सावधान ! होलीमा लोला हाने पक्राउ परिएला
धनगढी: यस वर्षको होली यहि चैत ६ र ७ गते परेको छ। होलीलाई व्यवस्थित गर्न कैलाली प्रहरीले विशेष निगरानी राख्ने जनाएको छ। सोमबार सरोकार निकायसँग छलफल गरी होलीमा जबरजस्ती लोला, हिलो छ्याप्ने क्रियाकलपा गरेको पाएमा प्रहरीले नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
होलीलाई व्यवस्थित गर्न प्रहरीले विभिन्न ठाउँमा माइकिङ सुरु गरेको छ। विशेष गरी महिलालाई लक्षित गरी जर्बजस्ती रंग लगाइ दिने तथा लोला हानेको भेटिएमा नियन्त्रण गर्न सम्पूर्ण प्रहरीका निकायलाई निर्देशन दिएको उनले बताए।
'होली पर्वलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सबै निकायहको सहकार्य आवश्यक छ, बस्नेतले भने, 'होली पर्वमा थप प्रहरी व्यवस्थापन गरी जिल्लामा मुख्य कारण भनेको दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति कम गर्नु, सडकलाई सुरक्षित बनाउन तथा सवारी साधन प्रयोग गरी रंग र लोला हान्ने प्रवृत्ति तथा अनैतिक हर्कतलाई निरुत्साहित गर्नका लागि हो।'
होलीका दिन रक्सीले मातेर गाडी चलाउने तथा हेल्मेटको प्रयोग नगर्नेलाई पनि कारवाही हुनेछ।'पर्वका दिन यसरी गाडी चलाउनेलाई छुट्टै कारवाही प्रक्रिया नभए पनि ट्रफिक नियम अनुसार कारवाही हुन्छ, उनले भने, 'यस्ता गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने छौं।'
होलीको दिन विभिन्न ठाउँमा कन्र्सट गर्दा पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने प्रहरीले जानकारी दिएको छ। चाडपर्व बनाउने अधिकार सबैलाई भएपनि व्यवस्थित हुनुपर्ने जिल्ला प्रहरी कार्यालय कैलालीमा भएको छलफलका सहभागीको जोड थियो।
पछिल्लो समयमा होलीमा विकृति फैलिँदै गएकाले यसलाई रोक्न सबै निकायको भूमिका उत्तिकै रहेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। होलीमा शरीरलाई हानी पुग्ने गरी विभिन्न कलर प्रयोग गरेको पाएमा पनि त्यस्ता व्यक्तिलाई पनि कार्यवाही गर्नुपर्ने धनगढी उपमहानगरपालिका-४ का वडा सदस्य माया भण्डारीले सुझाव दिइन्। होली सद्भावको पर्व भए पनि यसलाई विकृति तिर लिएको उनको गुनासो छ।