झाँक्रेपानीमा पर्यटकीय पूर्वाधार तयार पारिँदै
म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका–३ मा अवस्थित झाँक्रेपानीको पर्यटन विकासका लागि पूर्वाधार तयार पार्न थालिएको छ। समुदाय र स्थानीय तहको सहकार्यमा भ्यू टावर, पदमार्ग र एकीकृत सामुदायिक भवन निर्माण सुरु र होमस्टे सञ्चालनको तयारी भएको हो।
बरंजा गाउँको शिरमा रहेको झाँक्रेपानीमा कच्ची सडक पुर्याइएको छ। ओझेलमा परेको झाँक्रेपानीमा पर्यटक भित्र्याउन पूर्वाधार निर्माण सुरु गरिएको स्थानीय कोमल थापाले बताए। गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको भ्यू टावर निर्माण योजनालाई निरन्तरता दिन यस वर्ष थप १७ लाख रुपैयाँ विनियोजन गरेको छ। ‘गत वर्ष विनियोजन भएको ४ लाख रुपैयाँबाट भ्यू टावरको जग खनेर पिल्लर ठड्याएका थियौँ’, निर्माण समितिका अध्यक्ष समेत रहेका थापाले भने, ‘यस वर्ष तीन तले भ्यू टावरलाई पूर्णता दिने लक्ष्यसहित काम सुरु भएको छ।’ दुई तले तीन कोठे एकीकृत सामुदायिक भवन निर्माण निर्माण सुरु भएको हो। गत वर्ष पाँच लाख विनियोजन भएको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा १३ लाख छुट्टिएको उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर छन्त्यालले बताए।
वनभोज स्थल बनाउन पाखोलाई सम्याएर खेलमैदान बनाइएको छ। झाँक्रेपानी गाउँ र सामुदायिक भवन निर्माण स्थलदेखि भ्यू टावर पुग्ने दुई सय मिटर ढुंगे सिढी सहितको पदमार्ग बनाइएको छ। २०६८ मा निर्माण भएको बरंजा–झाँक्रेपानी सडक यसपाली बिस्तार गरेर ६ मिटर फराकिलो बनाइएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले बताइन्। सो सडकलाई गाउँपालिका–५ मा पर्ने किमचौरसँग पनि जोडिएको छ। गाउँमा भित्रने पाहुनाका लागि २३ घरमा होमस्टे सञ्चालन गर्न लागिएको स्थानीय युवा दर्पण रोकाले बताए। ‘तालिम र आवश्यक सामग्री उपलब्ध भएपछि यसै वर्षदेखि होमस्टे सञ्चालन गर्ने तयारी छ’, रोकाले भने, ‘गाउँपालिकाको केन्द्र बाबिया चौरदेखि पोक हँुदै झाँक्रेपानी जोड्ने पदमार्ग पनि निर्माण सुरु भएको छ।’
समुद्र सतहदेखि दुई हजार पाँच सय ७० मिटर उचाइमा अवस्थित झाँक्रेपानी सदरमुकाम बेनीदेखि गाडीमा दुई घण्टा र एक दिन पैदल हिँडेर मात्र पुग्न सकिन्छ। यहाँबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका १६ वटाभन्दा बढी हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। वरपरका गुराँसको जंगल र त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्तीको दृष्य अर्को आकर्षण हो। मगर र छन्त्याल समुदायको बसोबास रहेको झाँक्रेपानी गाउँ सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ। झाँक्रेपानीको प्रचारप्रसारका लागि ७ वर्षअघि महोत्सव आयोजना गरेका स्थानीयबासीले गाउँ चिनाउने गीतसमेत तयार पारेका छन्।