हतियार नबुझाए कारबाही
भैरहवा : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै रुपन्देही जिल्ला प्रशासनले हतियार बुझाउन सबैलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना सार्वजनिक गर्दै कानुन बमोजिम लिनुपर्ने इजाजत, नविकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको भए पनि हतियार बुझाउन आग्रह गरेको हो।
प्रशासनले हातहतियार बुझाउनका लागि अगामी वैशाख ५ गतेसम्म समय दिएको छ।
नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेना ब्यारेकमा त्यस्ता हातहतियार बुझाउन सकिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
कसैले समयमै हतियार नबुझाएको पाइए कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए। आफैं हतियार बुझाए कानुनी कारबाही नहुनेसमेत जिल्ला प्रशासनले प्रष्ट पारेको छ।