आयातित बीउका भरमा पुष्पखेती

आयातित बीउका भरमा पुष्पखेती

काठमाडौं : नेपालमा आयातित बीउका भरमा पुष्पखेती हुने गरेको छ। सरकारले बीउ उत्पादनमा चासो नदिँदा भारत र तेस्रो मुलुकबाट पुष्पको बीउ आयात गर्नुपर्ने बाध्यता छ। नेपालमा भारत, नेदरल्यान्ड, बेलायत, अमेरिका, केन्या, चीन, स्पेन, थाइल्यान्ड, इजरायल, फिनल्यान्ड, इटली, कोलम्बिया, टर्कीलगायत मुलुकबाट पुष्पको बीउ आयात हुन्छ। मखमली जातको मौलिक बीउमा मात्रै नेपाल आत्मनिर्भर छ।

‘बाँकी सबै पुष्पको बीउमा हामी परनिर्भर छौं’, फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमारकसजु श्रेष्ठले भने, ‘सरकारले हाइब्रिड(बर्णशंकर) जातको बीउ विकास र उत्पादनमा चासो नदेखाउँदा आयातमा निर्भर रहनुपरेको हो।’

नेपालमा वार्षिक १० देखि १२ करोड रुपैयाँको पुष्पको बीउ आयात हुन्छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्ष ११ करोडको बीउ, बेर्ना, माउ बोट र पुष्प आयात भएको थियो। मालाका लागि उत्पादन हुने सयपत्रीको बीउ सीमित परिमाणमा नेपालमा उत्पादन भए पनि गार्डेन जातको सयपत्रीको बीउ आयात हुन्छ।

फ्यानका अनुसार नेपालमा मौसमी फूल (सयपत्री, डालिमा, साल्विया, सेल्सिया, पोख्कम, पोर्चुलका, भिम्का), बर्र्खेबाली (जेरिनियम, क्युसिया र इन्फेसनलगायत), जाडोयाममा हुने (सेन्जी, टेटोनिया, क्यालिन्डुला, एन्टीएनम, गान्थस, फ्ल्क, रेनामेकल्क, प्राइमुला, स्टकलगायत) पुष्पको बीउ आयात हुन्छ। यसैगरी अर्नामेन्टल प्लान्ट (फूल फुल्ने र नफूल्ने) सहित अर्किड, ग्लाडुअस, कट फ्लावर, पाम, जर्वेरा, जिनिया जहारा, गुलाव, बल्व, कार्नेसन, लिली, गोदाबरीलगायत पुष्पको बीउ र बेर्ना आयात हुन्छ। अर्नामेन्टल प्लान्ट र पाम करिब ८० प्रतिशत भारतको कोलकात्ताबाट आयात हुन्छ।

पुष्पको जात हेरी बीउको मूल्य फरक–फरक छ। एक हजार गोटा बीउ भएको एक प्याकेटलाई ४० हजारसम्म पर्छ। सोही बीउको प्रयोग गरी नेपालको ४३ जिल्लाको एक सय ४१ हेक्टरमा पुष्पको व्यासायिक खेती हुँदै आएको छ। पुष्पखेतीमा ६ सय ९७ जना व्यवसायी आवद्ध छन्। यो व्यवसायले प्रत्यक्षरूपमा ४३ हजार पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ।

राष्ट्रिय तथ्यांक विभागले नेपालमा सबै प्रकारका पुष्प र बीउ गरी वार्षिक ६७ अर्बको कारोबार हुने जानकारी दिएको छ। फ्यानले भने वार्षिक दुई अर्ब २५ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै कारोबार हुने गरेको जनाएको छ। पुष्प क्षेत्रमा आत्मनिर्भर हुन नेपाल कृषि अनुसन्धान परिषद् , वनस्पति विभाग, पुष्प विकास केन्द्रलगायत निकायले हाइब्रिड बीउ उत्पादनमा चासो नदेखाएको फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए।

तथ्यांक विभागका अनुसार ०६० देखि ०७० को अवधिमा सबैभन्दा बढी पुष्पखेतीको विकास भएको छ। यो अवधिमा दुई सय ९९ वटा फार्म स्थापना भएर व्यावसायिक रूपमा उत्पादन गर्दै आएका छन्।

‘हावापानी र भूगोल मिलेका कारण हाम्रो मुलुकमा डेढ दर्जन मुलुकमा फुल्ने फूल उत्पादन हुँदै आएको छ। त्यस्ता पुष्पको बीउ आयात गरेर पनि निजी क्षेत्रसहित राज्यसम्मको शुभ काम, विवाह, व्रतबन्ध, कार्यक्रमको शोभा बढाउन हामी सफल भएका छौं’, फ्यानका महासचिव पोखरेलले भने, ‘राज्यले हाइब्रीड बीउ उत्पादन गरिदिए आन्तरिक माग पूरा गरी हामी ठूलो परिमाणमा निर्यात गर्न सक्षम हुन सक्छौं। राज्यले प्रयास गर्न सक्यो भने अर्नामेन्टल प्लान्टको हाइब्रीड बिउ नेपालमै उत्पादन गर्न सकिन्छ।’

बाँसघारीस्थित स्टान्डर्ड नर्सरीका सञ्चालक राजेशभक्त श्रेष्ठका अनुसार पछिल्लो १० वर्षयता नेपालका बासिन्दामा पुष्पप्रति आर्कषण बढ्दै गएको छ। एउटै आयातकर्ताले वार्षिक डेढ करोड मूल्यबराबरको बीउ र बेर्ना आयात गर्न थालेका छन्।’ उपत्यकामा कर्मा एन्ड शन्य सिड कम्पनी, क्रप प्रोटेक नेपाल, कुमारी फ्लोरा, अन्नपूर्ण सिड भण्डार र स्टान्डर्ड नर्सरीले भारतसहित तेस्रो मुलुकबाट बीउ आयात गर्दै आएको छ।

नेपालमा पुष्पको इतिहास करिब ६२ वर्ष पुरानो छ। २०११ सालतिर नेपालमा पहिलोपटक नेपाल प्राइभेट नर्सरीको स्थापना भएको थियो। लाजिम्पाटमा तरीभाई महर्जनले सुरु गरेको उक्त नर्सरीबाट नेपालमा पुष्पको खेती र व्यापार सुरु भएको मानिन्छ।

००००

पुष्पको उर्वर क्षेत्र

फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार काठमाडौं, ललितपुर, भक्तपुरसहित कास्की, चितवन, रुपन्देही, काभ्रे, धादिङ, पोखरा, नारायणघाट, हेटौंडा, विराटनगर, धरान, धनगढीलगायत जिल्लामा पुष्पको व्यावसायिक खेती हुन्छ।

राष्ट्रिय तथ्यांक विभागले आव ०७२÷७३ मा गरेको पुष्प खेतीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार नेपालको पाँच जिल्ला काठमाडौं, ललितपुर, मोरङ, कास्की र भक्तपुरमा सबैभन्दा बढी पुष्पखेती हुन्छ। विभागको कृषि तथा पशुपंक्षी गणना तथा सर्वेक्षण शाखाका अनुसार काठमाडौंमा दुई सय ८३, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा व्यावासायिक फार्मबाट पुष्प उत्पादन हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.