुने गरेको छ।’

गाउँपालिकामा १५ शड्ढयाको प्राथमिक स्वास्थ केन्द्रको भवन निर्माण सुरु हुने भनेर स्थानीय निकै खुसी भएका थिए। छिटो भवन बनेर सेवा सुचारु भए यहाँका स्थानीय बासिन्दालाई ठूलो राहत मिल्ने स्थानीय भजन साउदले बताए। ‘सहज र सुलभ तरिकाले गाउँमै स्वास्थ सेवा पाउने आस गरेका थियौं, आठ वर्षसम्म निर्माण अलपत्र छ’, साउदले भने।

चौरपाटी गाउँपालिकाका जनप्रतिनिधिले पटक–पटक भवन डिभिजन कार्यालयमा गएर भवन निर्माण छिटो गर्न भनेका छन्। उनीहरूले निर्माण व्यवसायीलाई कारबाही माग गरे पनि भवन डिभिजनले भने कारबाही प्रक्रिया भइरहेको मात्र बताउँदै आएको छ। ‘पटक–पटक डेलिगेसन जाँदा पनि कुनै सुनुवाइ भएको छैन’, चौरपाटी गाउँपालिका– १ का वडाध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष शालीभान साउदले भने।

उनले समयमा १५ शड्ढयाको भवन निर्माण हुन नसक्दा स्थानीयले बयलपाटा अस्पताल र साँफेबगरका निजी मेडिकलमा उपचार गराउनुपर्ने बाध्यता रहेको बताए।

प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा भइरहेको लापरवाहीबारे चौरपाटी गाउँपालिकालाई पनि थाहा छ। ‘बयलपाटा अस्पतालले शाखा खोलेर गाउँपालिकाबाट सेवा दिने तयारी गरेको छ तर विडम्बना ८ वर्षदेखि स्वास्थ्यको भनव अलपत्र छ, हामी यसमा गम्भीर छौं’, गाउँपालिकाका अध्यक्ष हर्क साउदले भने। उनले निर्माण व्यवसायीलाई कारबाहीका लागि गाउँपालिकाले माग गरेको बताए।

आठ वर्षदेखि भवन नबन्दा एक्सरेलगायत सबै सेवा प्रभावित भएका छन्। कोठा नभएर एक्सरे मेसिन थन्किएको छ। अस्पतालमा दुई जना डाक्टरको दरबन्दी रहे पनि भवन अभावमा सेवा प्रभावकारी हुन सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.