'बालबालिकालाई टीभीमा स्वतन्त्र छोड्नु घातक'
काठमाडौं : पक्कै पनि तपाईहरुका नानीबाबुहरु नियमित टीभी हेर्ने गर्छन् ।आफ्नो कोठामा एक्लै बसेर मन परेको च्यानल हेर्न पाउँदा उनीहरु निकै खुसी हुन्छन्। त्यसैले टीभी हेर्नु हर बालबालिकाको दैनिकी जस्तै भएको छ।
टीभी नहेर्नू भन्दा उनीहरु उल्टै झर्किने,ठुस्किने गर्छन्।कतिपय नानीबाबुहरु त टीभी हेर्न नदिएको भन्दै स्कुल जान समेत मान्दैनन्।
सावधान! नानीबाबुहरुलाई कोठामा बसेर एक्लै टीभी हेर्न नदिनुहोस्।लामो समयसम्म एकोहोरिएर टीभी हेर्ने बालबालिकाको शारीरिक तथा मानसिक विकासमा असर पुर्याउने गरेको एक अध्ययनले देखाएको छ।लामो समय टीभी हेर्ने बालबालिकाको आनीबानीमा पनि नराम्रो तरिकाले असर गर्ने उक्त अध्ययनमा जनाइएको छ।
पेडियाट्रिक रिसर्च जर्नलमा प्रकाशित अध्ययनअनुसार सानो उमेरदेखि टोभी हेर्ने बालबालिकाको शारीरिक तथा मानसिक विकासमा असर पर्ने गरेको र उनीहरु जंक फुडप्रति बढी प्रभावित हुने गरेको पाइएको हो।
अध्ययननका अनुसार सानो उमेरको बालकलाई टीभी हेर्न दिइयो भने उसको शारीरिक,मानसिक तथा सामाजिक विकासमा असर पर्ने गर्छ। अध्ययनको सोधकर्ताले १९९७देखि १९९८ सम्म जन्मिएका लगभग १८५९ बच्चाबारे अध्ययन गरेको थियो।यसका साथै अध्ययनकर्ताले लामो समयसम्म टीभी हेर्ने १३ वर्ष उमेर समूहका बालबालिकासम्बन्धी पनि अध्ययन गरेको थियो।
उनीहरुको दैनिकी नियमितरुपमा चेकजाँच गरिएको थियो।उनीहरुको दैनिक क्रियाकलाप, उनीहरुले स्कुलमा गर्ने व्यवहारलगायत विभिन्न विषयमा अध्ययन गरिएको थियो। अध्ययनका अनुसार जुन घरमा सानो उमेरका नानीबाबुहरुको कोठामै टीभी राखिएको थियो उनीहरुको शारीरिक तथा मानसिक विकासमा नराम्रो असर पुगेको पाइयो।यस्ता नानीबाबुहरु ठूलो हुँदै गएपछि उनीहरुमा उच्च बीएमआई,जंक फुडतिर बढी आकर्षित र डिप्रेसनको समस्या देखिएको थियो।
अध्ययनका सोधकर्ता लिन्डा पगानीका अनुसार घरमा टीभी कहाँ राख्ने भन्ने विषयले बालबालिकाको स्वास्थ्यमा असर पुर्याउने भएकाले यो विषयमा सबै अभिभावकले सोच्नुपर्ने हुन्छ।उनले यो विषयमा जोड दिँदै भनेका छन् बालबालिकाको कोठामै टीभी राखिदिनु हुँदैन।बरु उनीहरुलाई आफूसँगै राखेर केही समय टीभी हेर्न लगाउनुपर्छ।